कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की।
विराटनगर- नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा (समाजवादी) पार्टीभित्र भइरहेको हालको बहस र निर्णयहरू ‘केवल एमालेलाई कमजोर पार्ने राजनीतिक प्रयत्न’ भएको टिप्पणी गरेका छन्।
उनले समाजवादी पार्टीको हालको दिशा र उद्देश्य मूलतः ‘आक्रोश र अवसरवाद’ मा आधारित भएको बताउँदै सो पार्टीमा रहेका सबै नेता कार्यकर्तालाई पुनः नेकपा एमालेमा फर्किन आग्रह गरेको छ।
मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा भनेका छन्, ‘नेकपा एमाले विभाजनको पुष्टि न २०५४ सालले गर्न सक्यो, न २०७८ सालको विभाजनले, यी दुवै विभाजन केवल केही नेताहरूको पद, प्रतिष्ठा र अवसरका निम्ति प्रयोग मात्र भए।’
उनका अनुसार, यी घटनाहरूले विचार र सिद्धान्त होइन, व्यक्तिगत स्वार्थकै कारण वाम आन्दोलन कमजोर हुने अवस्था सिर्जना गरे। उनले हाल नेकपा एकीकृत समाजवादी पार्टीभित्र चलिरहेको विवाद र निर्णय प्रक्रियालाई पनि सोही मानसिकताको निरन्तरता भन्दै ती बहसहरूले वाम आन्दोलनलाई न त सुदृढ बनाउने, न त वैचारिक स्पष्टता दिने, बरु एमालेलाई कमजोर पार्ने मात्रै उद्देश्य राखेको बताएका छन्।
उनले लेखेका छन्, ‘अहिले नेकपा समाजवादी पार्टीमा जे बहस र निर्णय हुँदै छ, त्यसबाट विभाजनको उद्देश्य केवल नेकपा एमालेलाई कमजोर पार्ने र आफू मूल नेतृत्वमा नभएको पीडा र आक्रोश व्यक्त गर्ने मात्रै देखिन्छ, त्यसभन्दा बढी त नेकपा समाजवादीलाई माओवादीमा सम्मिलित गराउनु अघिको आश्रय स्थल मात्र हो भन्ने पुष्टि भएको छ।’
मुख्यमन्त्री कार्कीले एकीकृत समाजवादी पार्टीमा रहेका नेताहरूलाई ‘अस्थायी बाटो छोडेर स्थायी घर फर्कन’ आग्रह गरेका छन्। उनले लेख्नु भएको छ, ‘त्यस पार्टीमा रहनुभएका आदरणीय सम्पूर्ण नेता तथा कार्यकर्ता साथीहरू आउनुहोस्, हामी फेरि एक पटक आफ्नो घर, अर्थात् नेकपा एमालेमै समाहित होऊँ, हामीले दुःख, कष्ट र समर्पणका साथ बनाएको आफ्नो प्यारो पार्टीलाई अझ सशक्त बनाऔँ।’
कार्कीले हाल नेकपा एमाले देशको जटिल राजनीतिक परिस्थितिको सटिक विश्लेषण गर्दै नीति, विधि र नेतृत्व संरचनालाई नयाँ ढङ्गले परिमार्जन गर्न लागिपरेको उल्लेख गरेका छन्।
उनका अनुसार, आगामी ११औँ राष्ट्रिय महाधिवेशन पार्टीको वैचारिक, संगठनात्मक र नीतिगत रूपान्तरणको ऐतिहासिक अवसर बन्नेछ।
‘नेकपा एमाले अहिले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनको तयारीमा छ,’ उनले लेखेका छन्, ‘यो अवसरलाई सदुपयोग गर्दै महाधिवेशनलाई उत्सवमा परिणत गरौँ र नेकपा एमालेलाई नेपालकै निर्णायक राष्ट्रिय शक्तिको रूपमा रूपान्तरण गरौँ ।’
उहाँको भनाइमा पार्टीभित्रको आत्मसमिक्षा, वैचारिक स्थिरता र राष्ट्रिय जिम्मेवारी नै एमालेको भावी यात्राको मूल ध्येय हो ।



