काठमाडौँ- सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने बताएको छ। नेपाल-भारतबीच इनरुवा-पूर्णीया र दोदोधारा-बरेली थप दुईवटा चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्नेसम्बन्धी सम्झौता भएको छ।
संयुक्त निर्देशक समिति (जेएसी) को १२औँ बैठकमा निर्णय भएको र सोही निर्णय कार्यान्वयन गर्न हालै नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडबीच संयुक्त कम्पनी स्थापनासम्बन्धी ‘ज्वाइन्ट भेन्चर’ र ‘सेयरहोल्डर्स एग्रिमेण्ट’ हस्ताक्षर सम्पन्न। भएको छ।
सोही सम्झौताबमोजिम यी दुवै प्रसारण लाइनहरूको नेपाली खण्ड र भारतीय खण्ड निर्माणका लागि नेपाल र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको सेयर क्रमशः ५१ प्रतिशत रहने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले जानकारी दिए।
त्यसैगरी, भारतीय खण्डमा निर्माण हुने प्रसारण लाइनमा समेत प्राधिकरणको हिस्सा ४९ प्रतिशत रहनेछ। ती प्रसारण लाइनमा प्राधिकरणले ‘क्यापासिटी बुकिङ’ गरिएको सहसचिव देवको भनाइ छ।
प्राधिकरणले हालसम्म ११ हजार ४३३ मेगावाट क्षमताको विद्युत् खरिदबिक्री सम्झौता गरिसकेको छ। कुल १२ हजार ६४६ मेगावाट बराबरको विद्युत् खरिदबिक्रीका लागि आवेदन प्राप्त भएकामध्ये पाँच हजार २३० मेगावाट क्षमताको ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको छ।
विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भएका र विद्युत् खरिदबिक्रीका लागि आवेदन दिइएका विद्युत् आयोजनाबाट उत्पादित विद्युत्को बजार सुनिश्चितताका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माणको कामलाई प्राथमिकतामा राखिएको मन्त्रालयले बताएको छ।
हाल ढल्केवर-मुज्जफरपुर चार सय किलोभोल्ट क्षमताको अन्तरदेशीय विद्युत् प्रसारण लाइन सञ्चालनमा छ। यस्तै, न्यू बुटवल-गोरखपुर किलोभोल्ट क्षमताको अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणधीन छ। सो प्रसारण लाइन सन् २०२६ मा निर्माण सम्पन्न हुनेछ।
ढल्केवर मुज्जफरपुर अन्तरदेशीय विद्युत् प्रसारण लाइनको नेपाली खण्ड र भारतीय खण्ड निर्माण तथा सञ्लागि नेपाल र भारतमा अलगअलग संयुक्त कम्पनी स्थापना भई सञ्चालनमा छन्। नेपालमा स्थापना भएको संयुक्त कम्पनीमा प्राधिकरणको ५० प्रतिशत सेयर छ।



