सिंगापुरको चाइनाटाउनस्थित चिनियाँ ढाँचाको भवन, सिंगापुरको धोबीघाट मेट्रो स्टेसन र मरिअम्मन मन्दिरको गर्भगृह।
सिंगापुरमा ‘धोबीघाट’ लेखिएको साइनबोर्डमा दृष्टि परेपछि हामी अचम्भित भयौँ। यहाँ धोबीघाट मेट्रो स्टेसनको नाम रहेछ। हामीलाई यो/यस्तो नाम हाम्रो काठमाडाँैमा मात्रै सुहाउँछ जस्तो लाग्दो रहेछ। काठमाडौँमा धोबीघाट त छ नै; धोबीधारा र धोबीचौर पनि छन्। काठमाडाँै मात्र होइन, भारतीय उपमहाद्वीपको कुनै पनि क्षेत्रमा यो नामसँग साक्षात्कार भएको भए हामीलाई स्वाभाविक हुने थियो होला। तर हामी थियौँ पूर्वी एसियाको सिंगापुरमा। परिवारका सदस्यबाहेक नेपाली त के हिन्दी बोलेको ध्वनिसमेत कानमा नपरेर नियास्रो मानेको अवस्था।
धोबीघाट लेखिएको यो साइनबोर्डले एउटा काम भने गर्यो; हामीलाई हाम्रो देश समुदायबाट धेरै टाढा पुगेका छैनौँ; त्यसकै वरिपरि छौँ भन्ने भान पारिदियो। कतिपय अवस्थामा त भ्रमको पनि स्वाद हुने। भ्रम पनि स्वादिलो लाग्ने। घुमघाम उसै पनि रमाइलो! घरव्यवहार एकातिर राखेर फुक्काफाल भएर हिँड्नुको मज्जाको स्तर नै बेग्लै! अझ यो घुमघाममा हामी परिवारका चारैजना घुमक्कड भएका छौँ; के चाहियोस्!! त्यसमाथि सिंगापुर घुमन्तेहरूका लागि विश्वमै कहलिएको देश!!!
सिंगापुर आइपुगेपछि हाम्रो थकाइ हरायो। सिंगापुरको टुरिस्ट पास लिएपछि मेट्रो र सार्वजनिक बसमा आवागमनमा हामीलाई अतिरिक्त खर्च लाग्ने कुरै भएन। यो सुन्दर, सफा र व्यवस्थित सिंगापुरमा हाम्रो पाइलापाइलामा बेग्लै जोस छ; अनौठो फुर्ती छ- उमेरको सुई उल्टो हिँड्न पो थाल्यो झैँ लाग्ने! हामी त सिंगापुरमा हिँडेर पनि नथाक्ने पो भएछौँ ए!!
म आफू हिँड्न रुचाउने नै मान्छे हुँ। काठमाडौँमै पनि रुट र लहडको तालमेल नमिल्दा कयौँपटक महाराजगन्ज/बालुवाटार र भक्तपुरबाट हिँड्दै घर (बोझेपोखरी, ललितपुर) फर्केको छु। यस अतिरिक्त अवस्था भए। नियमित हिँडाइमा पनि मेरो राम्रै रुचि छ। मर्निङवाकमा कहलिएको ग्रुप छ- हाम्रो। यो ग्रुप हरेक बिहान प्रतिघन्टा लगभग सात किलोमिटरका दरमा हिँड्छ; नरोकिईकन हिँड्छ। प्रशंसकहरू यस ग्रुपको हिँडाइ हेर्दा एक समय डाँक बोक्ने बस ‘डाँक-बस’लाई सम्झिन्छन् र ग्रुपको नामकरण गरिदिन्छन्- ‘डाँकवाक् ग्रुप’ भनेर। ग्रुपको नियम छ : छुटेकालाई नपर्खिने; अगाडि हिँड्नेलाई भेटेरै छाड्ने। म यो ग्रुपको एक सदस्य। भनिरहनु परोइन- हिँडाइमा लगभग आठ किलोमिटर मेरो बिहानको ‘खुराक’ होे। कौशु पनि ‘हिँड्नुपर्छ’ भन्ने चेतसहित छिन्; मर्निङवाकमा निस्किन्छिन्।
छोराहरू पनि हिँड्छन्; हिँड्न रुचि राख्छन्। सिंगापुर आइपुगेपछि हाम्रो ध्याउन्न बढीभन्दा बढी घुम्नेतिर केन्द्रित भयो। यहाँ, ‘घुम्नु’को अर्थ : कि हिँड्ने कि मेट्रो/सार्वजनिक बसमा दौडिने। यही घुम्ने क्रममा हामीले फेला पारेका थियौँ- धोबीघाट लेखिएको साइनबोर्ड।
सिंगापुर बहुसांस्कृतिक देश हो। सिंगापुरमा मुख्यत: चिनियाँ मूलका ७६.०२ प्रतिशत, मलेसियाली मूलका १५ प्रतिशत र भारतीय मूलका ७. ४ प्रतिशत नागरिक बसोबास गर्दछन्। यही आवादीका आधारमा होला; यहाँका केही क्षेत्रको नाम ‘लिटिल इन्डिया’ र ‘चाइना टाउन’ छ। सिंगापुरको जनसांख्यिक वितरणमा भारतीय मूलका नागरिकको अवस्थिति हेरेपछि साइनबोर्डमा ‘धोबीघाट’ देखिनु सहज/स्वाभाविक लाग्छ।
सिंगापुरमा मुख्यत: बौद्ध, ताओवाद, इस्लाम, इसाई र हिन्दू धर्मावलम्बी देखिन्छन्। यसबाहेक सिंगापुरमा धर्मनिरपेक्ष जनसंख्याको आकार पनि उल्लेख्य रहेछ। धार्मिक संरचनाका रूपमा हेर्दा धर्म निरपेक्ष समुदाय सिंगापुरको तेस्रो ठूलो समुदायका रूपमा रहेछ। यहाँ मलेसियन मूलका धेरैजसो नागरिक मुस्लिम छन्। चिनियाँ मूलका नागरिकमा मुख्यत: बौद्ध धर्म, ताओवाद र चिनी लोकपरम्पराको प्रभाव देखिन्छ। यस समुदायमा इसाई धर्मको प्रभाव बढ्दै आएको बताइन्छ। भारतीय मूलमा धेरैजसो हिन्दू छन्; त्यसबाहेक यस समुदायमा मुस्लिम, सिख र इसाई पनि छन्। यीमध्ये हिन्दूहरू दक्षिण भारतको नागापट्टनम र कुड्डालोर जिल्लाबाट आएका हुन् रे।
सिंगापुरको चाइना टाउनमा चिनियाँ संस्कृतिको झलक पाइने रहेछ। यही चाइना टाउनको केन्द्रमा रहेको साउथ ब्रिज रोडको किनारमा एउटा भव्य मन्दिर देखिन्छ; यो मरिअम्मन मन्दिर रहेछ। मन्दिरभित्रको सरसफाइको अवस्थामा पहिलो ध्यान जान्छ : कति सफा र व्यवस्थित! मरिअम्मन देवीको नाम रहेछ। यस मन्दिरको निर्माण सन् १८२७ मा भएको रहेछ। मन्दिर निर्माणको ढंगढाँचा भने नेपाल र नेपाल निकटका भारतीय तीर्थस्थलका मन्दिरहरूको भन्दा फरक। हामीले यस शैलीमा निर्माण भएको मन्दिर देखेका थिएनौँ।
यो मन्दिरको वर्तमान ढाँचा भने सन् १८६२-६३ मा भएको मानिँदो रहेछ। मन्दिरमा दर्शनार्थीको बाक्लो उपस्थिति! स्थानीय भारतीय मूलका हिन्दू धर्मावलम्बी नागरिकको नजिकको धार्मिक आस्थाको केन्द्र यो मन्दिर। पुजारी पनि त्यही समुदायबाट। पूजाआराधनाको विधि पनि उनीहरूकै। जहाँ पनि मन्दिरहरूको सामाजिक/सांस्कृतिक प्रयोजन पनि हुन्छ; परस्परमा भेटघाट गर्ने र भलाकुसारी गर्ने; विवाह/व्रतबन्ध, भजन, कीर्तन गर्ने; स्थान हेरेर सामुदायिक कार्यक्रम आयोजना गर्ने जस्ता गतिविधिका लागि पनि मन्दिर/देवस्थलपरिसर उपयोग हुन्छन्। यसरी यो मन्दिर यस समुदायका लागि धार्मिक आस्थाको केन्द्र त भयो नै; परस्परमा भेटघाट गर्ने र भलाकुसारी गर्ने स्थल पनि हुन सक्ने भयो।

चाइना टाउनमै रहेछ- फरक निर्माण शैलीको अर्को भव्य भवन। बौद्ध धर्मावलम्बीको आस्था केन्द्र पो हो कि! अन्यत्रको दाँजोमा चाइना टाउनमा सडक भने अलिक साँघुरोझैँ लाग्ने। सडकका दुवैतिर खचमखच पसल र मलहरू! यही चाइना टाउनमै हामीले फेला पार्यौँ- ‘स्मार्ट अरेन्ज भेन्डिङ मेसिन’ : अचम्मको मेसिन! दराजको आकारको मेसिनमा सबैभन्दा माथिल्लो खण्डमा ताजा मौसम (फल) छन्; त्यसभन्दा तल्लो खण्डमा छन्- ‘युज एन्ड थ्रो’ ग्लासहरू; तिनकै साइडमा क्रेताले रकम दाखिला गर्ने ठाउँ छ।
रकम दाखिला गर्नु के छ; मेसिन ‘ब्युँझिन्छ’ र प्रक्रिया चालु हुन्छ : एक ग्लास जुसका लागि चारवटा मौसमका फलहरू गुड्छन्; ती गुड्दै तल झर्छन्; तिनको बोक्रा छोडाइन्छ; पेलिन्छ र केही क्षणपछि सबैभन्दा तल जुस भरिएको ग्लास ‘हाजिर’ हुन्छ। त्यो ग्लास उठाउने, ल्याउने, घुट्क्याउने र स्वाद लिने काम भने मान्छेले नै गर्नुपर्छ; मेसिनले गर्दैन। यस स्तरको स्मार्ट स्वचालित ‘चटके’ मेसिन पनि हामीले अन्यत्र देखेका थिएनौँ; यहीँ देख्यौँ। त्यसको मिसावटरहित उत्पादन/जुस पनि यहीँ पियौँ। सिंगापुरमा सपिङमल, पर्यटकीय आकर्षणका स्थल, कार्यालयहरू रहेको स्थल जस्ता उच्च ट्राफिक स्थलहरूमा यसप्रकारका स्मार्ट भेन्डिङ मेसिनहरू राखिएका छन् रे। यहाँ झन्डै एक हजार स्थलमा यस्ता मेसिनहरू रहेको बताइन्छ।
सिंगापुरको ‘हाजी लेन’मा पनि अन्यत्रको दाँजोमा सडकहरू साँघुरा लाग्ने। यी सडक पैदल यात्राका लागि आनन्ददायक। कलाप्रेमीका लागि अनुकूल स्थल रहेछ- हाजी लेन। सडकका भित्तामा पेन्टिङ र चित्रहरू देख्दा रमाइलो लाग्ने। टाटुका लागि पनि प्रसिद्ध रहेछ- हाजी लेन। हाजी लेनको सडकमा हिँड्दाहिँड्दै परैबाट देखापर्छ- सुल्तान मस्जिद। यो आकर्षक मस्जिद ब्रिटिस इस्ट इन्डिया कम्पनीको आर्थिक सहयोगमा मलेसियाका शासन सुल्तान हुसैन शाहले सन् १८२४ मा बनाउन प्रारम्भ गरेका हुन् रे। यसको डिजाइनमा ब्रिटिस आर्किटेक्ट डेनिस सैनफोर्डको योगदान रहेछ। यसभित्र झन्डै ५००० व्यक्तिले एकैचोटि नवाज पढ्न ठाउँ पुग्छ रे। यो मुस्लिम समुदायको तीर्थस्थल। इदजस्ता धार्मिक अवसरमा खचाखच भीड हुने होला यहाँ। हामीजस्ता पर्यटकका लागि पनि सुल्तान मस्जिद इस्लामिक आर्किटेक्चरको सुन्दर नमुना/सम्पदाका रूपमा देखा पर्ने। मस्जिद क्षेत्रमा इस्लामिक साँस्कृतिक गतिविधि हेर्दा मन रमाउने।
सिंगापुर अर्थात् सिंहहरूको पुर/नगर। सिंह र पुर दुवै संस्कृत शब्द। यी दुई शब्द मिलेर बनेको हो- ‘सिंगापुर’। किंवदन्ती छ- ‘मलय राजा सांग नीला उत्माले हाल सिंगापुर भनेर चिनिने यस द्वीपमा एउटा सिंह देखे। र, यस द्वीपको नाम सिंंहापुर/सिंगापुर राखिदिए।’
सिंगापुरमा पथ्थर/सिमेन्टबाट निर्मित सिंहको मुखबाट निरन्तर पानीको फोहरा झरेको दृश्य हामीले युट्युबमा यताको बाटो समात्नभन्दा पहिल्यै देखेका हौँ। यहाँ आएपछि त्यसलाई नजिकैबाट हेर्ने चौचौले हामीलाई पिरोल्नुपिरोलेको पनि हो। त्यो स्मारक पुनर्निर्माणको समय परेछ : हामीले सिंगापुरमै आएर पनि त्यो महत्त्वपूर्ण निधि हेरेर रमाउन भने पाएनौँ।
हामी २७-२९ असोज, २०८० तदनुसार १४-१६ अक्टोबर, २०२३ सिंगापुरमा रह्यौँ। हाम्रो यो सिंगापुरको पर्यटकीय भ्रमण अत्यन्त सुखद/रमाइलो रह्यो। हामी भोलि बिहान सिंगापुरबाट सार्वजनिक बसमा मलेसिया प्रवेश गर्नेछौँ। मलेका/मलेक्का हाम्रो मलेसिया भ्रमणमा पहिलो छनोटमा परेको सहर हो।




