काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नेतृत्व १५१ सदस्यीय केन्द्रीय समिति सदस्यहरूको नाम टुंग्याउन आन्तरिक छलफलमा जुटेको छ। आइतबार घोषणा भएको पार्टी संरचनालाई पूर्णता दिन नेतृत्वसहित शीर्ष नेताहरू तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा छलफलमा जुटेका हुन्। अध्यक्ष मण्डलका सदस्य सुदन किराँतीले बुधबार बिहान ८ बजेदेखि आफूहरू छलफलमा जुटेको जानकारी दिए। बैठकमा डा.बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की, दुर्गा सोबललगायत नेताहरू सहभागी छन्।
प्रलोपाका एक नेताका अनुसार १५१ केन्द्रीय समितिमा कुन कुन पक्षबाट प्रतिनिधित्व गराउने भन्ने विषयले अझै पूर्णता पाएको छैन। जनार्दन शर्मा, सन्तोष परियार, जेनजी, डा.बाबुराम भट्टराईलगायत पक्षबाट को कसलाई समावेश गर्ने भन्नेमा विस्तृत छलफल जारी छ। महिला, जेनजी, मधेशलगायत विभिन्न पहिचानसमूहको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी समग्र संरचना बनाउने तयारी भइरहेको उनले बताए।
हिजो मंगलबार सबै पक्षका नेताहरूले फिल्डमा सक्रिय को को नेताहरूलाई केन्द्रीयदेखि जिल्ला कमिटीसम्म राख्ने भन्ने सूची पेस गरेका थिए। आज बिहान ८ बजेदेखि ती नामहरू सर्टलिस्ट गर्ने काम भइरहेको ती नेता बताउँछन्। आगामी फागुन २१ गतेको निर्वाचनलाई ध्यानमा राख्दै फिल्डमा खटिनसक्ने नेताहरूलाई कार्यकारी भूमिकाबाट वञ्चित नगर्ने विचार पार्टीभित्र देखिएको उनले बताए।
हिमालप्रेससँग बुधबार उनले भने,‘सबै नेताले आफ्ना अडानभन्दा माथि उठेर पार्टी निर्माणमा संयमित हुन आवश्यक छ। डा.बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्कीहरूले कार्यकारी भूमिका छाड्दै गर्दा तल्लो कि माथिल्लो कमिटीमा बस्ने भन्ने विवाद गर्नुहुँदैन।’
पार्टीको मुख्य लक्ष्य केन्द्रीय समिति छिटो टुंग्याएर संगठनलाई फिल्डमा सक्रिय बनाउनु रहेको उनले बताए।


