सामुदायिक विद्यालयमा सुधार सम्भव छ भन्ने उदाहरण कञ्चनपुरको नन्द मावि

हिमाल प्रेस २३ कार्तिक २०८२ १६:११
38
SHARES
सामुदायिक विद्यालयमा सुधार सम्भव छ भन्ने उदाहरण कञ्चनपुरको नन्द मावि

कञ्चनपुर- कृष्णपुर नगरपालिका-३, देखतभूलीस्थित नन्द माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारलाई मुख्य एजेण्डा बनाएर नमुना विद्यालयका रूपमा स्थापित गर्ने अभियान अघि बढाएको छ। विद्यालयले ‘हामी बनाउँछौँ विद्यालय’ भन्ने नारासहित शिक्षक, विद्यार्थी र समुदाय सबैलाई सहभागी गराउँदै सकारात्मक रूपान्तरणको नमुना प्रस्तुत गरेको छ।

विद्यालयले हालै लागु गरेको ४० बुँदे आचारसंहिताले शिक्षण वातावरणमा उल्लेखनीय सुधार ल्याएको छ। शिक्षक र विद्यार्थी दुवैका लागि अनुशासन, समयपालन र पोसाक अनिवार्य गरिएको छ।

प्रधानाध्यापक भुवन पन्तका अनुसार ढिलो आउने शिक्षक वा विद्यार्थीलाई स्पष्टीकरण सोधिने, बाहिरी व्यक्तिको प्रवेशमा पालेद्वारा नियन्त्रण, मोबाइल फोन प्रयोगमा प्रतिबन्ध र दुई दिनभन्दा बढी अनुपस्थित विद्यार्थीका अभिभावकलाई जानकारी दिने प्रणालीले विद्यालयमा उत्तरदायी संस्कार स्थापित गरेको छ।

शैक्षिक गुणस्तर सुधारमा विद्यालयले प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ। प्रत्येक कक्षामा स्मार्ट बोर्ड र एलसिडी बोर्ड जडान गरिएको छ। साथै ‘एक शिक्षक, एक ल्यापटप’ अभियानमार्फत सबै शिक्षकलाई डिजिटल माध्यममा पढाउने तयारी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक खत्रीले बताए।

विद्यालयमा जडान गरिएका २५ वटा सिसीटिभी क्यामेराले सुरक्षा र अनुशासन दुवै सुनिश्चित गरेको छ। विज्ञान प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब सञ्चालनमा छन्। कक्षा ८ देखि १० सम्मका विद्यार्थीका लागि कम्प्युटर शिक्षा अनिवार्य विषयका रूपमा लागु गरिएको छ।

विद्यालयमा ३२ शिक्षक तथा कर्मचारी कार्यरत छन्। जसमा आठ निजी स्रोतबाट नियुक्त छन्। ती शिक्षकको तलब विद्यालयकै चार बिघा जग्गा भाडामा दिएर प्राप्त हुने आम्दानीबाट व्यवस्थापन गरिएको छ।

त्यस्तै, विद्यालयको जग्गा खानेपानी आयोजनाका लागि उपलब्ध गराइएको छ। त्यसबाट प्राप्त महसुलको ५० प्रतिशत रकम विद्यालयमा जम्मा हुन्छ। यसले विद्यालयलाई आर्थिक स्वावलम्बन र स्रोत परिचालनमा आत्मनिर्भर बनाएको छ।

तीन वर्षअघि करिब २५० विद्यार्थी रहेको विद्यालयमा हाल विद्यार्थी संख्या एक हजार बढिरहेको छ। विद्यालयका अनुसार पछिल्ला वर्षमा एसइई नतिजा र कक्षा ११-१२ भर्ना दुवै उत्साहजनक छन्। ‘हाम्रो लक्ष्य अब ८० प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा उत्कृष्ट बनाउने हो’, अध्यक्ष खत्रीले भने, ‘कमजोर विद्यार्थीका लागि नि:शुल्क अतिरिक्त कक्षा सञ्चालन गर्दैछौँ।’

पुराना पाँच विद्यालय भए पनि विद्यार्थी संख्या अधिक हुँदा समस्या हुने गरेको थियो। विद्यालयमा तीन नयाँ भवन निर्माणसँगै पठनपाठन सहज भएको छ। विद्यालयमा खानेपानी, शौचालय, फर्निचर, विज्ञान प्रयोगशाला र पुस्तकालयको पर्याप्त व्यवस्था गरिएको छ। विद्यालय परिसरमा इको-पार्क र खेलमैदान निर्माणको योजना अघि बढाइएको छ।

नगर प्रमुख हेमराज ओझाको पहलमा विद्यालय परिसरमा माटो भरान कार्य सम्पन्न गरिएको छ। त्यसले वर्षाको समयमा हुने जलमग्नताको समस्या समाधान गरेको छ। वडाध्यक्ष खेम चौधरीका अनुसार वडा कार्यालयले पूर्वाधार र गुणस्तर सुधारका लागि सहयोग गर्दै आएको छ।

२०४८ सालमा स्थापना भएको विद्यालय अहिले कृष्णपुर, लालझाडी र शुक्लाफाँटा नगरक्षेत्रका विद्यार्थीका लागि प्रमुख सामुदायिक शिक्षालयका रूपमा विकसित हुँदै गएको छ।

भौगोलिक विकटता र यातायातको समस्या समाधानका लागि नगरपालिकाले विद्यालयलाई बस उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। विद्यालयको प्रगतिमा स्थानीय तह, शिक्षक, अभिभावक र विद्यार्थीबीचको साझेदारी र प्रतिबद्धता मुख्य कारक बनेको छ। यी सुधारका पहलले विद्यालयलाई केबल अनुशासन र प्रविधिमा मात्र होइन, शिक्षाको गुणस्तर, उत्तरदायित्व र आत्मनिर्भरताका दृष्टिले पनि नमुना विद्यालयको दिशामा अघि बढाएको छ। रासस

प्रकाशित: २३ कार्तिक २०८२ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast