नेपाल वेद विद्याश्रम ५२ औँ वर्षमा, शिक्षक-कर्मचारीको छैन पेसागत सुरक्षा

हिमाल प्रेस १५ कार्तिक २०८२ २१:००
16
SHARES
नेपाल वेद विद्याश्रम ५२ औँ वर्षमा, शिक्षक-कर्मचारीको छैन पेसागत सुरक्षा

काठमाडौँ- नेपाल वेद विद्याश्रमले शनिबार ५२ औँ वार्षिकोत्सव मनाएको छ। वनकालीस्थित विद्याश्रमको प्रांगणमा एक समारोह आयोजना गरी वार्षिकोत्सव मनाइएको हो। कार्यक्रममा प्रमुख अतिथि श्री १००८ स्वामी डा. केशवानन्द गिरीज्यूबाट पुरस्कार वितरण तथा उद्बोधन भएको थियो। उहाँले हाम्रो सनातन संस्कृति र सभ्यताको संरक्षण र संवर्धनका लागि संस्कारयुक्त गुरुकुल शिक्षाको महत्त्व बढ्दै गएकाे बताउनुभयो। उहाँले संस्कृत पढेका व्यक्तिहरू संसारको जुनसुकै कुनामा गएर पनि काम गर्न सक्ने भएकाले आफूले पढेको विद्यामा स्थिर रहन विद्यार्थीहरूलाई निर्देशन दिनुभयो।

कार्यक्रममा संस्कृत शिक्षाको संरक्षण, संवर्धन र विकास गर्ने हेतुले स्थापित विनाजा पुस्कार विद्यालयका छात्र अञ्जन ढुंगललाई प्रदान गरिएको छ। ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार उनलाई राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित उत्तरमध्यमामा संस्कृततर्फ सर्वोत्कृष्ट अंक प्राप्त गरेबापत प्रदान गरिएको हो। यसैगरी वार्षिक परीक्षा, वक्तृता, खेलकुद आदि अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृत गरिएको थियो।

नेपाल वेदविद्याश्रमका पूर्वप्रधानाध्यापक विष्णुप्रसाद पोखरेलबाट स्वागत मन्तव्यसहित आरम्भ भएको कार्यक्रममा विद्याश्रमका प्रधानाध्यापक केशवप्रसाद अधिकारीले आश्रमका वार्षिक गतिविधिमाथि प्रकाश पारेका थिए।

यसैगरी वाल्मीकि विद्यापीठका पूर्वप्राचार्य प्रा.डा. भागवत ढकाल र विद्यालयका पूर्वाध्यक्ष प्रा.डा. रामप्रसाद दाहालबाट शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का कार्यवाहक सदस्यसचिव एवम् विद्यालय सञ्चालक समितिका अध्यक्ष सुवासचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो।

नेपाल वेदविद्याश्रम २०३१ मा स्थापना भएको हो। सुरुमा गुठी संस्थानबाट सञ्चालित विद्याश्रम केही वर्ष विश्वहिन्दु महासंघ मातहत सञ्चालनमा रह्यो। महासंघले चलाउन नसकेपछि फेरि संस्थानबाट सञ्चालित विद्याश्रम २०५६ मा पशुपति क्षेत्र विकास कोषले आफ्नो गुरुयोजनाअनुसार सञ्चालन गर्न थालेको हो। गुरुयोजनाअनुसार सञ्चालन भए पनि विद्याश्रमको भौतिक पूर्वाधार जीर्ण छ। विद्याश्रमका वटुकहरू टहरामा बसेर पढ्न बाध्य छन्।

अहिलेसम्म त्यहाँ कार्यरत शिक्षकको पेसागत स्थायित्व हुन सकेको छैन। विद्याश्रममा २०५६ अघि नियुक्त भएका प्रधानाध्यापक अधिकारी मात्रै स्थायी छन्। अन्य २४ जना शिक्षक कर्मचारी करार सेवामा कार्यरत छन्। उनीहरूको ६-६ महिनामा म्याद थप हुँदै आएको छ। २०५६ देखि विद्यालयमा मासिक ज्यालादारी, आंशिक करार र करारमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको स्थायित्व एवं वृत्तिविकासका कार्य भएका छैनन्। पेसागत स्थायित्वका लागि विगतमा शिक्षकहरूले पटकपटक आमरण अनशनसम्म गर्दै आए पनि कोषले सुनुवाइ गरेको छैन।

कक्षा ४ देखि १२ सम्म पढाइ हुने विद्यालयमा आवासीय रूपमा १०९ र त्यत्ति नै संख्यामा बाहिरबाट आउने विद्यार्थीले अध्ययन गरिरहेको आश्रमले जनाएको छ।

यो विद्यालय देशका अरू गुरुकुलहरूभन्दा प्रतिष्ठित मानिन्छ। दैनिक कामकाजका लागि विद्याश्रम आर्थिक रूपमा कोषमा निर्भर छ। विद्याश्रमले २०६२ देखि अंग्रेजी विषय पहिलोपटक पाठ्यक्रममा समावेश गरेको थियो। २०७२ सालसम्म पुग्दा कक्षा ९ र १० का विद्यार्थीलाई अंग्रेजी ऐच्छिक विषय थियो तर २०७३ पछि ९ र १० कक्षामा अंग्रेजी अनिवार्य बनाइएको छ।

संस्कृत पढेका मन्त्री र कार्यकारी निर्देशकबाटै उपेक्षा

नेपाल वेदविद्याश्रम पशुपति क्षेत्र विकास कोष मातहत सञ्चालित छ। कोष संस्कृति मन्त्रालयअन्तर्गत पर्दछ। यसअघि संस्कृतिमन्त्री रहेका बद्रीप्रसाद पाण्डेले विद्याश्रमको शैक्षिक एवम् भौतिक विकासका कुनै चासो नदिई बिदा भएको गुनासो शिक्षक-कर्मचारीको छ। पूर्वमन्त्री पाण्डे उच्चशिक्षासम्म संस्कृत पढेका व्यक्तित्व हुन्। मन्त्री भएका बेला आफ्नै दलका सांसदले आलोचना गर्दा उनले वेदविद्याश्रमकै प्रांगणमा भाषण गर्दै आफूले निष्ठाको राजनीतिक गरेको दाबी गरेका थिए।

‘पाण्डेको कार्यकालमा वेदविद्याश्रमको विकासमा केही काम थालनी होला कि भन्ने आशा थियो। तर उनी पनि अरू मन्त्रीजस्तै भाषणमात्रै गरेर बिदा भए’, विद्याश्रमका एक कर्मचारीले भने। पाण्डेले वेदविद्याश्रमको पूर्वाधार निर्माण र शिक्षक कर्मचारीको वृत्ति विकासमा कुनै चासो नदिएको गुनासो आश्रमका शिक्षकहरूको छ।

यसैगरी राजनीतिक दलको फेरो समातेर पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक रहेका घनश्याम खतिवडाले पनि वेद विद्याश्रमको संवर्धनमा चासो नदिएको शिक्षकहरू बताउँछन्। खतिवडा एमाले नेता योगेश भट्टराई संस्कृतिमन्त्री हुँदा कार्यकारी निर्देशक भएका थिए। उच्चशिक्षासम्म संस्कृत पढेका खतिवडाले पनि वेदविद्याश्रमको श्रीवृद्धिमा सिन्कोसमेत नभाँचेको गुनासो शिक्षकहरूको छ।

 

प्रकाशित: १५ कार्तिक २०८२ २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast