संविधानले दिएको अधिकार खोसिँदैन तर शिक्षा क्षेत्रमा राजनीति सह्य छैन : शिक्षामन्त्री पुन

हिमाल प्रेस २४ कार्तिक २०८२ १०:४८ | Monday, November 10, 2025
220
SHARES
संविधानले दिएको अधिकार खोसिँदैन तर शिक्षा क्षेत्रमा राजनीति सह्य छैन : शिक्षामन्त्री पुन शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय र विश्वविद्यालयमा हुने अनावश्यक राजनीतिक हस्तक्षेप रोक्न आफूले आइतबार जारी गरेको सूचनाबारे स्पष्ट पार्दै संविधानले प्रदान गरेको अधिकार कसैले खोस्न नसक्ने बताएका छन्।

नेपाल शिक्षक महासंघ र विभिन्न राजनीतिक पार्टी निकटका शिक्षक संघसंगठनहरूले पुनको निर्णयप्रति आपत्ति जनाउँदै विरोध गरेका छन्। उनीहरूले मन्त्री पुनलाई संविधान पढ्न पनि सुझाएका थिए। महासंघसहित संघसंगठनको आलोचनापछि मन्त्री पुनले संविधानले दिएको अधिकार नखोसिने तर शिक्षा क्षेत्रमा राजनीति सह्य नहुने बताएका हुन्।

मन्त्री पुनले उक्त सूचना कुनै अधिकार सीमित गर्न नभई शिक्षण संस्थामा भइरहेका अव्यवस्थित राजनीतिक चलखेल र त्यसका कारण विद्यार्थीको भविष्यमा परेको नकारात्मक असरका कारण जारी गरिएको बताए। उनले भने,‘राजनीतिक पार्टीहरूको संरक्षणमा विद्यालय र विश्वविद्यालयहरूको सञ्चालनमा बाधा पुर्‍याउने, विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने काम सह्य छैन।’

उनले विद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र विश्वविद्यालयहरूमा भइरहेका विभिन्न किसिमका राजनीतिक चलखेलबारे अभिभावक र विद्यार्थीहरूबाट हजारौं उजुरी प्राप्त भएको बताउँदै भने,‘त्यस्ता गतिविधि पनि भ्रष्टाचारकै रूप हुन्।’

पुनले सर्वोच्च अदालतको आदेश र सम्बन्धित ऐन–कानुनका धाराहरू समेत अध्ययन गर्न आग्रह गर्दै आगामी फागुन २१ गते हुने चुनावको प्रचारप्रसारका कारण विद्यालयको पठनपाठन प्रभावित नगराउन सबैलाई अनुरोध गरेका छन्। उनले थपे, ‘चुनावमा लाग्दा पनि विद्यालय बन्द नगर्नुहोस्। ‘नविराउनु, नडराउनु’ भन्ने नेपाली उखान छ नि।’

प्रकाशित: २४ कार्तिक २०८२ १०:४८ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast