प्रधानमन्त्री सुशीला कार्की।
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार) जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल गरेकी छन्। सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।
सोही अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुंगो लगाउन आग्रह गरेका थिए। सरकारका अधिकारीहरूले जेनजीका तर्फबाट प्राप्त दस्ताबेज अध्ययन गरी अन्तिम रूप दिने क्रममै रहेको बताएका थिए।
प्रधानमन्त्री कार्कीले यो विषय चाँडो टुङ्ग्याउन निर्देशन दिइन्। उनले भने, ‘अब यो विषय धेरै लम्ब्याउनु हुँदैन। आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस्, पर्सि आइतबार दिनभर लागे लागोस्, जेजे हेर्नुपर्छ हेर्नुहोस्। सोमबारभित्रमा अन्तिम रूप दिइएको हुनुपर्छ। अब धेरै दिन कुर्न सकिँदैन। हस्ताक्षर गरेकै कारणले केही व्यहोर्नुपरे म बेहोरौँला। मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ। यो राजनीतिक दस्ताबेज हो। कर्मचारी प्रशासकहरूले चिन्ता लिनु पर्दैन।’ रासस


