इटहरी– २४ भदौमा मा भएको जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा करिब ७७ करोड रुपैयाँ बराबरको क्षति भएको छ। कोशी प्रदेश सरकारले गठन गरेको ‘क्षति अध्ययन तथा मूल्यांकन समिति’ ले तयार पारेको प्रतिवेदनअनुसार आगजनी र तोडफोड हुँदा उक्त क्षति भएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको प्रतिवेदनअनुसार आन्दोलनबाट भएको कुल ७७ करोडको नोक्सानीमध्ये ५४ प्रतिशत सवारी साधनमा क्षति भएको छ।
प्रदेश सरकारका विभिन्न निकायका २६५ वटा सवारी साधनमा आगजनी र तोडफोड भएको थियो। जसको मूल्य कुल ४१ करोड ५२ लाख ९४ हजार बराबर रहेको छ। सवारी साधनमा भएको क्षतिको ९० प्रतिशतभन्दा बढी हिस्सा मोरङ जिल्लामा केन्द्रित रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा १३ करोड ५ लाख ८९ हजार ७१४ रुपैयाँको क्षति भएको छ। मन्त्रालयको ६ करोड ८० हजार बराबरका सवारी साधन जलेका छन्। यसैगरी उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा १२ करोड ८२ लाख ९३ हजार ४९८ रुपैयाँ पुगेको छ। जसमध्ये ६ करोड ४३ लाख ५९ हजार ६३१ रुपैयाँको क्षति भएको छ। प्रदेशसभा सचिवालयमा १२ करोड ६७ लाख ४५ हजार ३५२ रुपैयाँ बराबरको क्षति हुँदा प्रदेशसभा सचिवालयको मातहतमा रहेका सवारी साधनमा ५ करोड ५ लाख ३७ हजार ७९६ रुपैयाँ बराबरको क्षति भएको छ।
यता, भौतिक पूर्वाधार विकास मन्त्रालयमा आन्दोलनका क्रममा ८ करोड ८८ लाख ७९ हजार ६९१ रुपैयाँको क्षति भएको छ। जसमध्ये सवारीसाधनमा ४ करोड ४४ लाख ७५ हजार ८५५ रुपैयाँको क्षति भएको छ। पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ८ करोड १५ हजार ८३० रुपैयाँ क्षतिमध्ये ६ करोड ३७ लाख ८९ हजार ८९५ रुपैयाँको सवारी साधनमा क्षति पुगेको छ।
यस्तै, स्वास्थ्य मन्त्रालयमा ६ करोड ५५ लाख ७५ हजार १७६ रुपैयाँको क्षति भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयमा आगजनी, तोडफोड र लुटपाट हुँदा ३ करोड ५८ लाख ४० हजार ७९५ रुपैयाँको नोक्सानी भएको छ। खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा २ करोड २३ लाख ९५ हजार ३७६ रुपैयाँको क्षति भएको छ। सामाजिक विकास मन्त्रालयमा १ करोड २२ लाख २२ हजार १३४ रुपैयाँको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
कुल क्षतिमध्ये क्षतिग्रस्त सरकारी भवनहरूको मर्मत तथा पुनर्निर्माणका लागि १८ करोड ४६ लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।



