काठमाडौँ- यस वर्ष दसैँ र तिहारको अवसरमा सात नेपाली फिल्म प्रदर्शन भएका थिए। दसैँमा ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ तथा तिहारमा ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ र ‘मैझारो’ प्रदर्शन भएका हुन्। यसैबीचमा अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ प्रदर्शनमा भएको थियो।
यी सात फिल्ममध्ये ‘जेरी अन टप’ ले धेरै कमाउन सफल भएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपाेर्टअनुसार कात्तिक १५ गतेसम्म फिल्मले १० करोड ५१ लाख ४८ हजार आठ सय तीन रुपैयाँ संकलन गरेको छ। फिल्ममा प्रेम सम्बन्धसहित हिमाल आरोहण गर्नेको कथा समेटिएको छ। अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा रहेको फिल्मका निर्देशक सुयोग गुरुङ हुन्। नेपालकै ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमाजले फिल्मलाई सुपरहिटको ट्याग दिएको छ।
अन्य फिल्मले कति कमाए त?
फिल्म ‘बलिदान’ ले हालसम्म पाँच करोड १० लाख ३४ हजार आठ सय दुई रुपैयाँ संकलन गरेको छ। समीर भट्टको मुख्य भूमिका रहेको फिल्मका निर्देशक सन्तोष सेन हुन्। एक्सन जनरामा बनेको फिल्ममा अन्य कलाकार सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकीलगायतको अभिनय छ।
‘हरिबहादुरको जुत्ता’ ले चार करोड ७१ लाख ३७ हजार ६ सय ८७ रुपैयाँ संकलन गरेको छ। दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिनेश काफ्लेलगायत कलाकारको अभिनय छ।
‘माइतीघर’ ले चार करोड १५ लाख ५१ हजार आठ सय ८८ रुपैयाँ संकलन गरेको बोर्डको रिपोर्टमा उल्लेख छ। पारिवारिक कथामा बनेको फिल्मका निर्देशक मिलन तामाङ हुन्। फिल्ममा केदार घिमिरे, धीरज मगर, उपासनासिंह ठकुरी, बुद्धि तामाङ, प्रकाश सपुतलगायत कलाकारको अभिनय छ।
तिहारमा प्रदर्शन भएका फिल्म ‘वरिष्ठ बलराम’ ले दुई करोड ४८ लाख ३० हजार ४ सय ८८ रुपैयाँ कमाउन सफल भएको छ। फिल्म समाजभित्रको शक्ति र संघर्षको कथामा आधारित छ। सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, माओत्से गुरुङ, पशुपति राई, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ।
फिल्म ‘मैझारो’ ले एक करोड ९५ हजार तीन सय नाै रुपैयाँ कमाएको छ। फिल्म हास्यकलाकार विल्सनविक्रम राईको निर्देशनमा बनेको हो।
प्रेमकथामा आधारित फिल्ममा एक युवकको बाल्ययकालीन प्रेम र भविष्यको अनिश्चितताबीच द्वन्द्व देखाउन खोजिएको छ। फिल्ममा धीरज मगर, मिरुना मगर, दयाहाङ राई, दीया पुन, बुद्धि तामाङ, सुनील थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरूङ, कविता आलेलगायत कलाकारको अभिनय छ।
‘सोल्टिनी’ ले २८ लाख ८० हजार एक सय ५६ रुपैयाँ कमाएको छ। ग्रामीण परिवेशमा तयार पारिएको फिल्ममा अन्तरजातीय प्रेमसम्बन्धमा देखिने सामाजिक विभेद, दुई समुदायबीचको असमानता र त्यसले निम्त्याउने संघर्षपूर्ण परिस्थिति प्रस्तुत गरिएको छ।
फिल्मको मुख्य भूमिकामा प्रकाश सपुत र परीक्षा लिम्बू छन्। उनीहरूबीचको प्रेम फिल्ममा देखाइएको छ। फिल्ममा अन्य कलाकार सुन्दर धिताल, सबु गुरूङ, सुजन खतिवडा, विल्सनविक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको अभिनय छ। फिल्मका निर्देशक अर्जुन सुवेदी हुन्। ‘जेरी अन टप’, ‘वरिष्ठ बलराम’ र ‘मैझारो’ हलमा प्रदर्शन भइरकेका छन्।




