राजेन्द्र महतो नेतृत्वको मुक्ति पार्टी चुनावमा सहभागी हुने

हिमाल प्रेस ३ मंसिर २०८२ ६:५७ | Wednesday, November 19, 2025
8
SHARES
राजेन्द्र महतो नेतृत्वको मुक्ति पार्टी चुनावमा सहभागी हुने राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो।

काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले नेपाल आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ।

मंगलबार बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो। उत्पीडित सबै सांस्कृतिक राष्ट्रहरू, युवा, महिला र सीमान्तकृत समुदायलाई एउटै राजनीतिक प्लेटफर्ममा सङ्गठित गर्दै, संवैधानिक पुनर्लेखन र राज्य पुनर्संरचनाको लागि चुनावमा जाने निर्णय गरेको सो पाटीका प्रवक्ता रविन्द्र कुमार श्रेष्ठले बताए ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेनजी क्रान्तिले खोलेको शक्ति शून्यतालाई स्वदेशवादी वैकल्पिक शक्तिको रूपमा परिणत गर्ने यो हाम्रो ऐतिहासिक दायित्व हो। त्यसैले राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने प्रयोजनको निम्ति निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ।’

आफूहरूको लक्ष्य केवल सत्तामा पुग्ने होइन, बरु चुनावपछि औपनिवेशिक मानसिकता, एकल राष्ट्रियता र भ्रष्ट संरचनालाई विस्थापन गरी आफ्नो सभ्यता, बहुल सांस्कृतिक पहिचानमा आधारित सङ्घीय संरचना, सुशासन र आर्थिक समृद्धिको नयाँ मोडल स्थापना गर्ने दाबी विज्ञप्तिमा गरिएको छ।

बैठकले पार्टीका जिल्ला समितिहरूलाई उम्मेदवार नामावली केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउन निर्देशन दिने निर्णय समेत गरेको छ । पार्टीले आगामी निर्वाचनको लागि उम्मेदवार छनोट र केन्द्रीय कार्यालयमा उम्मेदवार सिफारिसका लागि चुनावी रणनीति कार्यदललाई जिम्मेवारी तोकेको छ ।

बैठकले विचार सिद्धान्त मुद्दा मिल्ने पार्टीहरूसँग एकता, मोर्चा, चुनावी गठबन्धन बनाई अगाडि बढ्नका लागि विभिन्न पार्टीहरूसँग छलफल गरी चाँडै टुंगो लगाउन निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

सहमत हुने दलसँग सहकार्य गरी चुनावी प्रयोजनको लागि दल दर्ता पनि गर्ने निर्णय गर्दै सो पार्टीले अन्य पार्टी र मोर्चाहरूसँग चुनावी तालमेल पनि गर्ने निर्णय गरेको छ

प्रकाशित: ३ मंसिर २०८२ ६:५७ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast