कांग्रेसमा सर्वसम्मतिबिना कार्यसमिति बैठक हुँदैन : कार्यवाहक सभापति खड्का

हिमाल प्रेस १२ मंसिर २०८२ ९:२८ | Friday, November 28, 2025
18
SHARES
कांग्रेसमा सर्वसम्मतिबिना कार्यसमिति बैठक हुँदैन : कार्यवाहक सभापति खड्का

काठमाडौँ- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनको मितिबारे सहमति नहुँदासम्म केन्द्रीय कार्यसमिति बैठक नबोलाउने बताएका छन्। शुक्रबार बोलाउने भनिएको बैठक आइतबारका लागि सारिएपछि खड्काले बिहीबार एक्समा लेख्दै सो कुरा बताएका हुन्।

‘बैठक स्थगित गर्नु परेकामा सबैसँग माफी चाहन्छु। सबै आलोचना ममै केन्द्रित गर्नुस्। सहमति नजोडिँदासम्म म कार्यवाहक अध्यक्ष रहेको समयभर बैठक स्थगित गर्न बाध्य हुनेछु,’ खड्काले एक्समा लेखेका छन्।

कांग्रेसमा महाधिवेशनको समयलाई लिएर तीव्र मतभेद देखिएको छ। दुई महामन्त्रीसहितको असन्तुष्ट पक्षले आगामी फागुन २१ गते हुने निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्। उनीहरूले नयाँ नेतृत्वबाट प्राप्त हुने जनम्यान्डेटसहित जनतामाझ जानु पार्टीका लागि ऊर्जाशील हुने तर्क गरेका छन्।

तर,संस्थापन नेताहरूले भने निर्वाचनअघि महाधिवेशन गर्न खोजिएमा आन्तरिक द्वन्द्व अझ चर्किने र चुनावी प्रदर्शन कमजोर हुने जिकिर गर्दै निर्वाचनपछि सम्भव भए वैशाखमा महाधिवेशन गर्नु उपयुक्त हुने बताइरहेका छन्।

यसैबीच, कांग्रेस महाधिवेशन प्रतिनिधिमध्ये आधाभन्दा धेरै सदस्यले विशेष अधिवेशन बोलाउन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा आवेदन बुझाइसकेका छन्। पार्टी विधानअनुसार महाधिवेशन सदस्यको ४० प्रतिशत हस्ताक्षरसहितको वैध माग आएपछि तीन महिनाभित्र विशेष अधिवेशन आह्वान गर्नुपर्छ। यो तीन महिनाको अवधि पुस-माघतिर समाप्त हुँदैछ।

प्रकाशित: १२ मंसिर २०८२ ९:२८ | Friday, November 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast