अबुधाबीस्थित नेपालीलाई श्रम तथा कन्सुलर सेवा अब एकै ठाउँबाट

हिमाल प्रेस ४ मंसिर २०८२ २१:३३
अबुधाबीस्थित नेपालीलाई श्रम तथा कन्सुलर सेवा अब एकै ठाउँबाट यूएईस्थित नेपाली दूतावास

काठमाडौँ- अबुधाबीस्थित नेपाली राजदूतावासले संयुक्त अरब इमिरेट्स (यूएई) श्रम तथा कन्सुलर सेवामा परिवर्तन गरेको छ। यूएईमा बसोबास गर्ने नेपाली नागरिक तथा सेवाग्रहीहरूलाई सूचना जारी गरेर श्रम तथा कन्सुलर सेवामा परिवर्तन गरेको जनाएको हो।

दूतावासले जारी गरेको सूचनाअनुसार अब दुबईबाहेक फुजैराह, शारजाह, अजमान, उम्म अल कुवैन र रास अल खैमाह क्षेत्रमा बसोबास गर्ने वा काम गर्ने नेपालीहरूले पनि सम्पूर्ण श्रम तथा कन्सुलर सेवा अबुधाबीबाटै प्राप्त गर्न सक्नेछन्।

यसअघि यी क्षेत्रका सेवाग्रहीहरूले केही सेवा दुबईस्थित महावाणिज्यदूतावासबाट लिनुपथ्र्यो। अबुधाबी राजदूतावासबाट अब राहदानी तथा कन्सुलर सेवा, मागपत्र प्रमाणीकरण, बायोमेट्रिक श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति, श्रमिकको राहत, उद्धार तथा हराएका श्रमिकको खोजतलासलगायतका सेवा उपलब्ध हुने दूतावासले जनाएको छ।

त्यस्तै मृतकको शव व्यवस्थापन र नेपाल पठाउने प्रक्रिया, बिमा तथा क्षतिपूर्तिसम्बन्धी काम, कागजात प्रमाणीकरण, अख्तियारनामा, यात्रा अनुमतिपत्र र पर्यट भिसा, पञ्जीकरण, पेन्सन नवीकरणलगायतका सेवा पनि उपलब्ध हुने दूतावासले जानकारी दिएको छ।

अल ऐन, अल धाफ्रा र रुवाइस क्षेत्रका नेपालीहरूले पनि अब यी सबै सेवा अबुधाबी राजदूतावासबाटै सहजै रूपमा लिनसक्नेछन्। राजदूतावासले यो परिवर्तनबाट सेवा थप व्यवस्थित, पारदर्शी, छिटोछरितो र नागरिकमैत्री हुने विश्वास लिएको छ।

प्रकाशित: ४ मंसिर २०८२ २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast