काठमाडौँ- बुटवलकी रक्षा पन्तले विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि जितेकी छन्। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार सम्पन्न प्रतियोगितामा २४ जनालाई उछिन्दै पन्तले उपाधि जितेकी हुन्।
उनले शिर्ष उपाधिसँगै स्कुटर र अमेरिकामा हुने मिसेस वर्ल्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेसनल भइन्। उनले सेन्ट्रल फेसन स्कुल फेसन आइकनको उपाधि जितिन्। त्यस्तै, दिपिका तामाङ एमएस नेपाल इन्टरनेसनलको उपाधि जितिन्। मिसेस नेपाल वर्ल्डमै विद्या चौहान फस्ट रनर्स अपका साथमा ‘भ्युवर्स च्वाईस’ र ‘फेसबुक च्वाइस’ जितिन्।
एलिना केसी सेकेन्ड रनर्स अपका साथमा क्युट केयर बेस्ट हेयर र निर्मला सुनुवार थर्ड रनर्स अपका साथमा सावित्री कञ्जनजंगा बेस्ट डान्सरको विजेता भए।
मिसेस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेसनल र एमएस नेपाल इन्टरनेसनल विजेताले सिंगापुरमै हुने एमएस इन्टरनेसनल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउनेछन्।
कार्यक्रममा करिब साढे तीन दशकदेखि नेपाली फिल्म, कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पुर्याएवापत अभिनेत्री पूजा चन्दलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२५’ बाट सम्मानित गरियो।
प्रतियोगितामा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता सरोज खनाल, अभिनेत्री सनी रौनियार, मिसेस नेपाल वर्ल्ड २०२३ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल, फिल्म निर्माता गजित विष्ट र जनरल फिजिसियन डा. कर्ट निर्णायकमा थिए।


