काठमाडौँ- नेपालस्थित फ्रान्सेली दूतावासले काठमाडौँस्थित फ्रान्सेली केन्द्रको सहकार्यमा अत्याधुनिक सांस्कृतिक प्लेटफर्म ‘माइक्रो–फोली’ को उद्घाटन गरेको छ। यो डिजिटल संग्रहालयको उद्घाटन फ्रान्सेली केन्द्रको पुल्चोकस्थित प्राङ्गणमा सम्पन्न गरिएको हो।
माइक्रो–फोली परियोजना फ्रान्स संस्कृति मन्त्रालयद्वारा प्रारम्भ गरिएको विश्वव्यापी सांस्कृतिक पहल हो, जसलाई ला भिलेटले समन्वय गरेको हो।
यो डिजिटल प्लेटफर्ममार्फत पाँच हजारभन्दा बढी कलाकृतिहरू विश्वका प्रमुख संग्रहालय र सांस्कृतिक केन्द्रहरूबाट डिजिटल रुपमा प्रदर्शित गरिएका छन्।
कला सबैका लागि सुलभ बनाउने उद्देश्यका साथ माइक्रो–फोलीले प्रत्येक हप्ता दुईवटा निःशुल्क सत्र सञ्चालन गर्ने दूतावासले जनाएको छ। यी सत्रहरूमा सर्वसाधारण, विद्यार्थी, संघसंस्था सहभागी हुन पाउनेछन्।
उद्घाटन समारोहको अवसरमा नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्तेभालले सांस्कृतिक आदानप्रदानको महत्वबारे प्रस्ट पारेकी थिइन्। ललितपुरमा माइक्रो–फोलीको आरम्भले नेपालमा टीम फ्रान्सको मिसनलाई गति दिएको दूतावासको भनाइ छ।



