दलीय भागबन्डामा मधेश प्रदेशसभा सचिवालय, हटाइए पूर्वसभामुख मण्डल निकट कर्मचारी

सुभाष कर्ण ११ मंसिर २०८२ २०:५०
88
SHARES
दलीय भागबन्डामा मधेश प्रदेशसभा सचिवालय, हटाइए पूर्वसभामुख मण्डल निकट कर्मचारी

जनकपुरधाम- मधेश प्रदेशसभाका तत्कालीन सभामुख रामचन्द्र मण्डललाई सहयोग गरेको आरोपमा प्रतिपक्षी सातदलीय गठबन्धनको निर्णयअनुसार उपसभामुख बबिता राउत ईशरको निर्देशनमा १३ जना करार कर्मचारी हटाइएका छन्। तत्कालीन सभामुख मण्डलमाथि ‘पद तथा आचरण अनुकूल काम नगरेको’ प्रस्ताव दर्ता गराउने क्रममा असहयोग गरेका १३ करार कर्मचारीहरू हटाइएका हुन्।

उपसभामुख राउतले सभामुखमाथि प्रस्ताव दर्ता गराउने क्रममा प्रतिपक्षी सांसदहरूलाई हातपात गरेको र सभामुख मण्डललाई सहयोग गर्ने १३ जना करार कर्मचारीलाई हटाइएको जानकारी दिइन्। उनका अनुसार सभामुखको निजी सचिवालयबाहेक १३ जना करार कर्मचारीलाई हटाइएको छ। अन्य ४/५ जनामाथि अनुसन्धान भइरहेको उनले बताइन्। उपसभामुख राउतले हटाइएका कर्मचारीहरूको नाम बताउन चाहिनन्।

सचिवालय स्रोतका अनुसार तत्कालीन सभामुख मण्डलको प्रमुख स्वकीय सचिव रहेका उनका नातेदार रमेश मण्डलसहित स्वकीय सचिवद्वय धिरेन्द्र मण्डल र सतिश साहलाई हटाइएको छ। त्यस्तै कम्प्युटर अपरेटरलगायतका कर्मचारीहरू उनको मण्डलको राजीनामासँगै हटेका छन्। यीबाहेक कार्यालय सहयोगी दिपक मण्डल, विश्वनाथ यादव र चालकलगायतका करारमा रहेको कर्मचारी हटाइएका छन्।

मण्डललाई सहयोग गरेका तर हटाउन नसकिने नेपाल सरकारको स्थायी दरबन्दी रहेका उपसचिवदेखि अधिकृतसम्मका पाँच जना कर्मचारीसँग स्पष्टीकरण सोधिएको उपसभामुख राउतले जानकारी दिइन्। स्पष्टीकरण सोधिएकामा सचिव होमनाथ पहाडी, उपसचिव विपिन ठाकुर, उपसचिव सुरेन्द्रकुमार कर्ण, कानुन अधिकृत अञ्जुकमारी न्यौपाने र नासु विजेन्द्र यादव रहेका छन्।

उपसभामुख राउतले भनिन्,‘प्रस्ताव दर्तादेखि सांसदहरूलाई पदमुक्त गर्ने घटनामा संलग्न रहेको आरोपमा करार कर्मचारीलाई हटाइएको छ, स्थायी कर्मचारीसँग स्पष्टीकरण सोधेका छौँ। उहाँहरूले स्पष्टीकरणको जवाफ दिइसक्नु भएको छ। अब सातदलीय गठबन्धनले बैठक बसेर थप निर्णय गर्नेछ।’

संसदीय अनुशासन र मर्यादा उल्लंघन गर्ने कर्मचारीलाई हटाइएको उनले बताइन्। ‘संसदीय अनुशासन र मर्यादा उल्लंघन गर्ने तथा उहाँले सचिवालयमा राखेका र उनको निर्देशनमा प्रतिपक्षी दलका सांसदमाथि हातपात गर्ने कर्मचारी हटाइएका हुन,’ मण्डलले नियुक्त गरेका करार कर्मचारीलाई हटाइएको भनी सोधिएको प्रश्नको जवाफमा उनले भनिन्।

दलीय भागबन्डामा सचिवालय

तत्कालीन सभामुख मण्डलले भर्ना गरिएका कर्मचारीहरूलाई हाल हटाइएको छ। तर, प्रदेशसभा दलहरूको नातेदार र कार्यकर्ता भर्ती केन्द्रको रुपमा देखिएको छ।

तत्कालीन सभामुख मण्डलले मात्र होइन जसपा नेपालका तर्फबाट मुख्यमन्त्री बनेका लालबाबु राउत, सरोज यादव, जनमतका सतिशकुमार सिंह र वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवसहित हरेक दलका व्यक्तिहरू भागबन्डाको आधारमा करार नियुक्ति पाएर काम गरिरहेका छन्।

कार्यालय उच्च स्रोतका अनुसार प्रदेशका प्रथम मुख्यमन्त्री राउतनजिकका व्यक्ति मो.फयाज खान कार्यालय सहयोगी र दास्रो मुख्यमन्त्री सरोज यादवनिकट लालबाबु यादव अझै प्रदेशसभामा कार्यरत छन्।

पूर्वमुख्यमन्त्री सरोज यादव सभामुख रहेकै बेला लालबाबु यादवलाई प्रदेशसभामा करार कर्मचारीका रुपमा छिराएका थिए। त्योबेला उनी महोत्तरी जिल्लाको पर्सा माविमा कार्यरत थिए र हालसम्म पनि त्यहीँ कार्यरत छन्। स्रोतका अनुसार उनी मधेश सरकार र संघीय सरकार दुवैबाट तलब सुविधा प्राप्त गर्दै आइरहेका छन्।

लालबाबु भने दुई ठाउँमा तलब लिइरहेको आरोप निराधार रहेको बताए। उनी भन्छन्,‘ म शिक्षक नै हो, अहिले पनि शिक्षक नै छु। यहाँ काजमा कार्यरत छु र तलब एकै ठाउँबाट लिइरहेको छु। काज सरूवाको कुनै अवधि हुँदैन, प्रदेशसभालाई आवश्यकता भएको कारण अहिलेसम्म यहीँ छु।’

त्यस्तै उपसभामुख राउतले स्वकीय सचिवमा सरस्वती कापरलाई राखेकी छन्। सरस्वती जनमत पार्टीका उपाध्यक्ष चन्द्रकान्त राउतका सालोको श्रीमती रहेको बुझिएको छ। यसबाहेक सहायक कम्प्युटर अपरेटर अनिल ईशर पनि उपसभामुखकै कोटाबाट करारमा काम गरिरहेका छन्।

वर्तमान मुख्यमन्त्री सरोज यादवका मान्छे रमेश यादव कार्यालय सहयोगीका रुपमा काम गरिरहेका छन्। उनी भौतिक पूर्वाधार विकासमन्त्री भएकै बेला रमेशले एमाले कोटाबाट प्रदेशसभामा प्रवेश पाएका थिए।

त्यस्तै प्रदेशसभाका तत्कालीन सभिव रञ्जीत यादवका भाइ सुजित यादव एसिस्टेन्ट हेल्थ वर्करका रूपमा स्वास्थ्य शाखामा कार्यरत छन्। यीबाहेक सूचना प्रविधि शाखामा रञ्जीत यादवनिकट मुकेश यादव कम्प्युटर अपरेटर तथा अजय ठाकुर र अजय मण्डल कार्यालय सहयोगीको रुपमा कार्यरत रहेको प्रदेशसभा सचिवालय स्रोतले जानकारी दिएको छ।

प्रदेशसभा सचिवालयका सचिव बासु कोइराला अवकाश प्राप्त कर्मचारी हुन्। माओवादी केन्द्रको सिफारिसमा उनी दलीय कोटाबाट आएका छन्।

प्रकाशित: ११ मंसिर २०८२ २०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast