सुर्खेत- वनगाड कुपिण्डे नगर अस्पतालको उद्घाटन गरिएको छ। मंगलबार सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अस्पतालको उद्घाटन गरेका हुन्।
नगरपालिकाको वडा नम्बर-१, देवस्थलमा अब १५ शय्या क्षमताको अस्पताल सेवा प्रवाह हुने भएको छ। अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले स्वास्थ्य र शिक्षाका कारण बसाइँसराइको दर बढिरहेको हुँदा ग्रामीण क्षेत्रका स्वास्थ्य र शिक्षाका संरचना सुदृढ गर्नतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताए।
यस अनुरुप स्थानीय तहहरूमा मेडिकल अधिकृत खटाइएको उनले जानकारी दिए। उनका अनुसार सल्यान दार्मा बाहेकका सबै र रुकुम पश्चिमका सबै स्थानीय तहमा मेडिकल अधिकृत खटाइएको छ।
आवधिक निर्वाचनहरूका माध्यमबाट जनताले जनप्रतिनिधिको परीक्षा लिने गरेकोले सोही अनुरुप जनताप्रति उत्तरदायी हुनुपर्नेमा स्पष्ट पारे। सोही अनुरुप सार्वजनिक सेवा र वस्तु प्रवाह गर्दा गुणस्तरीय र पहुँचयोग्य बनाउँदै सुदृढीकरणतर्फ ध्यान दिन अपिल गरे।
अस्पतालको स्तरोन्नतिका निम्ति प्रदेश सरकार तयार रहेको बताउँदै यसका लागि स्थानीय सरकारको पहल आवश्यक रहने बताए। कम लगानी भएका निजी स्वास्थ्य संस्थामा सेवा राम्रो हुने र सरकारी सेवा प्रति नागरिकको असन्तुष्टि हुने गरेको बारे टिप्पणी गर्दै यसतर्फ व्यवहार सुधार गर्नुका साथै सबैले आफ्नो तहबाट सहकार्य एवं समन्वय गर्न आग्रह गरे।
प्रदेश सभा सदस्य भीमप्रकाश शर्माले प्रदेश सरकारको सहयोग प्राप्त भएपछि मात्र अस्पताल सुरु गर्न सकिएको बताए। मन्त्रालयले अस्पतालका लागि मेडिकल अधिकृत सहितको जनशक्ति व्यवस्थापन गरेको जनाइएको छ।
सामान्य उपचार नपाइरहेको यो भूमिमा नागरिकहरूले आधारभूत स्वास्थ्य सेवा पाउन मात्रै ठूलो कुरा भएको उनले बताए। अस्पतालको स्तरोन्नति र सुदृढीकरणका लागि आफ्नो तहबाट पहल गरिने शर्माले प्रतिबद्धता जनाए।
नगरप्रमुख कर्णबहादुर बुढाथोकीले अस्पताल सञ्चालन गर्ने नगरवासीको सपना पूरा भएको बताए। स्वास्थ्य उपचारका लागि नागरिकले सास्ती पाइरहेको अवस्थामा राहत प्राप्त भएको बताए।
उनले अस्पतालको विकासका लागि आफूहरू निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए। समग्र नगरको विकासको लागि आफूहरु कटिबद्ध भएको जनाउँदै आगामी दिनहरूमा थप सक्रिय हुने बताए।


