काठमाडौँ- काठमाडौँ महानगर–८ जयबागेश्वरी गायत्री मार्गमा रहेको छैटौ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण गरिएको छ।
पुनः निर्माण सम्पन्न भएको ब्रह्मा मन्दिरको शुक्रबार काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरे।
मन्दिरको उद्घाटन पछि महानगर प्रमुख शाह कार्यक्रमबाट बाहिरिएका थिए भने उपप्रमुख डंगोलले छैटौं शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिर पुनःनिर्माण हुन ऐतिहासिक कार्य भएको बताए। डंगोलले सम्पदा संरक्षणमा महानगरले प्रमुखताका साथ काम गरिरहेको उल्लेख गरिन्।
महानगरबाट हराएका मूर्त तथा अमूर्त सम्पदाहरुलाई पुनः स्थापन पर्ने काम गरिरहेको र अन्य देशमा रहेका नेपालका मूर्तिहरुलाई स्वदेश फर्काउन पनि पहल गरिरहेको उनले बताइन्।
काठमाडौँ महानगर वडा ८ का वडाअध्यक्ष आशामान संगतले दुई तल्ला रहेको प्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको जानकारी दिए।
उक्त ऐतिहासिक मन्दिरको गत माघ ७ गते पुनःनिर्माणका लागि शिलान्यास गरिएको थियो। हराएकै एक सय वर्षभन्दा धेरै समय भएको मन्दिरको ऐतिहासिकता उत्खनन गरिएको हो।



