हट्यो काठमाडौँको फोहोर अवरोध

हिमाल प्रेस १६ कार्तिक २०८२ १५:२३
10
SHARES
हट्यो काठमाडौँको फोहोर अवरोध फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ।

आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो।

फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौँ, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिका कार्यकारी अधिकृतसहितको टोली लिएर आइतबार बिहान बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा गएका थिए।

टोलीले फोहोर विसर्जन गर्ने ठाउँको स्थलगलत निरीक्षण गर्नुकासाथै ल्याण्डफिल्ड साइट पर्ने धादिङको धुनिवेशी नगरपालिकाका प्रमुख, नुवाकोटका ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका वडाध्यक्षहरु र स्थानीय बासिन्दासँग अन्तक्रिया गरेको थियो।

मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति एवम् सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए। उनले सहमति कार्यान्वयको प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै फोहोर फाल्न अवरोध नगर्न अनुरोध गरेका थिए।

स्थानीयले उठाउँदै आएको लिच्चड व्यवस्थापनका लागि शहरी विकास मन्त्रालयको संयोजनमा सबै सरोकारवाला निकाय सम्मिलित समिति बनाइने भएको शहरी बिकास मन्त्रालयले जनाएको छ। त्यस्तै ल्याण्डफिल साइटमा जथाभावी फोहोर फालिएको गुनासो सम्बोधन गर्न शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित पालिकाका १/१ जना प्रतिनिधि रहने गरी अनुगमन समिति बनाइने भएको छ।

प्रकाशित: १६ कार्तिक २०८२ १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast