काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्मासँग आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल भइरहेको बताएका छन्।
चितवनको सौराहामा आजदेखि सुरु हुने विस्तारित बैठकअघि उनले बिहीबार पत्रकारहरूसँग भने, ‘सुशासनका लागि सहकार्य कसरी गर्ने–गठबन्धन बनाउने कि एकअर्कालाई सघाउने भन्नेबारे विभिन्न मोडालिटीमा छलफल भइरहेको छ।’
उनका अनुसार मधेशवादी दलहरूले बनाएको शैलीमा ‘नेतृत्व परिषद’ गठन गर्ने प्रस्ताव पनि आएको छ। तर कुनै ठोस निष्कर्ष ननिस्किएको उनले बताए।
झाले रास्वपा लचकता देखाइरहेको तर ‘भाँचिनेगरी लचिलो नहुने’ बताए। उनका अनुसार नयाँ राजनीतिक संस्कार र सुशासनका लागि समान सोच भएका दलहरूबीच एकता वा सहकार्यका सम्भावना खुला छन्।
‘डा.भट्टराई र जनार्दन शर्मासँग छलफल जारी छ, रास्वपामै जोडिने सम्भावना अन्त्य भएको छैन,’ उनले भने। सौराहामा हुने दुई दिनको बैठकमा ५१२ प्रतिनिधि सहभागी हुने र त्यसमा आगामी निर्वाचन रणनीति, सम्भावित गठबन्धन र नेतृत्वको विषयमा पनि विस्तृत छलफल हुने उनले जानकारी दिए।



