काठमाडौँ- गत आइतबारदेखि वेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल वस्तीका ३२ वर्षीय सरोज शर्माको शव गाडिएको अवस्थामा फेला परेको छ।
शर्मा आइतबारदेखि गाडी सहित वेपत्ता भएका थिए। शर्मा सवार बागमती प्रदेशको ०१–०३० च ७१९४ नम्बरको गाडी शुक्रबार मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा फेला परेको थियो।
शनिबार झापा गाउँपालिका–५ र बाह्रदशी गाउँपालिका–२ लाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत विरिङ खोलाको पुलमुनी शर्माको शव गाडिएको अवस्थामा फेला परेको हो। यसैबीच घटनामा संलग्न भएको आरोपमा शिवसताक्षी–१० का सुनिल शाहलाई प्रहरीले पक्राउ गरेको छ।
यस्तै, शर्माका दुई साथीलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। प्रहरीले नियन्त्रणमा लिएसँगै आक्रोशित स्थानीय र पीडित परिवारका सदस्यहरूले आरोपितको घरमा तोडफोड गरेका छन्। उनीहरुले एउटा अटोमा समेत आगजनी गरेका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



