उरमाल भनेको चिया बगानमा टिपेको चियापत्ती हालेर महिलाले काँधमा बोक्ने एक किसिमको झोला हो। उपन्यास ‘उरमाल’ का लेखक छुदेन काविमोले त्यो शब्दलाई झोली भनेका छन्। झोली सानो आकारको हुन्छ। ‘उरमाल’ १०–२० केजी चियापत्ती अटाउने ठूलो झोला हो। यही झोलालाई स्थानीय भाषामा झोली भनिँदो रहेछ।
नेपाली भाषामा थपिएको अर्को एउटा शब्द उरमाल। भाषा भनेको आफैँमा पूर्ण हुने चिज होइन न त यो सर्वकालिक एकै ढर्रामा चल्छ। यसको मौलिक रूप एकै रहे पनि समय र ठाउँको गतिशीलतासँग तादात्म्य राख्दै जाँदा सामान्य रूप परिवर्तन हुँदै जान्छ। प्रस्तुत उपन्यासमा पनि त्यसको आधिक्य बग्रेल्ती देखिन्छ। मेचीवारि र पारिको भाषिक अन्तर ठम्याउन यही एउटा उपन्यास पढे पुग्छ।
नेपाली भाषासाहित्यको उन्नयनमा मेचीपारिका साहित्यकारले ठूलो गुन लगाएका छन्। यसको श्रीवृद्धिमा इँटा थपेर उचाइ बढाएका छन्। अग्रणी साहित्यकारहरू सुधपा नेपाली भाषासाहित्यका पुजारी भए र विशिष्ट स्थान बनाउन सफल भए। त्यसपछि पनि उनीहरूको पदचिह्न पछ्याउँदै इन्द्रबहादुर राई, शिवकुमार राई, विष्णुकुमारी वाइबा (पारिजात), देवकुमारी थापाहरूले आआफ्नो स्थानबाट विशिष्ट योगदान गरे। अहिले पनि छुदेन काविमोजस्ता लेखक लागिपरेका छन्। त्यसप्रति अनुगृहित हुनुपर्छ। सबै उदीयमान लेखक, गायक, संगीतकारजस्ता कलाका साधक र साहित्यका उपासकहरूप्रति मेचीपश्चिमका हामी आभार र आदर प्रकट गर्दछौँ।
कुरा आभार र आदरको मात्र होइन। भाषिक प्रयोग र मानकको पनि हो। नेपाली भाषा कता जाँदै छ? भाषाको बनावट र व्याकरणमा नेपालभित्रै र बाहिरबाट समेत समयसमयमा अतिक्रमण गर्ने प्रयास भइरहेको कुरा घामजत्तिकै छर्लंग छ। देवनागरी लिपिभित्र रहेका केही वर्णमालाका अक्षर नचाहिने गरी उल्ट्याउने प्रयास पनि भएकै हो। ज्ञ, श, ञ, लगायतका केही वर्णको काम छैन भनेर अभियान चलाउने पनि यही भूगोलमा छन्।
छुदेन काविमोद्वारा लिखित उपन्यास ‘उरमाल’ अनेक कथाका फुर्का जोडेर लेखिएको भए तापनि मूलतः यो चिया बगानमा काम गर्ने गरिब मजदुरको कथा हो। नेपाली र आदिवासीबीचको सम्बन्ध, मेल र बेमेलको कथा पनि हो। कथाहरूलाई तन्काएर लामो पट्यार लाग्ने गरी ३७१ पृष्ठ बनाइएको छ। उपन्यासमा घरीघरी एकै किसिमका विवरण आइरहन्छन् जसले पाठकलाई अब के होला भन्ने किसिमको खुल्दुली पैदा गर्न सक्दैन। कथाको विषयवस्तु राम्रो छ। लेखाइमा लेखकको बौद्धिकता झल्किन्छ तर पाठकलाई आकर्षण गर्न सकेको छैन। कतै गरिबी, कतै राजनीति, कतै इतिहास न हाँस न बकुलोको अवस्था देखिन्छ उपन्यासको घटना विवरण।
