काठमाडौँ- एनसेलले सोमबारबाट सुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई थप उत्साहपूर्ण बनाउन ‘एनपीएल फ्यान प्याक’ सार्वजनिक गरेको छ। दोस्रो संस्करणको एनपीएल अवधिभर उपलब्ध हुने यी प्याकमार्फत ग्राहकहरूले विभिन्न वान टाइम तथा रिन्यूवल प्याक किन्दा अतिरिक्त बोनस सेवा निःशुल्क पाउनेछन्।
कम्पनीले फ्यान प्याकहरू कात्तिक २९ गतेदेखि लागू हुने र मंसिर २७ गतेसम्म सञ्चालनमा रहने जनाएको छ। अफरअनुसार प्याकको प्रकारअनुसार ग्राहकले २५ देखि ५० मिनेटसम्म अन–नेट कल, निःशुल्क टिकटक, निःशुल्क युट्युब, ७५० एमबी वा १ जीबी डेटा जस्ता एक दिनका लागि मान्य बोनस सुविधा पाउनेछन्। यसमार्फत ग्राहकले नियमित प्याक सुविधाबाहेक थप लाभ लिन सक्नेछन्।
बोनस सुविधासँगै ग्राहकहरूले एनसेल एपमार्फत स्पिन एन्ड विनमा सहभागी भई थप बोनस सेवा तथा एनपीएल खेलको टिकट जित्न सक्नेछन्। एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपङ्ग दत्तका अनुसार एनपीएल फ्यान प्याकले नेपाली क्रिकेट फ्यानमा उत्साह थप्नेछ।


