काठमाडौँ- अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव ‘फोटो काठमाडौँ’ को छैटौँ संस्करण आजदेखि सुरु हुँदैछ। संगठन स्थापनाको एम दशक पुगेको अवसरमा उनीहरूले एक महिने फोटो प्रदर्शनी सुरु गरेका हुन्। प्रदर्शनी एक महिनासम्म अर्थात् मंसिर २८ सम्म चल्नेछ।
महोत्सवमा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा १८ वटा प्रदर्शनी, स्लाइड सो प्रोजेक्सन, कार्यशाला, कलाकारसगँ वार्ता, प्यानल छलफल, पोर्टफोलियो समीक्षा र फिल्म प्रदर्शनी हुनेछ।
काठमाडौँको नेपाल कला परिषद् महोत्सवको मुख्य स्थलको रूपमा महिनाभरका लागि रहनेछ। साथै, पाटनको मङ्गाहिति र च्यासल, कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालय, नक्सालको नन्दीकेशर बगैँचा र थिमि (मध्यपुर) को निगू पुखुमा पनि हुनेछ। प्रदर्शनी प्रवेश निशुल्क रहनेछ।
साथै महोत्सवमा नेपाली फोटोग्राफर तथा फिल्म निर्माताहरूका साथै स्यान्टियागोदेखि लुबुम्बासी र क्विटोदेखि डकारसम्मका ३० भन्दा बढी नेपालीसहित ग्लोबल साउथका कलाकारको सिर्जना प्रस्तुत गरिनेछ।
प्रदर्शनीमा यास्मिन इद-सब्बाग/रोजेन क्विरीको ‘सम्भाव्य र काल्पनिक जीवन’, इसाडोरा रोमेरोको ‘हुमो, सेमिल्ला, राइज’ (इक्वेडर), अहमद अलाक्राको ‘हामीबीच, एउटा धागो’ (रामल्लाह), सियोना ओकोनेलको ‘सहिदहरू, सन्तहरू र गद्दारहरू’ (दक्षिण अफ्रिका), तस्लिमा अख्तरको ‘गार्मेन्ट कामदारहरूको जीवन र संघर्ष’ (बंगलादेश) पनि देखाइनेछ।
यस वर्षको संस्करणले ग्लोबल साउथ ऐक्यबद्धताको क्युरेटोरियल विषयवस्तुसम्बन्धी गतिशील कार्यक्रम प्रस्तुत गर्नेछ भन्ने विश्वास रहेको सहसंस्थापक तथा महोत्सव निर्देशक नयनतारा गुरुङ कक्षपतिले बताइन्।
‘यस वर्षको भेलाले तेस्रो विश्वका कलाकारहरू र सांस्कृतिक समुदायहरूबीच सांस्कृतिक समझदारीलाई गहिरो बनाउनेछ। हाम्रा इतिहास, कथा, संघर्ष र आशाहरू साटासाट गर्दै पारस्परिक अन्तर्राष्ट्रिय एकतालाई बलियो बनाउनेछ,’ उनले भनिन्।
यसपटक फोटो काठमाडौँले ग्लोबल साउथ ऐक्यबद्धता र तेस्रो विश्व अन्तर्राष्ट्रियताको भावना अंगालेको महोत्सवको क्युरेटोरियल टोलीका एक सदस्य दिवस राजा केसीले बताए।
‘उपनिवेशविरोधी संघर्षदेखि बाङडुङ सम्मेलनसम्म, गटनिरपेक्ष आन्दोलन र क्रान्तिकारी सांस्कृतिक आदानप्रदानसम्म, यी इतिहासले नेपालजस्ता देशहरूले विश्वमा आफ्नो स्थान कसरी कल्पना गर्छन् भन्ने निर्धारण गरिरहेका छन्,’ उनले भने, ‘आज विश्वव्यापी शक्तिहरूले हाम्रो नैतिक धरातल र हाम्रो सार्वभौम इच्छाशक्ति जाँच्दैगर्दा, हामी हाम्रो रचनात्मक ऊर्जालाई ऐक्यबद्धता, कल्पनाशक्ति र सामूहिक भविष्यको भावनालाई नवीकरण गर्नतर्फ डोर्याउने आशा गर्दछौँ।’
सन् २००७ मा स्थापित काठमाडौँस्थित फोटो सर्कल कलाकारको नेतृत्वमा रहेको एक अन्तरविषयक संगठन हो। यसले सामाजिक परिवर्तनमा संलग्न हुन दृश्य कथाकार, अनुसन्धानकर्ता, शिक्षक, अभियानकर्मी तथा अन्य सांस्कृतिक निर्माताका लागि स्रोतको सिर्जना गर्दै आएको छ।
फोटो सर्कलले नेपाल पिक्चर लाइब्रेरीको व्यवस्थापन गर्दै आएको छ। साथै, यसले सार्वजनिक स्थलमा निःशुल्क प्रवेशका साथ द्विवार्षिक फोटो महोत्सव फोटो काठमाडौँ पनि आयोजना गर्दछ।



