प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन

हिमाल प्रेस १ मंसिर २०८२ २१:०८ | Monday, November 17, 2025
6
SHARES
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन प्रधानमन्त्री सुशीला कार्की/फाइल तस्बिर

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएकी छन्।

केन्द्रका सचिव सरजुकुमार वैद्यसँगको छलफलमा सोमबार उनले जेनजी आन्दोलन नै भ्रष्टाचारविरुद्धको आन्दोलन भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले निर्देशन दिँदै उनलाई सार्वजनिक निकायहरुबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरी सुनुवाइका लागि केन्द्रको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताइन्।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचारपछिको दण्डात्मक उपायभन्दा भ्रष्टाचार हुनै नदिने वातावरण सिर्जना गर्नुपर्ने बताएको उनको सचिवालयले जनाएको छ।

‘सार्वजनिक निकायहरुबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमनलाई बढावा दिनुपर्छ। केन्द्रका निर्देशन पालना भए–नभएको पनि अनुगमन गर्नुहोस्,’ प्रधानमन्त्री कार्कीले भनिन्।

उनले विकास–निर्माणका योजनाहरुमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने तथा प्राविधिक परीक्षणको जिम्मेवारीमा केन्द्रको ध्यान पुग्नुपर्नेमा जोड दिएकी छन्।

यसका लागि जनशक्ति र वित्तीय स्रोतको समेत प्रबन्ध गर्नुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्री कार्कीले आमनागरिकलाई अनुभूति हुने गरी संस्थाको उपस्थिति र प्रभावकारिता देखाउन निर्देशन दिएकी छन्।

प्रकाशित: १ मंसिर २०८२ २१:०८ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast