बंगलादेशी माछाको प्रदर्शनी

नेपाल-बंगलादेश सम्बन्ध माछा-दाल-भात : राजदूत रहमान

हिमाल प्रेस १२ मंसिर २०८२ २१:३२
16
SHARES
नेपाल-बंगलादेश सम्बन्ध माछा-दाल-भात : राजदूत रहमान

काठमाडौँ- नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफीकुर रहमानले नेपाल र बंगलादेशबीचको साझा संस्कृतिमा खाना पनि रहेको बताएका छन्। ‘नेपालीहरू दालभात र बंगलादेशीहरु माछा-भात अनि साझा भएको छ माछा–दाल–भात। यही हो हाम्रो सहकार्य र सम्बन्ध,’ उनले भने, ‘हामी संस्कृतिमा होस् या क्षेत्रीय सहकार्य र व्यापारिक साझेदारीको विस्तारमा छौँ। हातेमालो गरेर अघि बढ्नपर्छ। हाम्रो यही संस्कृति हो।’

दक्षिण एसियाली मुलुक बंगलादेशको काठमाडौँस्थित दूतावासले आज (शुक्रबार) आफ्नै परिसरमा ‘बंगलादेश फिस फेस्टिभल २०२५’ लाई सम्बोधन गर्दै राजदूतले यस्तो धारणा राखेका हुन्। नेपाल र बंगलादेशका राष्ट्रिय गानबाट सुरु गरिए पनि यो दुई मुलुकलाई मात्र नभएर विश्वलाई जोड्नका लागि भएको प्रयासको एक सानो उदाहरण बंगलादेशका राजदूतले प्रस्तुत गरेका हुन्।

राजदूत रहमानले बंगलादेशको समृद्ध र परम्परागत मत्स्य क्षेत्रबारे प्रकाश पार्दै यस महोत्सवलाई बंगलादेशको नदी सभ्यता र सांस्कृतिक सम्पदाको प्रतीकका रूपमा व्याख्या गरेका थिए। बंगलादेशको भूगोल र हजारौँ खोलानदीले देशलाई मिठोपानी र समुद्री माछाको विविधताले भरिपूर्ण बनाएको छ, जसले माछालाई संस्कृतिको अभिन्न अंग, जीविका र राष्ट्रिय पहिचानको प्रतीक बनाएको पनि उनले बताए।

विश्वभर बंगलादेशी खानाको स्वाद, ताजापन र विशिष्टताका लागि ख्याति रहेको उल्लेख गर्दै उनले एक्वाकल्चर, समुद्री माछा र क्रस्टेसियन उत्पादनमा बंगलादेशले उल्लेखनीय प्रगति गरेको जानकारी दिए। चार महिनाअघि राजदूतको रुपमा आएका उनले यस महोत्सवलाई सांस्कृतिक उत्सव मात्र नभई क्षेत्रीय सहकार्य र व्यापारिक साझेदारी विस्तारको एक सानो प्रयासको रूपमा पनि व्याख्या गरे।

यस महोत्सवमार्फत् बंगलादेशको मत्स्य क्षेत्रको विविधता प्रदर्शित हुनुका साथै नेपालमा बंगलादेशी माछा तथा समुद्री उत्पादनको बढ्दो बजार सम्भावनाको खोजी गर्ने उद्देश्य पनि राखिएको त्यहाँ रहेको प्रदर्शनीबाट बुझ्न सकिन्थ्यो।

दिगो मत्स्यपालन, गुणस्तरीय जलचर उत्पादन र समुद्री प्रशोधन क्षेत्रमा बंगलादेशको विशेषज्ञता प्रवर्द्धन गर्दै नेपाली आयातकर्ता र आतिथ्य क्षेत्रका व्यवसायी तथा बंगलादेशी निर्यातकर्ताबीच सहकार्य बढाउने लक्ष्य लिइएको पनि त्यहाँको प्रदर्शनीबाट प्रस्ट हुन्छ।

कार्यक्रममा पाहुनाहरूलाई परम्परागत र आधुनिक शैलीमा तयार गरिएका बंगलादेशी विशिष्ट खाना, जुस, पानी, मिठाइका साथै समुद्री परिकारहरू पस्किइएको थियो। मुख्य आकर्षणका रूपमा ‘स्मोक्ड हिल्सा ‘हड्डीरहित’ र ‘तोरी हिल्सा’ प्रस्तुत गरिएको थियो। साथै कटला करी, ग्रिल्ड लोब्स्टर, ग्रिल्ड रेड स्न्यापर, फ्राइड सिल्भर पम्फ्रेट र श्रिम्प टेम्पुरा लगायतका परिकारहरूले दर्शकको ध्यान आकर्षित भएको थियो।

लामो जुँगे बगरमाछा र हेलिकप्टर क्याटफिसबाट बनेका परिकारहरूले थप स्वाद र विविधता पस्किए भने सम्पूर्ण परिकारहरूले बंगलादेशको समृद्ध पाककला र मत्स्य परम्परालाई प्रतिबिम्बित गरेको थियो। त्यही पकाएर यस्ता परिकार पस्किएका हुन्।

यो अघि अर्थात् गत सोमबार दूतावासले ताजा र समुद्री माछाको प्रदर्शनी आयोजना गरेको थियो, जसमा नेपाली आतिथ्य क्षेत्रका व्यवसायी र आयातकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। दूतावास परिसरलाई बंगलादेश पर्यटन बोर्डका रंगीन पोस्टरहरूद्वारा सजाइएको थियो, जसले देशको समृद्ध सांस्कृतिक सम्पदा र गौरवशाली परम्परा झल्काएको थियो। साथै जुलाई जनआन्दोलनसम्बन्धी पोस्टरहरूले ‘बंगलादेश-२’ तर्फको यात्रा-उदार लोकतन्त्र, मानवअधिकार, भ्रातृत्व र न्यायको सन्देश समेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा काठमाडौंमा रहेका विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरू, बंगलादेश र नेपाल सरकारका उच्च अधिकारीहरू, व्यवसायी, थिंक ट्यांक तथा नागरिक समाजका प्रतिनिधि, लक्जरी होटलका प्रबन्धक तथा कार्यकारीहरू, सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाल थिए। सचिव बाहिर हुनाले उनी कार्यवाहक सचिवको रूपमा आएका थिए। बंगलादेशको यस्तो नवीन पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले नेपाल र बंगलादेशबीच सांस्कृतिक सेतु मजबुत बनाउने र आर्थिक, व्यापारिक तथा जनस्तरको सम्बन्ध प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने उनले बताए। द्विपक्षीय सहकार्य अब जनसम्पर्क, व्यापार, आवागमन, ऊर्जा र लगानीमार्फत अझ गहिरो हुँदै गएको र मत्स्यपालन, एक्वाकल्चर तथा खाद्य सुरक्षाको क्षेत्रमा पनि थप सहकार्यका प्रशस्त सम्भावना रहेको पनि बताए।

काठमाडौंस्थित बंगलादेश दूतावासले विश्व समुदायसमक्ष बंगलादेशी माछाको प्रवर्द्धन गर्ने उद्देश्यले यति ठूलो स्तरमा यस्तो कार्यक्रम पहिलोपटक आयोजना गरेको हो। कार्यक्रममा १ सय ५० भन्दा बढी अतिथिको उपस्थिति रहेको थियो।

प्रकाशित: १२ मंसिर २०८२ २१:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast