काठमाडौँ- काठमाडौँको थापाथलीमा रहेको ट्राफिक प्रहरी प्रभागको भवन भत्काउन पुगेको नगर प्रहरीको टोली प्रमुख जिल्ला अधिकारी (सिडिओ) को पत्राचारपछि पछि हटेको छ।
काठमाडौँ महानगरपालिका प्रहरी आइतबार डोजरसहित ट्राफिक प्रहरीको भवन भत्काउन पुगेको थियो।
तर काठमाडौँका सिडिओ ईश्वरराज पौडेलले प्रहरी प्रभाग स्थानान्तरण गर्न समय लाग्ने भन्दै तत्काल नभत्काउन अनुरोध गर्दै पत्राचार गरेपछि नगर प्रहरीले भत्काउने कार्य रोकेको हो।
सिडिओ पौडेलले भने,‘प्रहरीको भवन भत्काउने सूचना पाएपछि मैले तत्काल महानगरलाई पत्राचार गरी रोक्न आग्रह गरेको हुँ। हाल रामशाहपथस्थित ट्राफिक प्रहरीको मुख्य कार्यालय पूर्ण रूपमा जलेको छ, अन्य कार्यालयहरू पनि क्षतिग्रस्त छन्। यस्तो अवस्थामा प्रहरीलाई अस्थायी ओतका संरचना हटाइयो भने उनीहरू कहाँबाट काम गर्छन् भन्ने समस्या उत्पन्न हुन्छ।’
समाचार सच्याइएको छ।