‘उरमाल’ पढ्दै गर्दा यसभित्र देखिएका केही शब्द विन्यास र क्रियापदको अवस्था देख्दा कि त आफू अनभिज्ञ भएको, कि भने भाषामाथि छेडखानी गर्न प्रयास भएको भन्ने लागेको छ। अझ यो पुस्तक नेपाली साहित्यका प्रकाण्ड विद्वान्मण्डलीको परीक्षणबाट उत्तीर्ण मात्र नभई सर्वोत्कृष्ट घोषणा भएर पुरस्कृत भएको अवस्था छ। उदेकलाग्दो त के भने यो पुरस्कार एउटा अग्रणी संस्था मदन पुरस्कार गुठीबाट प्रदान गरिएको छ।
स्थानीय लवजलाई उच्चारणसहित उल्लेख गर्दा देखिने मिठास र लेखकका तर्फबाट जोडिने वाक्यांशको भिन्नता त हुन्छ नै। अर्थात् उद्धरण गरिएका वाक्यांशपछिको विवेचनामा वैयाकरणीय शुद्धता खोज्छ। प्रस्तुत उपन्यासलाई प्रकाशन गर्नुपूर्व लेखकले पाण्डुलिपि दसतिर दौडाएर यसको परिमार्जन गर्न प्रयास गरेका छन्, जो प्रशंसनीय छ। भाषासम्पादनको काम भने भूमीश्वर पौडेलले गर्नुभएको छ। खै उहाँले के गर्नुभयो? प्रकाशकले पनि पढेर नै प्रकाशन गरेका होलान्। अनि के यस किसिमको लेखनमा सबैको सहमति हो त? म अबुझ सठलाई जान्ने हुन किन परेको होला भनेर आफैँ गम खाँदै छु।
यसभित्र परेका केही शब्द तथा वाक्यांश हेरौँ :
‘मेले किन मन छोट्का गर्ने?’, ‘तँहरूले’, ‘थिएछु रे’, ‘मैले के पायो?’, ‘दिदी पनि खुसी हुन्छ’’, ‘हँसियाको बेडमा’, ‘थिएछ र’, ‘बोतल हालेको थेछ’, ‘आजु बुझ्दै थिए’, ‘एक दिन माध्यमिक लेख्नेछ’, ‘फरेष्टकोहरू’, ‘थिएछन्’, ‘चितुवाले लगिदियो’, ‘चामलधरि सकिएर टुमटुम हुन लागेको थियो’, ‘हुन्छै, हुन्छु’, ‘मान्छे जहाँ धेरै हुलमेल भयो, त्यहिको हुने रहेछ’, ‘यसरी जे पायो त्यै बोलिस् भने तेरो टाउको लेस खोलामा होला’, ‘तै पनि दलबहादुरले सिपिएम गरिरहे’, ‘म अब यस्तो भ्रष्टहरूको पाटी चाहिँ कहिल्यै गर्दिनँ’, ‘हाउडामा किन टाउको दुखाइबस्छस्’, ‘बोल्नु मुरुक डर लाग्छ’, ‘नयाँ संस्कृति बनिएर जानेछ’, ‘खाल्डैखाल्डो भएको सडक कटेपछि’, ‘घरमा टिभी हेर्नु नै गयो होलाउ’, ‘हुन्थेछ’, ‘चप्लेटी ढुङ्गा’, ‘हाडनाल नै यै बगानमा गाडिएको छ।’, ‘अव पिएफ बाउ बनिहाल्यो’, ‘त्योहरू’, ‘मेरो पैसा कहिले पस्छ हँ, पिएफ बाउ?’, ‘कत्तै जाँदैन म चै’, ‘तर मालिकसंग जुरी खेल्न सहज छ र?’।
‘रुख बाङ्गो हो कि गर्धन चिलाएको हो, रुख त बाङ्गै देख्छु, महाराज!’ भन्थ्यो रे कसैले। पुरस्कृत उपन्यास आधाआधीसम्म पढ्दै जाँदा खासै ध्यान दिएको थिइनँ। तर यो तँहरू, त्योहरू, हुन्थेछ, थिएछन्, जस्ता शब्दहरूको प्राचुर्य देखेपछि भने भाषामा भाइरस पसेको त हैन भनेर झस्किएँ। भाषाविद्हरू नै जान्दछन् या त ब्याकरणविदहरूले भनून् भाषाको समृद्धि यसै गरी हुने रहेछ कि? जानेर लेखेको होइन नबुझेर लेखेको हुँ। कसैले त भनिदेला नि। गुठीका गुठीयार मतियार भए पनि अंशियारहरू अरू पनि होलान् र केही त बोल्लान् नि।




