सातदलीय गठबन्धनका कारण प्रदेशमा सुरक्षा ‘थ्रेट’ बढ्यो : मुख्यमन्त्री यादव

हिमाल प्रेस २९ कार्तिक २०८२ १५:३७
20
SHARES
सातदलीय गठबन्धनका कारण प्रदेशमा सुरक्षा ‘थ्रेट’ बढ्यो : मुख्यमन्त्री यादव

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सातदलीय गठबन्धनका कारण आफूसहित प्रदेशभर सुरक्षा ‘थ्रेट’ रहेको बताएका छन्। शनिबार जनकपुरधामस्थित आफ्नो निवासबाट प्रदेशको नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन्।

उनले भने, ‘सातदलीय गठबन्धनले आन्दोलनको नाममा विध्वंश, उपद्रो र आतंक मच्चाउने गतिविधि गरिरहेको छ। यसले मलाई मात्रै होइन, प्रदेशकै सुरक्षा थ्रेट बढेको छ।’

आन्दोलनका नाममा सुरक्षाकर्मी, कर्मचारी, सभामुखलगायतमाथि भएको आक्रमणले सुरक्षा ‘थ्रेट’ बढाएको उनको भनाइ छ। नेपाली सेना, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मी रहँदा पनि आफूले सुरक्षा चुनौती अनुभव गरिरहेको बताउँदै उनले प्रदेशवासी कसरी सुरक्षित रहने प्रश्न गरे।

मुख्यमन्त्री यादवले सुरक्षा चुनौतीकै कारण महत्वपूर्ण कार्यक्रमहरू सहभागी हुन नपाएको गुनासो गरे। उनले जेनजी आन्दोलनपछि संघ सरकार गठनमा भारत हावी भए जस्तै प्रदेशमा हस्तक्षेप गरिरहेको दाबी गरे।

‘वीरगञ्जस्थित भारतीय काउन्सलर अफिसबाट सहमति गराउने, तोड्ने र पटक–पटक मिटिङ गराउने कामहरू भइरहेका छन्। आन्दोलनकारी दलहरूसँग प्रत्यक्ष संवाद भइरहेको छ। यसले पनि आन्दोलनमा भारतीय हस्तक्षेप रहेको पुष्टि हुन्छ,’ उनले भने।

मधेश केन्द्रित दलहरूसँग कुनै एजेन्डा नभएकाले आसन्न निर्वाचनलाई लक्षित गरेर विनाअर्थको आन्दोलनमा उत्रिएको उनको आरोप छ। मुख्यमन्त्री यादवले मधेश केन्द्रित दलहरू मधेशी–पहाडीको सेन्टिमेन्ट देखाएर मत प्राप्त गर्ने होडबाजीमा रहेको जिकिर गरे।

उनले एक साताअघि राजीनामा दिइसकेका मुख्यमन्त्री जितेन्द्र सोनलले अझै मुख्यमन्त्री आवास कब्जा गरेर राखेको उल्लेख गरे। मुख्यमन्त्री यादवले भने,‘राजीनामा दिइसकेपछि सोनलजीले नैतिकता देखाउँदै आफैँ आवास छोड्नुपर्दथ्यो। मौखिक आग्रह र लिखित पत्राचार पनि गरेको छु, बेवास्ता गर्नुभएको छ। मुख्यमन्त्री आवासलाई आन्दोलनकारीको चियाखाजा पसल बनाउनु भएको छ।’

प्रकाशित: २९ कार्तिक २०८२ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast