टर्कीमा नेपाललाई प्रतिनिधित्व गर्दै गितारवादक समीप न्यौपानेले दिए प्रस्तुति

हिमाल प्रेस १७ कार्तिक २०८२ १२:३८
198
SHARES
टर्कीमा नेपाललाई प्रतिनिधित्व गर्दै गितारवादक समीप न्यौपानेले दिए प्रस्तुति

काठमाडौँ- नेपालका गितारवादक समीप न्यौपानेले टर्कीमा आयोजित ‘गोल्डेन किड्स इन्टरनेसनल’ मार्फत नेपालको प्रतिनिधित्व गर्दै संगीतकला प्रस्तुत गरेका छन्।

नेपालका नेसनल डायरेक्टर प्रमिला सिलवालको प्रतिनिधित्वमा सहभागी भएका न्यौपानेले गितारको धुनमा नेपालीपन झल्किने प्रस्तुति दिएका हुन्।

कार्यक्रममा विभिन्न देशका बालबालिका र युवाले आफ्ना/आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए। प्रतिस्पर्धा कडा भए पनि समीपले आफ्नो प्रस्तुतिमार्फत सबैको ध्यान ताने। उनले नेपाली संगीतमा रहेको विविधता र भावनालाई गितारको तारमा बुनेर प्रस्तुत गर्दा उपस्थित दर्शकहरू मन्त्रमुग्ध बने।

कार्यक्रमको समापनपछि निर्णायक मण्डलका सदस्यहरूले न्यौपानेको ताल, धुन र प्रस्तुति शैलीको प्रशंसा गर्दै उनलाई ‘भविष्यको अन्तर्राष्ट्रिय कलाकार’ को रूपमा व्याख्या गरेका थिए।

आयोजकका अनुसार न्यौपानेको प्रस्तुति प्राविधिक रूपमा परिपक्व रहेको र संगीतप्रति उनको समर्पण, आत्मविश्वासले सबैलाई मोहित पारेको थियो। उनको प्रदर्शनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली संगीतको मौलिकता र प्रतिभाको झल्को देखाएको थियो।

कार्यक्रमका आयोजक, निर्णायक तथा दर्शक सबैले उनको प्रस्तुति प्रशंसा गरेका छन्। गोल्डेन किड्स इन्टरनेसनलका आयोजकले भने, ‘समीप न्यौपानेले आफ्नो देशको पहिचानलाई उत्कृष्ट ढंगले प्रस्तुत गरे। उनको प्रदर्शनमा अनुशासन, संगीतप्रतिको लगन र मौलिकता झल्किएको थियो, जुन अन्तर्राष्ट्रिय मञ्चका लागि प्रेरणादायी छ।’

नेपालकी नेसनल डिरेक्टर प्रमिला सिलवालले पनि समीपप्रति गर्व महसुस गर्दै भनिन्, ‘समीपजस्ता प्रतिभाशाली बालक नेपालका उज्यालो भविष्य हुन्। उनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरेका छन्, जसले सम्पूर्ण नेपालीलाई गर्व दिलाएको छ।’

‘टर्कीमा गएर नेपाललाई प्रतिनिधित्व गर्नु मेरो लागि गर्वको कुरा हो’, समीपले आफ्नो अनुभव साझा गर्दै भने, ‘यो अवसरलाई मेरो देशको संगीत र प्रतिभा विश्वमञ्चमा पुर्‍याउने माध्यमको रूपमा लिएको छु। भविष्यमा धेरै सिकेर नेपाली संगीतलाई अझ ठूलो स्तरमा पुर्‍याउने मेरो लक्ष्य छ।’

उनी संगीतलाई जीवनको आत्मा भन्न रुचाउँछन्। जहाँ रहे पनि आफ्नो पहिचान नेपाली संगीतकै माध्यमबाट हुने उनको भनाइ छ।

समीप बाल्यकालदेखि संगीतप्रति अत्यन्तै रुचि राख्ने युवा हुन्। गितारप्रतिको मोहले उनलाई विभिन्न संगीत प्रतियोगिता, विद्यालयस्तरका कार्यक्रम र सांगीतिक प्रदर्शनहरूमा सहभागी हुन प्रेरित गर्‍यो। समयसँगै उनले निरन्तर अभ्यास, समर्पण र आत्मविश्वासका साथ आफूलाई एक दक्ष गिटारवादकका रूपमा स्थापित गरेका छन्।

परिवारले पनि आफ्नाे यात्रामा निरन्तर साथ र प्रेरणा दिएइरहेकाे उनी बताउँछन्। परिवारकाे साथ, सहयोग र स्नेहले  नै  आफू अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न साहस प्रदान गरेको उनले बताए।

 

प्रकाशित: १७ कार्तिक २०८२ १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast