जुम्ला- नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति जुम्लाको छैटौँ जिल्ला अधिवेशन भव्य समारोहका साथ सम्पन्न भएको छ। अधिवेशनले जिल्लाभरका विद्यालयका कर्मचारीहरूको उल्लेखनीय सहभागिताबीच नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो।
छैटौँ अधिवेशनले लक्ष्मण बुढालाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। यस्तै, जयलाल बुढा उपाध्यक्ष, सीतादेवी पाण्डे महिला उपाध्यक्ष, सुरबहादुर हमाल सचिव र खाम्ब रोकाया अर्थसचिवमा चयन भएका छन्। सदस्यहरूमा नीमबहादुर रावत, लक्ष्मीप्रसाद हमाल, धनराज ऐडी, मानबहादुर बुढा, मानबहादुर रोकाया, जस रोकाया, दानबहादुर पछाई र केशव सार्की रहेका छन्।
त्यस्तै, अधिवेशनले केन्द्रीय प्रतिनिधिका रूपमा मीनराज डाँगी र देवी शर्मा धिताललाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिका रूपमा धनराज शाही, रामबहादुर शाही र रामबहादुर रोकाया निर्वाचित भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेश अध्यक्ष देवराज बुढाले नयाँ नेतृत्वलाई बधाई दिँदै विद्यालय कर्मचारीहरूलाई देशको शिक्षा प्रणालीको मेरुदण्डको रूपमा परिभाषित गरे। उनले भने, ‘विद्यालय कर्मचारीबिना शिक्षा क्षेत्रमा सुशासन र कार्य सञ्चालन सम्भव छैन। विद्यालय कर्मचारीहरूले आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गरे मात्र शिक्षाको गुणस्तर सुधार हुन्छ।’
उनले नयाँ नेतृत्वलाई संगठन सुदृढीकरण, कर्मचारीको अधिकार संरक्षण र शिक्षा क्षेत्रमा पारदर्शिता तथा जिम्मेवारीपूर्ण प्रशासनिक अभ्यासलाई प्राथमिकतामा राख्न सुझाव दिए।
जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमेश कुमार शाहीले विद्यालय कर्मचारीहरूको भूमिका शिक्षाको आधारशिला सरह रहेको बताए। उनले भने, ‘विद्यालयका कर्मचारीहरूले विद्यालयको अनुशासन, प्रशासन र सञ्चालनमा अत्यन्तै महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। उनीहरूबिना विद्यालय सुचारु रूपमा चल्न सक्दैन।’
शाहीले विद्यालय कर्मचारी परिषद् जस्ता संगठनहरूले नीति निर्माण तहमा कर्मचारीको आवाज पुर्याउन सक्ने भन्दै संगठनात्मक एकता र निरन्तर संवादलाई बलियो बनाउन आग्रह गरे।
नवनिर्वाचित अध्यक्ष लक्ष्मण बुढाले पदभार ग्रहण गरेपछि सबै पदाधिकारी, सदस्य र अतिथिहरूप्रति आभार व्यक्त गर्दै संगठनको एकता, पारदर्शिता र कर्मचारी हकहितका विषयमा दृढ प्रतिबद्धता जनाए।
‘हाम्रो लक्ष्य विद्यालय कर्मचारीको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउने हो,’ उनले भने, ‘अब हामी संगठनको बलमा विद्यालय प्रणालीमा सकारात्मक परिवर्तन ल्याउनेछौं।’
उनले आगामी कार्यकालमा सदस्यहरूबीच सहकार्य र साझा प्रतिबद्धताका साथ विद्यालय प्रशासनलाई थप प्रभावकारी र उत्तरदायी बनाउन कार्य गर्ने बताए।
कार्यक्रममा जिल्लाभरका विद्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि, शिक्षक, शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र सरोकारवालाको उल्लेखनीय उपस्थिति थियो। अधिवेशनले संगठनलाई अझ सुदृढ, सक्षम र लक्ष्यमुखी बनाउने संकल्प गर्दै समापन गरिएको छ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले विद्यालय कर्मचारी परिषद् जुम्लाको आगामी कार्यकाल सफल र प्रभावकारी बनाउन शुभकामना दिएका थिए।



