काठमाडौँ- २०२६ पुरुष टी-२० विश्वकपका लागि नेपाल समूह ‘सी’ मा परेकाे छ। सो समूहमा इंग्ल्यान्ड, वेष्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्।
भारत र श्रीलंकाको सह-आयोजनामा हुने विश्वकपको तालिका मंगलबार साँझ मुम्बईमा सार्वजनिक गरिएको हो। २०२६ को संस्करण नेपालका लागि तेस्राे विश्वकप सहभागिता हो। यसअघि नेपाल २०१४ र २०२४ मा टी-२० विश्वकप खेलेको थियो।
आयोजक भारत समूह ‘ए’ मा पाकिस्तान, संयुक्त राज्य अमेरिका (यूएसए), नेदरल्याण्ड्स र नामिबियासँग छ। समूह ‘बी’ मा अष्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड, जिम्बाबे र ओमान छन्। त्यस्तै समूह ‘डी’ मा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र यूएई परेका छन्।
नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध मुम्बईमा खेल्नेछ। त्यसपछि नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेष्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।


