अब विश्वविद्यालयका कुलपति नियुक्ति खुला प्रतिस्पर्धाबाट

हिमाल प्रेस ८ मंसिर २०८२ १७:००
50
SHARES
अब विश्वविद्यालयका कुलपति नियुक्ति खुला प्रतिस्पर्धाबाट

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूको कुलपति खुला प्रतिस्पर्धाबाट चयन गर्ने कानुन  ल्याउन लागिएको जानकारी दिएका छन्। उनले कुलपति चयनमा आँखा नलगाउन प्रधानमन्त्रीसहित दलका नेताहरूलाई आग्रह गरेका छन्। मन्त्री पुनले विभिन्न विश्वविद्यालयका उपकुलपति, प्राध्यापक तथा मन्त्रालयका सचिवहरूसमक्ष विश्वविद्यालयमा प्रणालीगत सुधारको आवश्यकताबारे चर्चा गर्दै उक्त कुरा बताएका हुन्।

अहिलेको कानुनी व्यवस्थाअनुसार विश्वविद्यालयका कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री हुने व्यवस्था छ। मन्त्री पुन यस्तो व्यवस्था हटाउने पक्षमा छन्। उनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त राख्न खुला प्रतिस्पर्धाबाट कुलपति नियुक्तिको कानुन ल्याउन लागिएको बताए।

मन्त्री पुनले प्रधानमन्त्री सुशीला कार्कीलाई आफूले ‘तपाईँ कतिवटा विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ थाहा छ? भनेर सोध्दा, प्रधानमन्त्रीले ‘थाहा नै हुँदैन’ भनेर जवाफ दिएको कार्यक्रममा सुनाए। मन्त्री पुनले यसैलाई उदाहरण दिँदै भने, ‘कुलपतिले आफू कुन–कुन विश्वविद्यालयको नेतृत्वमा छन् भन्ने थाहा नै नभएमा संस्था कसरी चल्छ?’

उनले वर्तमान सरकारको अवधि ६ महिनामध्ये ४ महिना मात्रै बाँकी रहेको र सीमित समय तथा प्रक्रियागत जटिलताले आवश्यक सुधार अघि बढाउन कठिनाइ पनि भएको बताए। ‘कुलपति छान्ने काममा सरकारको आँखा नलागोस् भन्ने कुरा गाह्रो छ,’ मन्त्री पुनले भने। योग्य व्यक्तिलाई पहिचान गर्ने कुनै ‘यान्त्रिक मापन’ नभएकाले अनुहार हेरेर वा राजनीतिक समीकरण मिलाएर नियुक्ति गर्ने गलत अभ्यास बढेको उनको भनाइ छ।

राजनीतिक हस्तक्षेप कम गर्ने उपायबारे बोल्दै मन्त्री पुनले भने, ‘विश्वविद्यालयमा राजनीतिकरण रोक्न चाहिन्छ भने कुलपति स्वच्छ, प्राज्ञिक र सक्षम हुनैपर्छ। नेतृत्व योग्य भए मात्र संस्थागत सुधार सम्भव छ।’

मन्त्री पुनले प्रधानमन्त्रीमाथि कुलपतिको पगरी गुथाउने चलन हटाउनुपर्ने धारणा राखे। ‘नेपालमा पहिला त्रिभुवन विश्वविद्यालय मात्रै थियो, त्यतिबेला राजा–महाराजा नै कुलपति बन्ने चलन थियो। त्यो परम्परा आज पनि दोहोरिँदै छ,’ उनले भने।

शिक्षामन्त्री पुनले विश्वविद्यालयहरूको वित्तीय संरचना सुधार आवश्यक भएको बताउँदै पुँजीगत खर्चको एक प्रतिशत रकम वार्षिक रूपमा शिक्षा क्षेत्रमा छुट्ट्याउने व्यवस्था कायम रहनुपर्ने बताए। ‘म मन्त्रीबाट हटे पनि यो बजेट निरन्तर आउनुपर्छ,’ उनले भने।

नेपालका विश्वविद्यालयहरू सम्बन्धन वितरणमै बढी केन्द्रित देखिन थालेको भन्दै मन्त्री पुनले गुणस्तरभन्दा संख्यामा ध्यान गएर प्रतिस्पर्धा भइरहेको बताए। देशभरका ५०५ क्याम्पसमध्ये १०० जनाभन्दा कम विद्यार्थी रहेको धेरै क्याम्पस अस्तित्व संकटमा परेको बताउँदै उनले यसको वास्तविक कारण पहिचान गर्न अनुरोध गरे। ‘कतिपय क्याम्पसहरू त बन्द भइसके,’ कार्यक्रममा उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast