धानखोला–लमही सडकलाई चारलेन सडकका रूपमा विकास आग्रह

हिमाल प्रेस १० मंसिर २०८२ ९:४३ | Wednesday, November 26, 2025
36
SHARES
धानखोला–लमही सडकलाई चारलेन सडकका रूपमा विकास आग्रह

दाङ- धानखोला–लमही सडकलाई चारलेन सडकका रुपमा विकास गर्न देउखुरीका युवाले माग गरेका छन्। एमसीसी परियोजनाअन्तर्गत निर्माण हुन थालेको उक्त सडक खण्डलाई चारलेनको बनाउनुपर्ने माग राख्दै युवाहरुले एमसीए परियोजनाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्।

‘चार लेन सडक निर्माण संघर्ष समिति’ का संयोजक प्रकाश शाहीको नेतृत्वमा कार्यालय पुगेका युवाहरुले दुई लेन सडकको डिपिआर परिवर्तन गरी चार लेनको सडक निर्माण गर्न माग गर्दै परियोजनाका कोर्डिनेटर सहास लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

‘दुई लेनले अब पर्याप्त हुँदैन’—संघर्ष समिति संघर्ष समितिका संयोजक शाहीले भालुबाङ–लमही सडक खण्ड अत्यन्त जोखिमपूर्ण भएकाले यसको समाधानका लागि चार लेन बनाउनुपर्ने बताए ।

‘यो प्रदेश राजधानी रहेको क्षेत्र हो । भविष्यमा नगरपालिकाका रुपमा विकास गरिने यस क्षेत्र हुनुका साथै पूर्व–पश्चिम/महेन्द्र राजमार्गमा पर्ने यो सडकलाई २ लेन नभई ४ लेनको बनाउनु पर्दछ’, संयोजक शाहीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ।

परियोजना निर्माण गर्दा दीर्घकालसम्म टिकाउने तर्फ सोच्नुपर्ने भन्दै ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यो सडकमा अत्यधिक दुर्घटना भइरहेको हुँदा स्थानीय प्रशासनले ‘टाइम कार्ड’ लागू गरेको छ। यसबाट पनि जानकारी हुन्छ, यो सडक कति जोखिमपूर्ण र चापमा परिरहेको छ । समय तोकेर मात्रै सवारी–साधन चलाउने व्यवस्था गर्नुको अर्थ हुन्छ—सडकले अब ट्राफिक धान्न सकिरहेको छैन र दुर्घटनाको सम्भावना अत्यधिक छ । दुर्घटनाका तथ्यांक हरेक वर्ष उकालो लागिरहेको छ, जसले स्थानीय जनजीवनलाई थप असुरक्षित बनाएको छ ।’

यही राजमार्गअन्तर्गत छिमेकी कपिलवस्तुमा आधुनिक संरचनासहितका चार लेनका मार्गहरू तीव्र गतिमा विस्तार भइरहेको भन्दै संघर्ष समितिले प्रदेश राजधानी क्षेत्रको सडकलाई अहिलेकै अवस्था/दुई लेनकै साँघुरो बाटोमा सीमित गर्न खोजेमा चरणबद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ ।

प्रकाशित: १० मंसिर २०८२ ९:४३ | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast