काठमाडौँ- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो पहिलो म्याच जितेको छ।
भारतीय मूलका अमेरिकी खेलाडी हर्मित सिंहको अलराउन्ड प्रदर्शनले गत वर्षको उपविजेता सुदूरपश्चिमले बुधबार काठमाडौँ गोर्खाजलाई २९ रनको अन्तरले पराजित गरेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका ब्याटरहरूले सुखद सुरूवात गर्न सकेनन्।
शीर्ष र मध्यक्रम धारासायी बन्दा आठौँ नम्बरमा ब्याटिङ गर्न आएका हर्मितले अर्धशतकीय इनिङ खेले। २० बलमा ५३ रनको उनको आक्रामक ब्याटिङको मद्तले सुदूरपश्चिमले काठमाडौँसामू १४८ रनको लक्ष्य प्रस्तुत गर्यो। बलिङमा पनि उनले शानदार प्रदर्शन गरे।
काठमाडौँले १६.५ ओभरमा सबै विकेट गुमाएर मात्र ११८ रन बनाउन सक्यो। सहज जिततर्फ अगाडि बढिरहेको काठमाडौँका दुई खेलाडीलाई पवेलियन फर्काउँदै हर्मितले सुदूरपश्चिमलाई रोमाञ्चक जित दिलाए। उनले लगातार आकाश त्रिपाठी र मोहम्मद आदिल आलमको विकेट लिए। यहीँबाट काठमाडौँ ‘ब्याकफुट’ मा धकेलियो।
काठमाडौँका लागि आकाशले सर्वाधिक ३४ रन बनाए। बेन काल्र्सवर्थ ८, भीम सार्की १२, सन्तोष यादव, १, जौन सिम्पसन २४, मिलिन्द कुमार ११, आदिल शून्य, रासिद खान ६, सन्नी पटेल १० र करण केसी १ रन बनाएर आउट भए।
सुदूरपश्चिमका लागि हर्मित, स्कट कुगलेन, हेमन्त धामीले २–२ तथा इशान पाण्डे, नरेन साउद र अविनास बोहराले १–१ विकेट लिए।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो। सुदूरपश्चिमका ओपनरहरू जौस ब्राउन र विनोद भण्डारी शून्य रन बनाएर आउट भए।
सुदूरपश्चिमका लागि हर्मितले सर्वाधिक ५३ रन बनाए। त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ३९, आरिफ शेखले २५, इशान पाण्डेले ११ रन बनाए।
काठमाडौँका लागि कप्तान करण केसीले सर्वाधिक ४ विकेट लिँदा मिलिन्द कुमार, सन्नी पटेल र रासिद खानले २–२ विकेट निकाले।
बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।


