काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सोमबारबाट सुरु हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार अपराह्न चार बजे सुरु हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजले प्रतिस्पर्धा गर्नेछन्।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने छन्। लिगका ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा हुने क्यानले जनाएको छ। मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, तीनवटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौँ गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। एनपीएलको पहिलो संस्करण जनकपुर बोल्ट्सले हात पारेको थियो।
एनपीएलको सम्पूर्ण तयारी पूरा भइसकेको क्यानले जनाएको छ। डे नाइट एनपीएल सञ्चालनका लागि त्रिवि मैदानमा जडान भएका सबै ६ वटा फ्लडलाइटहरू सञ्चालनमा आइसकेका छन्। शुक्रबार क्यानको टोलीले फ्लडलाइट परीक्षण गरेको थियो।
क्यानले दोश्रो संस्करणमा विभिन्न स्पोन्सर, टिकट र अन्यमार्फत करिब ३० देखि ४० करोड रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरेको छ।
जसमा टिकट बिक्रीबाट मात्रै न्यूनतम ८ करोडदेखि अधिकतम १२ करोड रुपैयाँसम्म उठाउने लक्ष्य क्यानले राखेको छ। एनपीएलको उद्घाटन खेल घरमै बसेर हेर्न क्यानले आग्रह गरेको छ।
क्यानका सचिव पारस खड्काले भिडिओ सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका हुन्।
एनपीएलका टिकट खल्ती मार्फत बिक्री भइरहेको छ। क्यानले आठ हजारमात्रै टिकट बिक्री गर्न दिएको छ। करीब दुई हजार जति टिकट खेलाडीका परिवारजन, आयोजक र प्रायोजकका लागि राखेको छ।


