मधेश सरकारमा सहभागी हुने मन्त्रीलाई फिर्ता आउन राप्रपाको निर्देशन

हिमाल प्रेस २४ कार्तिक २०८२ ९:५९ | Monday, November 10, 2025
4
SHARES
मधेश सरकारमा सहभागी हुने मन्त्रीलाई फिर्ता आउन राप्रपाको निर्देशन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ- मधेश प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी भएको छ। नेकपा एमाले संसदीय दल नेता सरोजकुमार यादवको नेतृत्वमा बनेको सरकारमा राप्रपाबाट कञ्चन विच्छा मन्त्री बनेकी छन्।

तर मधेश सरकारमा पार्टीका सांसदको सहभागिताप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा सोमबार बिहान लेखेका छन्, ‘यो अनुशासनको गम्भीर उल्लंघन हो।’

उनले राप्रपाबाट मन्त्री भएकी सांसदलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन्। ‘अन्यथा विधानबमोजिम कारबाही हुने जानकारी गराउँछु,’ लिङ्देनले भनेका छन्।

राप्रपाका संघीय र प्रदेश सभाका सबै सांसदले गत भदौ २४ गते पदबाट सामूहिक राजीनामा दिएका थिए। सामूहिक राजीनामा दिएकी सांसद अहिले मन्त्री भएका छन्।

आइतबार अबेर राति प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनलाई सिन्धुली र महोत्तरीको सिमानामा पर्ने एउटा होटलमा प्रदेश प्रमुख भण्डारीले सपथ ग्रहण गराएकी हुन्।

मुख्यमन्त्री बनेपछि यादवले तीन जना मन्त्रीसमेत नियुक्त गरेका छन्। एमालेबाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री बनेका थिए।

प्रकाशित: २४ कार्तिक २०८२ ९:५९ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast