कमल थापा : पहिले सूर्य चिह्न प्यारो, अहिले ‘अधर्मी कम्युनिस्टहरू’

हिमाल प्रेस २१ कार्तिक २०८२ १३:००
26
SHARES
कमल थापा : पहिले सूर्य चिह्न प्यारो, अहिले ‘अधर्मी कम्युनिस्टहरू’

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले धार्मिक देश नेपालमा विगत तीन दशकदेखि अधर्मी कम्युनिस्टहरूले शासन गरिरहेको टिप्पणी गरेका छन्। कुनै बेला नेकपा एमालेको चुनाव चिह्न लिएर चुनाव लडेका थापाले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘धार्मिक देश नेपालमा तीन दशकदेखि अधर्मी कम्युनिस्टहरूले शासन गरिरहेको हामी टुलुटुलु हेरिरहेका छौँ।’

थापाले सनातन धर्म, संस्कृति र परम्परामाथि व्यापक आक्रमण भइरहेको उल्लेख गरेका छन्। ‘धर्म परिवर्तनले सामाजिक सद्भाव र एकता खलबलिएको छ। समाजमा अधर्म, व्यभिचार र अनैतिकताले राज गरिरहेको छ। के अब पनि हामीले नचेत्ने हो?’ थापाले लेखेका छन्।

कमल थापाले २०७९ सालको आमनिर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट एमालेको सूर्य चिह्न लिएर चुनाव लडेका थिए। उनलाई प्रतिस्पर्धी राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंहले पराजित गरेका थिए।

थापाले चुनावमा एमालेको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताएका थिए। उम्मेदवारी दर्ता गरेपछि थापाले भनेका थिए, ‘नेकपा एमालेको लोकप्रिय चिह्न ‘सूर्य’ बाट चुनाव लड्न पाउँदा खुसी लागेको छ।’ एमालेले थापालाई समर्थन गरेपछि एमाले मकवानपुरका नेताकार्यकर्ता रुष्ट बनेका थिए।

कम्युनिस्ट पार्टीका नेता प्रधानमन्त्री भएका बेला थापाले महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। थापा २०७३ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधान एवं स्थानीयविकास मन्त्री नियुक्त भएका थिए। यसैगरी थापा २०७२ असोजमा एमाले अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री भएका थिए।

२०५१ सालयता ९ पटक मन्त्री भएका थापाालाई अवसरवादी नेताका रूपमा लिइन्छ। राजदरबारनिकट व्यक्तिहरूको प्रोत्साहनमा राष्ट्रवादी मण्डलबाट राजनीतिमा आएका थापा पञ्चायतको अन्तिममा सञ्चार राज्यमन्त्री थिए। उनी  २०४७ सालको संविधान जारी भएपछि पूर्वपञ्चहरूले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न भएका हुन्। २०४८ को आमनिर्वाचनमा मकवानपुरबाट पराजित भएका थापा २०५१ सालको मध्यावधि निर्वाचनमा भने उनी विजयी भएका थिइ।

त्यसपछि उनीमाथि नेपाली राजनीतिमा ‘मुसा प्रवृत्ति’लाई जन्म दिएको आरोप लाग्यो। २०५१ देखि २०५६ को अवधिमा कांग्रेस, एमाले र राप्रपामध्ये कसैले बहुमत प्राप्त गर्न नसक्दा राप्रपाले जसलाई समर्थन गर्थ्यो उसैको सरकार बन्थ्यो। त्यतिबेलै हो थापाले सत्ताको स्वाद राम्रैसँग चाखेको।

यतिसम्म कि उनले अवसरवाद र सत्तालिप्साकै कारण आफैँ मन्त्री रहेको सरकारसमेत ढाल्न सहयोग गरेका थिए। कुरा लोकेन्द्रबहादुर चन्दले सरकार नेतृत्व गरेका बेलाको हो। थापा चन्द नेतृत्वको सरकारमा २०५३ चैतदेखि २०५४ असोज २१ सम्म आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री बनेका थिए। चन्दविरुद्ध अविश्वास प्रस्ताव आउँदा थापा परराष्ट्रमन्त्रीको हैसियतमा विदेश भ्रमणमा थिए। उनी प्रस्तावमाथि मतदान हुनु एक दिनअघि स्वदेश फर्किए।

