बुटवलमा खुल्यो साढे ३ अर्बमा हायात प्लेस

हिमाल प्रेस २३ कार्तिक २०८२ २०:१४
10
SHARES
बुटवलमा खुल्यो साढे ३ अर्बमा हायात प्लेस

बुटवल- पश्चिम नेपालको व्यापारिक र पर्यटकीय विश्रामस्थल बुटवलमा साढे तीन अर्बको लगानीमा पाँचतारे होटल हायात प्लेस सञ्चालनमा आएको छ। आन्तरिक तथा विदेशी पर्यटकलाई अन्तर्राष्ट्रिय स्तरको होटलको सेवा दिने उद्देश्यले हायात प्लेस सञ्चालनमा आएको हो।

यो क्यासिनोसहित सञ्चालन हुन लागेको होटल पाँचतारे हो। आइतबार पत्रकार सम्मेलन गर्दै मुख्य गरी भारतीय पर्यटकलाई लक्षित गरी होटल स्थापना गरिएको अध्यक्ष चुन्नुप्रसाद पौडेलले बताए।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि २५ कट्ठा क्षेत्रफलमा १० तले भवनमा अत्याधुनिक सुविधा सहित १०९ कोठाको होटल बनेको हो। होटल पूर्ण क्षमतामा सञ्चालनमा आउदा ३५० जनाले रोजगारी पाउनेछन्।

सुरुमा होटल सेफ्रोनका नाममा निर्माण सुरु भए पनि निर्माण सम्पन्नपछि अन्तर्राष्ट्रिय होटल चेन हायात प्लेस नाममा सञ्चालनमा आएको हो। हायात ब्रान्ड सन् २००६ मा सुरु भई अहिले संसारभरि ४२० भन्दा बढी स्थानमा फैलिएको छ। हायातको सम्पूर्ण व्यवस्थापनमा आगामी नोभेम्बर २५ तारिखदेखि सञ्चालनमा आउने अध्यक्ष पौडेलले जानकारी दिए।

रुपन्देहीको अग्रणी औद्योगिक घराना चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी गरी ६ जनाको संयुक्त रूपमा लगानी गरेका छन्।

पाँच वर्षअघिदेखि निर्माण गरिएको होटेलले पर्यटन भित्र्याउन योगदान गर्ने लक्ष्य राखिएको छ। भारतीय तथा विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने योजनाका साथ स्तरीय होटल निर्माण गरिएको अध्यक्ष पौडेलले बताए। ‘हाम्रो छिमेकी देश भारत लगायत उत्तर प्रदेशको करिब २४ करोड जनसंख्यामध्ये केही प्रतिशतलाई मात्रै हरेक वर्ष बुटवल भित्राउन सकियो र यहाँ बास बसाल्न सकियो भने यसले रुपन्देहीको अर्थतन्त्र चलायमान बनाउनेछ,’ पौडेलले भने। उनले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलमा बनेको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, बुद्धजन्मस्थल लुम्बिनी जस्ता क्षेत्रका कारण लगानी गरेको बताए।

विभिन्न ६ श्रेणीका १ सय ९ कोठा रहेको होटलमा एक रातमा २५० पाहुना बास बस्न सक्ने सञ्चालक पौडेलले बताए। होटल र यसका कोठाको डिजाइन थिम शान्ति, आधुनिकता र परम्पराको फ्युजन तथा कहिले पुरानो नहुने रहेको र क्याजुअल कम्फर्टमा सबैभन्दा जोड दिएको सञ्चालक नरिश्वर पौडेलले बताए।

बोधीवृक्षको पातको आकृति होटलका धेरै संरचनामा राखिएको छ भने डेढ सय क्षमताको अल डे डाइनिङ रेस्टुरेन्टमा मायादेवी मन्दिरको इँटाको बनावट झल्किने डिजाइन छ।

होटल लबीको डिजाइन शक्ति र स्थिरताका आधार मानिने चार विशेष वास्तुकला स्तम्भले निकै भव्य बनाएको छ। जसमा बुद्ध दर्शनका चार आर्य सत्य दुःख छ, दुःखको कारण छ, दुःखको निरोध सम्भव छ र दुःख निरोधको मार्ग छ भन्ने झल्काइएको छ। यसका साथै होटल निर्माणका क्रममा पश्चिमतर्फको कुसुम पथमा ३ सय मिटर सडक करिव ४० लाख लगानी गरेर पीच र सौन्दर्यकरण गरेको छ। भविष्यमा होटलबाट खर्च कटाएर हुन आउने बचत रकमको केही प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत लगानी गर्ने समेत सञ्चालकहरुले प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: २३ कार्तिक २०८२ २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast