सेनालाई धन्यवाद दिँदै दलहरू निर्वाचनमा जानुको विकल्प छैन

ओली हुँकार मुलुकको लागि घातक

हिमाल प्रेस ६ मंसिर २०८२ २१:२२
28
SHARES
सेनालाई धन्यवाद दिँदै दलहरू निर्वाचनमा जानुको विकल्प छैन

काठमाडौँ- नेपालमा भएको जेन जेड अर्थात् जेनजी आन्दोलनले राजनीतिक परिदृश्यमात्र फेरेन राजनीतिक दलहरूको जगलाई नै हल्लाइदिएको छ। यस आन्दोलनलाई निम्त्याउने मुख्य कारक तत्वहरूमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका स्पष्ट देखिन्छ। हुन त केही नेताहरु भ्रष्टचारमा जेल जान सक्ने अवस्था बनेपछि पहिलो र दोस्रो ठूलो दल मिलेर नै सरकार बनाएर भ्रष्टचारलाई संस्थागत बनाउने शैली देखिएपछि युवाहरु उत्रेका हुन।

नेपाली सेनाको सहयोगमा बाचेका स्वयं ओली आफैँ जथाभावी बोलिरहेका छन् र कार्यकर्ताहरूलाई उक्साउने काम गरिरहेका छन्। आफ्ना गल्तीहरू छोप्नका लागि पछिल्लो समय उनी बढी नै सक्रिय भएको देखिन्छ। जेनजी आन्दोलनमा नेपाली सेनाले उनको ज्यान जोगाएको कुरा बिर्सेर अहिले सेनालाई धन्यवाद दिनुको सट्टा उनी मुलुकलाई मुठभेडतर्फ धकेल्ने गरी अग्रसर भएका देखिन्छन्। यो स्थिति चिन्ताजनक छ, किनकि यो केवल नेपालको कुरा होइन, विश्वव्यापी युवा जागरणको एक हिस्सा हो।

जेनजी आन्दोलन त्यसै भएको थिएन। सामाजिक सञ्जाल बन्द गराउने प्रयास, सरकारको विरोध गर्न नपाउने अवस्था सिर्जना गर्ने, भ्रष्टाचारमा मुलुकलाई डुबाउने र जताततै लथालिङ्ग स्थिति भएपछि युवाहरूले विदेश जानुपर्ने बाध्यता सिर्जना भएपछि यो पुस्ताले आन्दोलन गरेको हो। आन्दोलनको क्रममा सिधा गोली हानेर एकै दिनमा दुई दर्जन स्कुले बालक र युवाहरूलाई मारिएपछि यो आन्दोलनले उग्र रूप लिएको थियो।

यसमा कैयौँको व्यक्तिगत सम्पत्ति क्षति भएको थियो भने मुलुकको शान सिंहदरबारसमेत जलेको थियो। यस घटनामा पश्चात्ताप गर्नुको सट्टा उल्टै हुंकार बढाउने काम भएको देखिन्छ। यदि सेनाले भनेको कुरा पहिल्यै मानेको भए यो अवस्था आउने थिएन। पहिला सुरक्षा निकायको कुरा नसुन्नेहरू ‘अहिले मलाई केही भनेन’ भनेर सफेद झुट बोलिरहेका छन्। आफ्नो संरचनाले राम्रो कुरा गरेकोमा केही हदसम्म प्रशंसा गर्नु आवश्यक छ।

जेनजी आन्दोलन पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बंगलादेश हुँदै नेपालमा प्रवेश गरेको हो। यो क्षेत्रलाई हामीले नियाल्नु र त्यहाँ भएका घटनाहरूलाई स्मरण गर्नु आवश्यक छ। अफगानिस्तानमा राष्ट्रपति हमिद कारजाई ब्रिफकेस बोकेर भागेको तस्बिर अझै पनि जताततै पाइन्छ। उनी भागेपछि मुलुकमा तालिबानको सरकार आएको छ। र, अझै पनि मुलुक संकटबाट मुक्त हुन सकेको छैन। कारजाईको भाग्ने घटना युवा असन्तुष्टि र राजनीतिक अस्थिरताको परिणाम थियो, जसले अफगानिस्तानलाई वर्षौँसम्म अस्थिर बनायो।

