लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन सुरु हुँदै

हिमाल प्रेस ८ मंसिर २०८२ १०:५० | Monday, November 24, 2025
4
SHARES
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन सुरु हुँदै फाइल तस्बिर

काठमाडौँ- लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन सोमबार सुरु हुँदैछ। प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ। कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन्। ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश छन्।

बैठकमा सभामुख तुलबहादुर घर्तीले प्रदेशसभा सदस्यहरूको उपस्थिति-अनुपस्थितिको जानकारी पेश गर्ने कार्यसूची छ। त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहने सचिव पुनमगरले जानकारी दिए।

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन्। प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ।

लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेश गर्न सरकारले स्वीकृत दिएको हो। लुम्बिनीमा गत भदौ ३१ गते छैटौँ अर्थात् बर्खे अधिवेशन अन्त्य भएको थियो।

प्रकाशित: ८ मंसिर २०८२ १०:५० | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast