काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सहरी श्रमिक, गरिब वर्गका लागि आवाससम्बन्धी समस्या र त्यसको दिगो समाधानको आवश्यकतामा जोड दिएका छन्।
सुकुम्वासी समस्या अल्पविकसित तथा विकासशील मुलुकहरूको साझा चुनौती भएको बताउँदै डा.भट्टराईले आइतबार सामाजिक सञ्जालमामार्फत हाल नेपालको आर्थिक संरचना निर्वाहमुखी कृषि अर्थतन्त्रबाट औद्योगिक तथा सेवा क्षेत्रमा सर्न थालेसँगै विशेषगरी काठमाडौँ उपत्यकामा सुकुम्वासी समस्या तीव्र बन्दै गएको वस्तुगत यथार्थ रहेको बताएका छन्। उनले सहरीकरणसँगै उदाउने विभिन्न समस्याहरू समाधान गर्नका लागि पहिलेदेखिनै विशेष सरकारी संरचना र पहलहरू लिइएको स्मरण गराएका छन्।
उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा गठन गरिएका सहरी विकास मन्त्रालय र काठमाडौँ उपत्यका विकास प्राधिकरणजस्ता विशिष्ट निकाय साथै नदीकिनारका सुकुम्वासी बस्तीहरूको सर्वेक्षण गरेर ‘सक्कली र नक्कली’ सुकुम्वासीको पहिचान गर्ने काम र न्यून लागत आवास निर्माणजस्ता प्रयास उल्लेखनीय रहेको बताएका छन्। भट्टराईले सुकुम्वासी समस्या समाधान गर्न बालाजु नजिक इचंगुनारायणमा गरिएको कम लागतको आवास निर्माणलाई नमुनाको रूपमा लिन सकिने बताए।
डा.भट्टराईले आगामी रणनीतिमा महानगरपालिकाले ती पहलहरूको जगमा टेकेर दीर्घकालीन समाधानतिर जाने उपयुक्ततालाई जोड दिएका छन् र बलपूर्वक, बिनाविकल्प विस्थापन गर्ने उपायलाई मानवीय र अहिलेको संवेदनशील राजनीतिक अवस्थामा अव्यवहारिक तथा जोखिमपूर्ण हुने बताएका छन्। उनले लेखेका छन्,‘‘कहाँ घाउ पर्छ र त्यहाँ औंस्याहा किरा पारौं’ भनेर ढुकेर बसेका शक्तिहरूले देशलाई झन् संकटको भूमरीमा नधकेलून्।’
सुकुम्बासी बस्तीमा डोजर : जेनजी मुभमेन्ट अलायन्सले भन्यो- बसोबास उठाउने होइन,समाधान खोज



