काठमाडौँ– साहित्यकार भुवनहरि सिग्देलको उपन्यास ‘मनस्विनी’ लोकार्पण गरिएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा कार्यक्रम गर्दै उपन्यासको लोकार्पण गरिएको हो।
कार्यक्रममा वक्ताका रूपमा डा. अर्चना थापा र समीक्षक महेश पौडेल उपस्थित थिए।
कार्यक्रममा डा. थापा, समीक्षक पौडेल र उपन्यासका लेखक सिग्देलबीच प्रश्नोत्तर शैलीमा कृतिबारे विमर्श गरिएको थियो।
कवि, आख्यानकार, महाकविका रूपमा परिचित साहित्यकार सिग्देलको उपन्यासमा पनि सशक्त हस्तक्षेपकारी रहेको पौडेलले बताए।
उपन्यासमा यौनका कुरा समेटेर साहित्यकार सिग्देलले समाजको गम्भीर विषय उठाएको उनले उल्लेख गरे।
उमेरअनुसार नै होला लेखक सिग्देललाई ‘बा’ सम्बोधन गर्दै उनले भने, ‘गैर आख्यान र आख्यानमा निखारिएका हाम्रा ‘बा’ ले उपन्यास लेखनमा प्राकृतिक, आडविक, तथा जैविकका सत्यका कुरा लेख्ने जोखिम लिनुभएको छ। उहाँले आफू पुरूष भएर एक महिलाको कथा र यौनका विषयलाई गम्भीर ढंगले उठाउनु भएको छ।’
कथाको पोय खोतल्दै समीक्षक पौडेलले कथामा अक्कडप्रसाद अधिकारीको छोरी मनिस्विनीको बाल्यकालको प्रेम र विवाहपछिको जीवनमा आउने उतारचढावलाई बहस योग्य तरिकाले प्रस्तुत गरेको धारणा राखे।
उनका अनुसार मनस्विनीको ‘क्लिब’ र ‘अटिस्टिक’ पुरूषसँग विवाह गराइन्छ। त्यही कारण नारीको जीवनमा के कस्ता घटनाहरू हुन्छन्? समाजको लान्छना र त्यसपछिको उनको प्रतिकारको कथा समेटिएको छ।
साहित्यकार तथा समालोचक डा.अर्चनाले उपन्यासमा यौनका कुरामा मुख खोल्न हुन्न भन्ने लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको मनोविज्ञानलाई फरक किसिमले उठाएको बताइन्।
‘हाम्रो समाजले बोल्न हुँदैन है भन्ने विषय उठाउनुभएको छ। क्लिब पात्रसँग एक नारी नारीको करूणा, दुःखको कुरा समेटिएको छ। समाजको यथार्थ पाटोलाई केलाउनु भएको छ,’ उपन्यासबारे व्याख्या गर्दै उनले भनिन्।
रहस्यमय शैलीबाट कथा सुरू भएको र वर्तमानमा टुङ्याइएको भन्दै उनले उपन्यासको विषयवस्तुमाथि वृहत विमर्श हुनुपर्ने धारणा राखिन्।
उपन्यासको संवादमा लेखकले डायरी शैली ल्याउन सकेको भए अझ राम्रो हुने उनको सुझाव थियो।
उपन्यासका लेखक तथा साहित्यकार सिग्देलले समाजमा उपन्यासको पात्र अक्क्डप्रसाद्जस्ता थुप्रै मानिस समाजमा देखेपछि आफूले कथा लेख्ने हिम्मत गरेको उल्लेख गरे।
‘एउटा बुबा अर्थात हामी नै छोरीले विवाह अघि नै गर्भ बोकेर घर आएको देख्न चाहादैनौँ। त्यो पचाउन सक्दैनौँ। त्यो छोरीको अन्तै घरमा बच्चा जन्मिन्छ। र, फेरि उसको प्रेमिकाको अकस्मात मृत्यु। र, परिवारबाट अर्को विवाह। यो कथा प्राचीन कालदेखि नै समाजमा छ र त्यो किन नलेख्ने भन्ने हेतुले लेखेको हुँ,’ उनले भने, ‘समाजमा अझै पनि नारीलाई मान्छे नभनेर छोरीको जात भन्ने प्रचलन छ। उपन्यासमा त्यही नारीले विवाहपछी पुरूषले भन्न नसकेको उसको पहिचानलाई खुलाएर आफू नारीबाट नै मुक्त हुन खोजेकी छ भन्ने तथ्य पनि खुलाएको छु।’
साहित्यकार सिग्देलको पुस्तक पेज टर्नरले प्रकाशन गरेको हो। पुस्तकको मूल्य ४ सय ९० तोकिएको छ।
साहित्यकार सिग्देलले उपन्यासमा मात्र नभएर कविता, महाकाव्य, नियात्रा, खण्डकाव्य, कथा विधामा पनि कलम चलाएका छन्।
खण्डकाव्यमा आर्तनाद (२०५४), खाते (२०५५), कुलबहादुर (वि.सं.२०५८), डल्ले (२०५९)
महाकाव्यमा धरणीधर (२०५५), मेनुका (२०५६), विभुधारा (२०६१)
उपन्यासमा ‘लालस’, ‘सुरासुन्दरी’, ‘आमोई’, ‘राम दाइ’, ‘सारङ्गी’, ‘धनन्जय’ लगायत थुप्रै कृति प्रकाशित छन्।