उनले आफ्नै सरकारविरुद्धको प्रस्तावमा मतदान गरे। थापाको त्यही व्यवहारलाई लोकेन्द्रबहादुर चन्दले ‘मुसा प्रवृत्ति’को नाम दिएका थिए। उनले भनेका थिए, ‘मुसा पानीजहाजमा पस्यो भने त्यही जहाज प्वाल पार्न थाल्छ। त्यो जहाज डुब्न थाल्यो भने सर्वप्रथम जहाज छाडेर अर्कोमा हामफाल्छ। अर्को जहाजलाई पनि त्यसरी नै कोतरेर प्वाल पारी डुबाइदिन्छ। यिनै मुसा बोक्न रहर गर्ने जहाजवाला मेरो जहाज डुबेकामा खुसी नहुनुहोस्। यी मुसालाई जहाजमा चढाएपछि कुनै दिन तपाईंहरूको जहाज पनि डुबाइदिनेछन्।’

थापाको व्यवहारले पनि चन्दको भनाइलाई पुष्टि गर्छ। जतिबेला शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। त्यतिबेला कांग्रेसलाई राप्रपाले साथ दिएर सरकार बनेको थियो। देउवा प्रधानमन्त्री हुँदा २०५२ भदौदेखि ५३ असोजसम्म थापाले कानुन, न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका थिए। तर उनले देउवालाई अविश्वास प्रस्तावमा समर्थन गर्ने अभिव्यक्तिले सधैँ तर्साइरहे।

६ महिना पूरा गर्न नपाउँदै प्रतिपक्षी एमालेले अविश्वासको प्रस्ताव ल्याएको थियो। अविश्वासको प्रस्ताव पारित हुने संकेत पाएपछि थापाले मन्त्री पदबाट राजीनामा दिए। उनी एमालेका पक्षमा उभिए। प्रस्ताव असफल हुने अवस्था देखिएपछि फेरि उनी सरकारकै पक्षमा मतदान गर्न आइपुगे। त्यसैले उनलाई कतिपयले ‘राजनीतिक चरित्रहीन’को संज्ञा पनि दिन्छन्।

२०५१ पछि निरन्तर चर्चाका छन् । जोसुकैको सरकारमा पनि मन्त्री खान जानेदेखि रातारात दलबदलसम्मका प्रकरणका कारण उनी चर्चित भइरहे। हिन्दू राजतन्त्र फर्काउने मुद्दा उठाएर पहिलो पटक सांसद हुँदा नै थापा नेपाली कांग्रेसका शेरबहादुर देउवा नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री भए ।

देउवा सरकार ढलेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राप्रपा-एमाले सरकार बन्दा उनी आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री भए । त्यसपछि सूर्यबहादुर थापाको नेतृत्वमा राप्रपा-कांग्रेस सरकार बन्ने परिस्थिति सिर्जना हुनासाथ क्याम्प परिवर्तन गरेर उनी परराष्ट्र र कृषिमन्त्री बनेका थिए। त्यसबेला चन्दले ‘जहाज डुब्न लागेको थाहा पाउनासाथ मुसा भागेको’ भन्दै कमल थापा प्रवृत्तिमाथि तिखो टिप्पणी गरेका थिए ।

सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा उनी सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्य मन्त्री पनि भए । राजा ज्ञानेन्द्र शाहले सत्तापलट गरेर आफैँ मन्त्रिपरिषद अध्यक्ष भएर गठन गरेको सरकारमा गृहमन्त्री भएर कमल थापा जनआन्दोलन २ दबाउन सक्रिय थिए। उनी २०७८ मंसिरमा राप्रपा अध्यक्षमा पराजित भएका थिए। त्यसपछि उनी राप्रपा नेपाल गठन गरी हिन्दू धर्म र राजसंस्थासहितको नेपालका पक्षमा लबिइङ गर्दै आएका छन्।

राजनीतिक खेल हारेका कमल थापा

 

प्रकाशित: २१ कार्तिक २०८२ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast