प्रदेश प्रमुखको कदमविरुद्ध विपक्षीहरू एकजुट, रणनीति बनाउन जुटे छलफलमा

हिमाल प्रेस २४ कार्तिक २०८२ १०:५४
12
SHARES
प्रदेश प्रमुखको कदमविरुद्ध विपक्षीहरू एकजुट, रणनीति बनाउन जुटे छलफलमा

काठमाडौँ- मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि विपक्षी आक्रोशित छन्। प्रदेश प्रमुख भण्डारीले असंवैधानिक कदम चालेको भन्दै आगामी रणनीति तय गर्न एमालेबाहेकका दलका नेताहरू छलफलमा जुटेका हुन्।

मधेश भवन परिसरभित्र मुख्यमन्त्री आवासमा जारी बैठकमा नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा, जनमत पार्टी, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलका नेताहरूबीच छलफल भइरहेको छ।

प्रदेश प्रमुखको कदमपछि उत्पन्न परिस्थितिबारे निर्णय गर्न सबै दलका नेताहरू छलफलमा जुटेको लोसपा मधेश प्रदेशका सचिव रामविनोद चौधरीले जानकारी दिए। ‘प्रदेश प्रमुखले संघीयता र संविधानको अस्मितासँग खेलवाड गर्नुभएको छ। चोरेर बर्दिवासको होटलमा मुख्यमन्त्रीको नियुक्ति भएको छ। यहाँसम्म कि सरकार गठनका लागि आह्वानसमेत भएको छैन,’ चौधरीले भने,‘दुनियाँको कुनै पनि लोकतान्त्रिक मुलुकमा नभएको काम प्रदेश प्रमुखबाट भएको छ। उहाँको यो कदमपछि कसरी अगाडि बढ्ने सन्दर्भमा निर्णय गर्न सबै दल छलफलमा जुटेका छन्।’

बिहान चार बजे महोत्तरी बर्दिवासस्थित होटल पानस पुगेर प्रदेश प्रमुख भण्डारीले एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेर सपथग्रहण गराएपछि मधेश प्रदेशको राजनीति तरंगित भएको छ।

लोसपा सचिव चौधरीले प्रदेश प्रमुखको यो कदम धोकामात्रै नभएर ‘चोरी’ रहेको बताए। उनले प्रदेश प्रमुखको यो निर्णयविरूद्ध कानुनीका साथै सडकबाट संघर्ष गर्ने उनको भनाइ छ।
‘प्रदेश प्रमुखको कदमविरूद्ध कानुनीका साथै सडकबाट संघर्ष गर्छौँ,’ उनले भने,‘सर्वदलीय बैठक बसिरहेको छ, बैठकले पनि सम्भवतः यही निर्णय गर्छ।’

विश्वासको मत प्राप्त गर्ने सम्भावना टरेपछि लोसपाबाट मुख्यमन्त्री बनेका जितेन्द्र सोनलले शनिबार राजीनामा दिएका थिए। त्यसपछि एमालेबाहेकका सबै दलका करिब ७५ सांसद आइतबार बिहान प्रदेश प्रमुख भण्डारीसँग भेटेर संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्न अनुरोध गरेका थिए।

प्रदेश प्रमुख भण्डारीले पनि सबै दलको भावनाअनुसार संविधानबमोजिम नै सरकार गठनका लागि आह्वान हुने आश्वासन दिएकी थिइन्। तर, सरकार गठनको आह्वान नै नगरी उनले सोमबार बिहान चार बजे बर्दिवासको होटल पुगेर एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिन्। साथै उनले तत्कालै मुख्यमन्त्रीको सपथग्रहसमेत गराएकी थिइन्।

प्रदेश प्रमुख भण्डारीले यस्तो कदम चाल्नसक्ने भन्दै सशंकित बनेका सबै दलका नेताहरू आइतबार रातभर मधेश भवनमै बसेका थिए। सोमबार बिहान साढे तीन बजे मधेश भवनस्थित निवासबाट बाहिर निस्कन खोजेपछि सबै नेता कार्यकर्ताहरूले प्रदेश प्रमुख भण्डारीलाई रोकेका थिए। तर, आफू बिरामी भएको र उपचारका लागि काठमाडौँ जान लागेको भनेपछि भण्डारीलाई उनीहरू मधेश भवन बाहिर निस्कन दिएका थिए। मधेश भवनबाट बाहिरिएर भण्डारीले बर्दिवासमा मुख्यमन्त्री नियुक्त गर्नुका साथै सपथ दिलाएकी थिइन्।

बर्दिवासमा मुख्यमन्त्री नियुक्त गरेकी भण्डारी मधेश भवनस्थित आफ्नो सरकारी निवासमा फर्किएकी छैनन्। त्यस्तै मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता यादव पनि पदभार ग्रहण गर्न कार्यालय आएका छैनन्।

प्रकाशित: २४ कार्तिक २०८२ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast