काठमाडौँ- नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच तीन अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
एआईजी ईश्वर कार्की, डीआईजी विश्व अधिकारी र प्राविधिक डीआईजी इञ्जीनीयर रामकुमार चौधरीलाई दर्ज्यानी चिह्न प्रदान गरियो। सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ज्येष्ठता, कार्यकुशलता, विधि एवम् पद्धतिका साथै व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनको आधारमा पदोन्नति भएको बताए।
उनले पदोन्नति भएका प्रहरी अधिकृतको नेतृत्वदायी भूमिका र नेतृत्व क्षमताबाट प्रहरी सेवामा प्रभावकारी योगदान पुग्ने विश्वास व्यक्त गरे। प्रहरी महानिरीक्षक कार्कीले मुलुक संवेदनशील अवस्थामा रहेकाले यस्तो अवस्थामा प्रहरी जनताको सेवामा समर्पित हुन आवश्यक रहेको उल्लेख गरे।
निःस्वार्थ सेवाभाव, शिष्ट व्यवहार, उत्कृष्ट आचरणलाई आत्मसात् गरी नागरिकको अपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने उनको भनाइ थियो। उनले प्रहरीप्रतिको नागरिक विश्वास अभिवृद्धि गर्न व्यावसायिक कार्यसम्पादनमा जोड दिई सेवा प्रवाहलाई थप चुस्त बनाउनसमेत निर्देशन दिए।