श्रीलंकामा पनि यस्तै स्थिति देखियो। राष्ट्रपति गोटाबाया राजापक्ष र प्रधानमन्त्री महिन्दा राजापक्ष दाजुभाइ थिए, जसले दुईतिहाइ बहुमत प्राप्त गरेका थिए। तर भ्रष्टाचारलाई संस्थागत बनाएर मुलुकलाई डुबाउने र आफू तथा परिवारलाई मोज गर्ने प्रवृत्तिले युवाहरू सडकमा उत्रिए। आन्दोलनले उग्र रूप लिएपछि सेनाले नै उनीहरूलाई माल्दिभ्स हुँदै सिंगापुर भाग्न सहयोग गरेको थियो। यो घटना धेरै पुरानो भएको छैन, तर श्रीलंका अझै पनि चरम आर्थिक संकटबाट गुज्रिरहेको छ। भ्रष्टाचारलाई शिष्टाचारू भन्ने स्थिति सिर्जना भएपछि युवा पुस्ताले विद्रोह गरेको थियो, जसले राजापक्ष परिवारलाई मुलुक छोड्न बाध्य बनायो।

यो उदाहरणले देखाउँछ कि दुईतिहाइ बहुमत भए पनि जनताको असन्तुष्टि सामना गर्न नसकेपछि नेताहरू भाग्नुपर्ने हुन्छ। गत वर्ष मात्र बंगलादेशमा अवामी लिगबाट करिब दुईतिहाइ मत ल्याएर प्रधानमन्त्री बनेकी शेख हसिनालाई प्रधानसेनापतिले भेटेर ‘अब ४५ मिनेट मात्र बाँकी छ, भारततिर जानु राम्रो हुन्छ’ भनेर सुझाव दिँदै भाग्न लगाएका थिए। मुलुकमा राख्न सक्ने स्थिति नभएपछि यो कदम चालिएको थियो। अहिले उनी भारतमा निर्वासितहुँदै शरणार्थी जीवन बिताइरहेकी छन्।

उनको पिताले मुलुक नै बनाएका थिए, तर उनले त्यसलाई आफू र सन्तानको कमाइको थलो बनाएको ठानेर यो अवस्था निम्त्याएकी हुन्। बंगलादेशको संविधानमा प्रधानमन्त्री निकै बलियो मानिन्छ, तर आन्दोलनको बलमा सेनाले नै ‘बाईबाई’ गरेको थियो। कुन संविधानको धाराले सेनालाई यो अधिकार दियो? यो प्रश्नले देखाउँछ कि आन्दोलनको शक्तिले नै परिवर्तन हुन्छ।

श्रीलंकामा विचित्रको राजनीति थियो। लिट्टे आतंकलाई सदाका लागि शान्त पारेपछि राजापक्ष परिवार सम्मानित बनेका थिए। तर त्यही सम्मानको आधारमा भ्रष्टाचारलाई शिष्टाचार बनाएर मुलुकलाई आफ्नो परिवारको हकमा उपयोग गरेपछि उनीहरू मुलुक छोड्न बाध्य भए। पहिलाको पुस्ता प्रश्न गर्न सक्दैनथ्यो, तर अहिलेको जेनजी पुस्ता तर्कसहित प्रश्न गर्छ। यो कुरा नबुझ्दा समस्या झनै बढ्छ।

यो आन्दोलनको लहर विश्वव्यापी छ। उदाहरणका लागि, केन्यामा २०२४ जुनबाट सुरु भएको जेनजी आन्दोलनले कर वृद्धि, भ्रष्टाचार र महिलाविरुद्ध हिंसाविरुद्ध आवाज उठाएको थियो। यो आन्दोलनले सरकारलाई फाइनान्स बिल फिर्ता लिन बाध्य बनायो, तर २०२५ सम्म पनि दमन र डिजिटल निगरानीका बाबजुद विद्रोह जारी छ।

केन्याका युवाहरूले सामाजिक सञ्जालमार्फत संगठित भएर सरकारलाई चुनौती दिए, जसले अफ्रिकामा युवा जागरणको लहर फैलायो। पेरुमा पनि २०२५ सेप्टेम्बरबाट सुरु भएको जेनजी आन्दोलनले राष्ट्रपति दिना बोलुआर्टेलाई पदबाट हटाएको थियो।

युवाहरूले पेन्सन, तलब र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरे, जसमा कम्तीमा एक जनाको ज्यान गएको थियो र सयौँ घाइते भए। यो आन्दोलनले उत्तराधिकारी जोसे जेरीविरुद्ध पनि मोर्चा खोलेको छ, जसले पेरुको राजनीतिक स्थिरतालाई चुनौती दिएको छ।

म्याडागास्करमा त प्रधानसेनापति नै आफैँ राष्ट्रपति घोषणा गरेका थिए। २०२५ अक्टोबरमा युवा आन्दोलनले गरिबी र बिजुली कटौतीविरुद्ध प्रदर्शन गरेपछि सेनाले राष्ट्रपति एन्ड्री राजोएलिनालाई हटाएर कर्नेल माइकल रान्ड्रियानिरिनालाई सत्ता सुम्पियो। यो घटनाले देखाउँछ कि युवा दबाबले सेनालाई नै हस्तक्षेप गर्न बाध्य बनाउँछ।

आइभरी कोष्टमा पनि २०२५ मा राष्ट्रपति अलासाने वाटाराले चौथो कार्यकालका लागि उम्मेदवारी दिएपछि युवाहरू सडकमा उत्रिए। विपक्षी नेताहरूलाई प्रतिबन्ध लगाएपछि हजारौँ प्रदर्शनकारी गिरफ्तार भए, तर आन्दोलनले मुलुकलाई अस्थिर बनायो। यो उदाहरणले देखाउँछ कि पुरानो पुस्ताको सत्ता लिप्सा युवा विद्रोह निम्त्याउँछ।

नेपालमा पनि यही स्वरुपको आन्दोलनले उग्र रूप लिएको हो। नेपाली कांग्रेसका सभापति, जसको बलमा ओली प्रधानमन्त्री बनेका थिए, उनीहरूले पिटाइ खाए। तर ओलीलाई सेनाले बचाएर लुकाएर राखेर सुरक्षित स्थानमा पुर्‍याए पनि उनी अहिले नक्कली सरकार र नक्कली आन्दोलन भनेर हुंकार गरिरहेका छन्। यो हुंकारले मुलुकलाई संकटमा पार्न सक्छ।

एमालेका कार्यकर्ताहरू आफ्नो नेतृत्वको बोलिमा लगाम लगाउने र सजग हुन आवश्यक छ। नेपाली सेनाले जेनजी आन्दोलनलाई २४ घण्टाभित्र नियन्त्रणमा लिएर नेताहरूलाई सुरक्षित स्थानमा पुर्‍याउने र नागरिकको त्रासलाई भरोसामा बदल्ने काम गरेको छ। यसैले सात दिनमै राजनीतिक दलहरूले आन्दोलन गर्न सक्ने स्थिति बनेको हो। सेनाले नै भनिरहेको छ– सबै मिलेर निर्वाचनमा गएर राजनीतिक दलहरूबाट नै मुलुक चल्नुपर्छ। तर एमाले निर्वाचन होइन, संसद् पुनर्स्थापनाको पाटोमा लागेको छ। यो एमालेका लागि आत्मघाती हुन सक्छ।

एमाले निर्वाचनको पक्षमा अघि बढ्नु आवश्यक छ। यो जेनजी आन्दोलन कम्प्युटरको जेनेरेसनबाट बनेको नक्कली होइन, यो युवा शक्ति हो। जसले प्रश्न गर्न, तर्क राख्न सक्छ। पहिलेजस्तो चुप बस्ने पुस्ता होइन। यसैले दलहरूले ठूला कुरा गर्नुभन्दा आफू सुधारेर निर्वाचनमा जानु आवश्यक छ।

जेनजी पनि त्यही दलभित्रका व्यक्ति हुन्, बाहिरबाट आएका होइनन्। यसलाई सुधारेर अघि बढ्न सकिन्छ, अन्यथा मुलुक छोडेर भाग्नुपर्ने स्थिति आउन सक्छ। विश्वका यी उदाहरणहरूले यो कुरालाई पुष्टि गर्छन् कि युवा जागरणलाई बेवास्ता गर्दा नेताहरूको पतन निश्चित हुन्छ। नेताहरूले सही बाटो अपनाएको खण्डमा यो आन्दोलन लोकतन्त्रलाई मजबुत बनाउने अवसर पनि हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast