करार जनशक्तिको भरमा स्वास्थ्य क्षेत्र

रमा केसी १६ कार्तिक २०८२ १०:३८
18
SHARES
करार जनशक्तिको भरमा स्वास्थ्य क्षेत्र

सुर्खेत- कर्णाली प्रदेशका स्वास्थ्य संस्था करार जनशक्तिका भरमा चलिरहेको छ। स्थायी दरबन्दीकै हाराहारीमा करार सेवा कर्मचारीमा नियुक्त गरेर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको हो।  प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीको स्वास्थ्य क्षेत्रमा स्वीकृत दरबन्दी तीन हजार १३४ छ। जसमध्ये स्थायी स्वीकृति दुई हजार ३४६ छ भने करार सेवामा दुई हजार १५९ जना छन्। अझै ८४७ पद रिक्त छ।

प्रदेश तथा स्थानीय तहले करार जनशक्ति नियुक्त गरेका छन्। सरकारी अधिकारीहरू करारमा कर्मचारी नियुक्त गरेर भए पनि स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने प्रयास थालिएको हो। सामाजिक विकास मन्त्रालयले प्रकाशित गरेको ‘कर्णाली स्वास्थ्य पार्श्वचित्र २०८२’ मा कर्णालीमा स्वास्थ्य जनशक्ति प्रमुख समस्या रहेको उल्लेख छ। प्रदेशका १० जिल्लामा स्वीकृत दरबन्दी पूर्ति गर्न कठिनाइ भएको पार्श्वचित्रमा उल्लेख छ।

पारामेडिक्स र नर्सिङ पद केही हदसम्म पूर्ति गरिए पनि प्राविधिक पद धेरै जसो रिक्त छन्। प्रयोगशाला प्राविधिक, एक्सरे प्राविधिक र मेडिकल अधिकृतजस्ता प्राविधिक पद रिक्त रहेको सो पार्श्वचित्रमा उल्लेख छ।

सुर्खेत, जाजरकोट, डोल्पाजस्ता जिल्लामा धेरै स्वीकृत दरबन्दी भए पनि रिक्त पद संख्या पनि बढी छ। यी जिल्लामा पारामेडिक्स र नर्सिङ पदमा पूर्ति गरिए पनि अन्य प्राविधिक पदपूर्तिको अवस्था कमजोर रहेको जनाइएको छ। धेरैजसो स्वास्थ्य संस्थाले करारमा स्वास्थ्य जनशक्ति पूरा गरेर भए पनि सेवा प्रदान गरिरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वीकृत दरबन्दी नभएका पदमा करार नियुक्त गरेर भए पनि सेवा दिनुपर्ने बाध्यता रहेको बताए। नियमित सेवाका साथै कहिलेकाहीँ महामारीका बेला पनि करारमा कर्मचारी राख्नुपर्ने उनको भनाइ छ। विशेषज्ञ चिकित्सकलगायत प्राविधिक पदमा करारमै भर पर्नुपरेको उनले जानकारी दिए।

पार्श्वचित्रमा सबैभन्दा धेरै पारामेडिक्स र स्टाफ नर्स तथा अनमी राखिएको छ। पारामेडिक्समा ५७५ जना र स्टार्फ नर्स, अनमीमा ८८४ जना तथा प्रयोगशाला, एक्सरे तथा अन्य प्राविधिक पदमा ५०३ जना जनशक्ति करारमा राखिएको छ।

पारामेडिक्स जनशक्ति डोल्पामा २६ जना, सल्यानमा ४७ जना, मुगुमा २९ जना, दैलेखमा ४७ जना, कालीकोटमा १२१ जना, सुर्खेतमा ९० जना, हुम्लामा ४७ जना, जुम्लामा ३६ जना, रुकुमपश्चिममा ७१ जना र जाजरकोटमा ६१ जना करारमा राखिएको छ।

यस्तै स्टाफ नर्स, वरिष्ठ अनमी र अनमी गरी डोल्पामा ३० जना, सल्यानमा ९० जना, मुगुमा ५२ जना, दैलेखमा ११७ जना, कालीकोटमा ८७ जना, सुर्खेतमा १५६ जना, हुम्लामा ४२ जना, जुम्लामा १३९ जना, रुकुमपश्चिममा ८० जना र जाजरकोटमा ९१ जना जनशक्ति करारमा राखेर स्वास्थ्य सेवा प्रदान गरिएको पार्श्वचित्रमा उल्लेख छ।

प्रदेशभर विशेषज्ञ चिकित्सक ४८ जना करारमा राखिएको छ। मेडिकल अफिसर डाक्टर ९८ जना, डेन्टल सर्जन १० जना, वरिष्ठ जनस्वास्थ्य अधिकृत सातजना, नर्सिङ अफिसर ३० जना करारमा राखेर सेवा प्रदान गरिएको छ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख शाहीले जनशक्ति अभावले करारबाट पूर्ति गरेर पनि स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए। सधैँ करारको भर पर्नुभन्दा स्थायी स्वीकृत दरबन्दी पूर्तितर्फ सरकार लाग्नुपर्ने सुझाव उनको छ। कर्णालीको स्वास्थ्य सेवा गुणस्तरीय र दिगो गरी प्रवाह गर्न आवश्यक दक्ष जनशक्तिकोउपलब्धता मुख्य माग भएको जनाइएको छ।

प्रकाशित: १६ कार्तिक २०८२ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast