कात्तिक शुक्ल चतुर्दशी : वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

हिमाल प्रेस १८ कार्तिक २०८२ ९:३२
6
SHARES
कात्तिक शुक्ल चतुर्दशी : वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व मंगलबार (आज) स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ। वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ।

वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जाग्राम बस्ने गरिन्छ। चतुर्दशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानिन्छ। शिवसँग सम्बन्ध भएकालाई शिव वैकुण्ठ र विष्णुसित सम्बन्ध भएकालाई ‘विष्णु वैकुण्ठ’ भनिन्छ। शिवपूजाका लागि अरुणोदयव्यापी चतुर्दशी उत्तम मानिएको छ भने उपवास (व्रत) का लागि अहोरात्र (रातदिन) को अरुणोदय चतुर्दशीले युक्त दिनलाई उपयुक्त मानिएको छ।

भगवान् विष्णुका नाममध्ये एक नाम वैकुण्ठ पनि एक रहेको पण्डित बालमुकुन्द देवकोटाले बताए। ‘कुण्ठा नभएको ज्ञान वा स्थान जसको आश्रय छ, त्यसलाई वैकुण्ठ भनिन्छ। जीवनलाई नियन्त्रण गर्ने र ज्ञान दिने रूपमा जसको प्रसिद्धि छ, त्यसलाई पनि ‘वैकुण्ठ’ भनिन्छ। त्यस्तै महाभारतको शान्ति पर्वमा आफ्ना बहुसंख्यक नामको व्यूत्पति भगवान् स्वयंले बताउनुभएको छ’, उनले भने।

गतिनिरोधक गर्नेलाई ‘विकुण्ठ’ भनिन्छ र त्यो सम्पादन गर्नेलाई वैकुण्ठ भनिन्छ। जगत् सृष्टि गर्ने क्रममा भगवान्ले पृथ्वीलाई जलसित आकाशलाई वायुसित र वायुलाई तेजका साथ अविचल हुने गरी मिलाएकाले उनको नाम ‘वैकुण्ठ’ रहेको भन्ने पौराणिक मान्यता पनि छ।

यस दिनसको पूजा गर्ने नसकेमा विष्णुका नाम मात्रको उच्चारणले पनि ठुलो पुण्य प्रदान गर्छन् र आपत्विपतबाट बचाउने विश्वास गरिन्छ । भगवान् विष्णुका सबै नाम ऐश्वर्य, स्वामित्व, व्यापकता, परोपकार, दुष्टदमन, लोक संरक्षक आदि गुणको सम्बन्धले युक्त छ।

धर्मराज युधिष्ठिरले भीष्मसित यस विषयमा धेरै कुरा सोधेको महाभारतको शान्तिपर्वमा उल्लेख छ। भीष्मले विष्णु स्तुति गर्दा वा जप्दा व्यक्ति सम्पूर्ण दुःखदेखि पार हुन सक्छन् भनेर युधिष्ठिरसहित पाँच पाण्डवलाई सम्झाएको वर्णन महाभारतमा उल्लेख गरिएको पण्डित देवकोटाले जानकारी दिए। भीष्मले गरेको यो स्तुति गानको समय भएकाले आजको दिनदेखि भीष्म पञ्चक पनि सुरु हुन्छ।

देवताका पनि देवता विष्णु सर्वाधिक रूपले पुजनीय मानिन्छन्। भगवान् विष्णुको गणस्थलबाट पैदा भएकाले गण्डकी नाम रहन गएको पौराणिक मान्यता छ। दामोदर कुण्ड पनि कालीको शिर मानिएको छ।

दामोदर पनि भगवान् विष्णुको नामसँग सम्बन्धित छ। काठमाडौँ उपत्यकामा रहेका र बग्ने नदीमध्ये एकको नाम विष्णुमती छ। जसको उत्पत्ति विष्णुपादुकाबाट भएको हो। विष्णुपादुका डाँडाको फेदमा रहेको बुढानीलकण्ठ विष्णु मूर्ति मान्यताका साथै कलात्मकताका दृष्टिले पनि सुप्रसिद्ध छ।

भगवान् विष्णु पालनकर्ताका रूपमा स्थापित भई सबैलाई पालन गरेर रहने क्रममा जागा भई वैकुण्ठाधिपति भगवान् वैकुण्ठ धाममा जानुभएको थियो। आजैका दिन विष्णु वैकुण्ठधाम जानुभएको पौराणिक मान्यता रहेको पण्डित देवकोटाले बताए।

हरिशयनी एकादशीका दिन क्षीर सागरमा सुतेका भगवान् विष्णुले त्यस अवधिमा कार्यभार भगवान् शिवलाई दिएका थिए। आज त्यो कार्यभार भगवान् शिवले विष्णुलाई दिएर कैलाश जानुहुने विश्वास पनि गरिन्छ। यसैले आजको दिनलाई हरि र हर मिलनको उत्सवका रूपमा मनाइने उनले जानकारी दिए। रासस

प्रकाशित: १८ कार्तिक २०८२ ९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast