काठमाडौँ- जेनजी मुमेन्ट अलायन्सले राजनीतिक दलका नेतासहित विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ। सोमबार सम्पन्न छलफल नेपालमा चलिरहेको जेनजी आन्दोलन, यसको मर्म, परिणाम र राजनीतिक संस्कृतिको सुधार तथा दलहरूको रूपान्तरण र पुस्तान्तरणका विषयमा केन्द्रित थियो।
छलफलमा गगन थापा, नारायणकाजी श्रेष्ठ, सुशीला श्रेष्ठ, खगेन्द्र संग्राैला, सुरेन्द्र पाण्डे, उषा किरण तिमिल्सिना, विश्वेन्द्र पासवान, रिता परियार, जी.एस. गुरुङ, रन्जु दर्शना, बुद्धि कार्की, कुमार लामा (टाशी), नान थामी, आन्विका गिरि, अरुण बराल, शमशाद अहमद र मोहम्मद अयुबलगायतका व्यक्तित्वहरू थिए।
जेनजी मुमेन्ट अलायन्सको तर्फबाट मोनिका, रिजन राना मगर, सामना लावती, अमित खनाल, ‘ऊर्जा’, अनुषा खनाल, प्रभात लाभ, विकाश कामी, आशुतोष झा, लुज महर्जन, सुदिप सेठ, कमल थापा मगर र राजु मण्डल थिए।
कार्यक्रममा सहभागीहरूलाई दुई मुख्य प्रश्न सोधिएको थियो। जसमा ‘तपाईंले यस आन्दोलनको मर्मलाई कसरी बोक्नुभएको छ?’ र ‘राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्र सुधार र पुस्तान्तरणका लागि के कदम चालिरहेका छन्?’
अलायन्सका अनुसार छलफलमा दशकौँदेखि जारी कुसाशन र भ्रष्टाचारका कारण युवामा उत्पन्न असन्तुष्टिले जेनजी आन्दोलनलाई जन्म दिएको उल्लेख गरियो। यो आन्दोलनले सुशासन, स्थिरता र निष्पक्षताको सुनिश्चितताका लागि दीर्घकालीन सुधार आवश्यक रहेको सन्देश दिएको छ। वक्ताहरूले जनआन्दोलनका मुद्दाहरूलाई संस्थागत गर्न सम्पूर्ण पक्षको भूमिका अपरिहार्य भएको निष्कर्ष निकाले। साथै, यस आन्दोलनले पुराना राजनीतिक अभ्यासलाई चुनौती दिँदै अबका दलहरूले युवाको माग र आकांक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको अलायन्सको भनाइ छ।
त्यसैगरी, सहभागीहरूले नयाँ पुस्ता नेतृत्वमा आउन तयार रहेको र युवालाई प्रमुख राजनीतिक पात्रको रूपमा मान्यता दिनुपर्ने निष्कर्ष निकाले। दलभित्र विद्रोही आवाजहरूलाई दबाउने प्रवृत्तिको आलोचना गर्दै युवाको आवाजलाई अर्थपूर्ण रूपमा समावेश गर्न दलहरूलाई आग्रह गरिएको थियो। साथै, देश र दलहरूमा नीतिगत भ्रष्टाचार गहिरिँदै गएको उल्लेख गर्दै राजनीतिक दलहरूले आफूलाई पारदर्शी सार्वजनिक संस्थाका रूपमा पुनः परिभाषित गर्नुपर्ने भनाइ पनि अघि सारियो। दलहरूको रूपान्तरणमा आधुनिकीकरण, छलफल, स्वतन्त्रता र समावेशिताको अभ्यास जरुरी रहेको निष्कर्ष निकालियो।
लेखक खगेन्द्र संग्रौलाले राजनीतिक दलहरूमा स्वतन्त्रता र संवादको अभावबारे टिप्पणी गरे। उनले भने,‘आज राजनीतिक पार्टीहरूमा स्वतन्त्रता बाँकी छैन, यिनीहरू धार्मिक संगठनझैं सञ्चालन हुन थालेका छन् जहाँ संवादको सट्टा भक्तिले र स्वतन्त्रताको सट्टा निष्ठाले ठाउँ ओगटेको छ। हाम्रो वास्तविक प्रश्न यो हुनुपर्छ- हामीले राजनीतिक पार्टीलाई फेरि कसरी साँच्चिकै राजनीतिक संस्था बनाउन सक्छौं?’
संवादमा सहभागी नेताहरूले आन्तरिक लोकतन्त्रको लडाइँलाई निरन्तर राख्ने, जेनजी आन्दोलनका एजेन्डामा सहमति जनाउने र आन्दोलनलाई संस्थागत गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए। उनीहरूले नयाँ पुस्ताको राजनीतिक हस्तक्षेपलाई महत्त्वपूर्ण उपलब्धि ठहर गर्दै दलभित्र युवाको सहभागिता सुनिश्चित गर्ने वाचा गरे। साथै, आफ्ना कमजोरी र असफलता स्वीकार गर्दै सुधारका प्रयास जारी राख्ने र चुनावसँगै आवश्यक सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
केही तस्बिरहरू





                                             
                                             
                                             
                                             
                                             

