एमालेमा फर्किन माधव नेपाललाई ‘राजनीतिक भ्रष्टाचारी’को पगडी

किरण पौडेल १७ कार्तिक २०८२ १९:३३
138
SHARES
एमालेमा फर्किन माधव नेपाललाई ‘राजनीतिक भ्रष्टाचारी’को पगडी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘राजनीतिक’ भ्रष्टाचारीको आरोप लगाउँदै पार्टीका केही नेताहरू नेकपा एमालेमा समाहित हुने भएका छन्। नेकपा माओवादी (केन्द्र) सँग एकता गर्ने निर्णय गरेर अध्यक्ष नेपालले राजनीतिक भ्रष्टाचार गरेको आरोप उनीसँग असन्तुष्ट नेताहरूले लगाएका हुन्।

नेकपा एमालेमा केपी शर्मा ओलीसँग विग्रह भएपछि २०७८ भदौ २ गते माधव नेपालसहितका नेताहरूले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए। पार्टी गठन भएको चार वर्षमा एकीकृत समाजवादी छिन्नभिन्न हुने दिशामा अघि बढेको छ।

अध्यक्ष नेपालसहितका केही नेताले माओवादीसँग एकीकरण गर्ने निर्णय गरेका छन्। अध्यक्ष नेपालले पार्टीलाई माओवादीमा विलय गराउने निर्णय गराएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। सम्मानित नेता झलनाथ खनाल एमाले फर्कने तयारीमा छन् भने महासचिव घनश्याम भुसाल एकीकृत समाजवादीलाई नै पुनर्गठन गरेर सक्रिय हुने गृहकार्यमा जुटेका छन्।

‘ओलीको खराबी, दमन गरेका कारण हामी एमालेबाट छुट्यौँ तर माधव नेपाल ओलीभन्दा खराब देखिए,’ समाजवादी नेता किसान श्रेष्ठ भन्छन्, ‘हामी एकीकृत पार्टीमा नजाने निश्चित छ। अब हामीसँग अन्य विकल्प छैन।’

श्रेष्ठ अब आफूहरूसँग समाजवादी पुनर्गठन गर्ने, एमालेमै फर्किने र नयाँ दलसँग सहकार्य गर्ने विकल्प रहेको बताउँछन्।

‘यी विकल्पमध्ये हामीलाई एमालेमा जान सजिलो छ। एमालेले हाम्रो हैसियतअनुसार जिम्मेवारी दियो र मिठो मुस्कानसहित स्वागत गर्‍यो भने जान तयार छौँ’, श्रेष्ठ भन्छन्। नेपालले पार्टी एकीकृत गरे पनि अधिकांश कार्यकर्ता एकीकृत पार्टीमा नजाने दाबी उनको छ।

‘हाम्रो यसअघि समानुपातिक मत २ लाख ९४ हजार मत आएको छ। म ठोकुवा गरेर भन्छु, दुई लाख कार्यकर्ता एकीकृत पार्टीमा जाँदैनन्’, श्रेष्ठ भन्छन्।

यी हुन् एमालेमा जान तयार समाजवादीका नेता

श्रेष्ठका अनुसार अधिकांश कार्यकर्तासहित नेताहरू एकीकृत पार्टीमा जाँदैनन्। विघटित प्रतिनिधिसभाका १० मध्ये ६ सांसद एकतामा जाँदै छन्। ‘नेपाल, राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, भानुभक्त जोशी, मेटमणि चौधरी, शेरबहादुर कुँवर पार्टीमा पदमा हुनुहुन्छ। उतै जानुहुन्छ। नेपालले पद दिनुभएको छ। त्यसबाहेक अन्य नेताहरू हामीसँग हुनुहुन्छ’, श्रेष्ठले भने। विघटित प्रतिनिधिसभाका सांसदहरूम्धये अम्मबरबहादुर थापा, धनबहादुर बुढा अहिले एकतामा नजाने पक्षमा छन्।

‘प्रेम आले पूर्वसांसद हो। तर पार्टीमा हुनुहुन्न। उहाँ पनि हामी नजिक हुनुहुन्छ’, श्रेष्ठ भन्छन्। यसबाहेक समाजवादीका रामकुमारी झाँक्री, अम्मरबहादुर थापा, पीताम्बर तिम्सिना, होमबहादुर बुढाथोकी, डा. वंशीधर मिश्र, गम्भीरलाल श्रेष्ठ, अर्जुन राई, राजाराम स्याङ्तान आफू नजिक रहेको श्रेष्ठको दाबी छ।

थापाले भने आफू कता जाने भन्ने छलफलमा रहेको बताए। उनले सोमबार हिमालप्रेससँग भने, ‘कहाँ जाने के गर्ने अहिले केही निर्णय लिएको छैन। छलफल, सल्लाह गर्दै छु।’ प्रदेशसभाबाट कृष्ण खनाल र स्थानीय तहबाट निर्वाचितमध्ये धनराज आचार्य, मीना लामासहितका नेताहरू पनि एकतामा नजाने श्रेष्ठको दाबी छ।

समाजवादीका अध्यक्ष नेपाल पतञ्जली जग्गा भ्रष्टाचार प्रकरणमा मुछिएका छन्। सोही कारण पार्टीभित्र नेपालमाथि नैतिकताका आधारमा राजीनामा दिन दबाब थियो। झलनाथ खनाल र घनश्याम भुसालले बारम्बार राजीनामाको दबाब दिँदा पनि नेपाल पदमै बसिरहे।

अन्ततः पार्टी एकताको कुरा उठाए। जुन विषयमा इतरपक्ष एवं खनाल–भुसाल समूह असन्तुष्ट बन्यो। एकीकृत समाजवादीलाई एकतामा लैजान अहिले नेताहरूले नेपालमाथि ‘राजनीतिक अपराध गरेको’ आरोप लगाएका छन्।

केन्द्रीय कमिटी बैठकबाट नेपालले ८० केन्द्रीय सदस्य, ४० पोलिटब्युरो सदस्य ४०, स्थानीय कमिटीमा १० जना र सचिवालयमा दुईजना थप गरेका थिए। नेता नेपालले कमिटी विस्तार एकलौटी ढंगमा गराएको आरोप असन्तुष्ट पक्षको छ।

नेपालले ‘राजनीतिक अवराध’ गरेको बताएका छन्। ‘यो कुनै वैध तरिकाले गरिएको निर्णय होइन। यसमा माधव नेपालले राजनीतिक भ्रष्टाचार गर्नुभएको छ’, श्रेष्ठले भने।

एकीकृत पार्टीमा नगएको समूह तितरबितर

नेपाल समूहले आफूसँग बहुमतसहित एकतामा जान लागेको बताएको छ। खनाल–भुसाल समूह एकतामा नजाने पक्षमा छ। उनीहरू पनि कसरी अघि बढ्ने अन्योलमा छन्। खनाल एमालेमै फर्किने तयारीमा रहेको उनी निकट नेताहरू बताउँछन्। खनालले पनि एमाले फर्किने वातावरण बने आफू तयार रहेको बताएका छन्।

भुसाल भने एकीकृत समाजवादी पुनर्गठन गर्नेमा छन्। उनी पनि आफ्नै नेतृत्वमा नयाँ दल गठन गर्ने तयारीमा छन्। ‘हाम्रो पार्टीमा झलनाथ अभिभावक र भुसाल अध्यक्ष बन्नुहुन्छ’, उनी निकट दामोदर अर्याल भन्छन्।

एकीकृत समाजवादीबाट आउन चाहनेलाई एमालेले राख्यो यस्तो सर्त

नेकपा एमालेले एकीकृत समाजवादीलगायतका दलबाट पार्टीमा प्रवेश गर्न चाहनेलाई सर्तसहित प्रवेश गराउने भएको छ। पार्टीमा फर्कंदा पार्टीको नीति र नेतृत्वमा भने विवाद गर्न नपाइने सर्त एमालेले राखेको हो। एमालेका महासचिव शंकर पोखरेलले नीति र नेतृत्वका प्रश्नमा सहमति गरेर मात्र एमालेमा आउन आग्रह गरेका छन्।

उनले सोमबार प्रेस चौतारीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा भने, ‘सर्त एउटै छ नीति र नेतृत्वका प्रश्नमा चाहिँ सहमति गरेर आउनुस्। बहस विवाद गर्न आउने कुरामा पार्टी सहमत हुन सक्दैन। यी दुई वटा प्रश्नमा सहमत हुने जोकोहीका लागि नेकपा एमालेको ढोका सधैँ खुला छ।’

उनले पार्टीमा फर्कन चाहनेहरूलाई ढोका खुला भएको बताए। पोखरेलले घरमा सन्तान फर्कंदा कुनै अनुमति लिन नपर्ने बताए। ‘नेकपा एमालेबाट अलग भएकाहरूको सन्दर्भमा केन्द्रीय कमिटीको बैठकबाटै निर्णय गरेका छौँ। आफ्नो घर फर्कनका लागि कुनै एकता गरिरहनु पर्दैन। घरका सन्तानहरू कोही बाहिर गएपछि घर आउँछु भन्दा अनुमति लिनुपर्छ? आउनुस्,’ उनले भने।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत विगतमा एमाले पार्टी निर्माण गरेका नेता तथा नेताकार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरेका थिए। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘विगतमा नेकपा एमालेको निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नुभएका सबै नेताकार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु। जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्।’

उनले राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

नेकपा एकीकृत समाजवादीका केही नेता एमाले फर्कन तयार भएपछि एमाले नेतृत्वले सर्त अघि सारेको हो। विगतमा ओलीको नीति र नेतृत्वमा प्रश्न उठाउँदै एमालेबाट अलग भएका केही नेताहरू अहिले एमाले फर्कन लागेका हुन्। समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि नेताहरूमा असन्तुष्टि चुलिएको छ भने पार्टी छिन्नभिन्न अवस्थामा पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast