पुस्तक चर्चा

आजाद कैदी : कति आजाद कति कैद?

टक गुरुङ १३ मंसिर २०८२ १०:४३
68
SHARES
आजाद कैदी : कति आजाद कति कैद?

केही समयअगाडि फेसबुकमा गजलकार चित्र थापाको ‘आजाद कैदी’ गजल संग्रहको आवरण देखेको थिएँ। प्रथम दृष्टिमा नै ‘आजाद कैदी’ पुस्तकको नाम एकदमै विचारोत्तेक लाग्यो। यसले तत्क्षण पुस्तक पढ्ने नजानिँदो हुटहुटीको आँधी जगायो। गाढा नीलो पृष्ठभूमिमा दायाँबायाँ सेता बादलका टुक्राहरू, बीचमा टाउकोको ठाउँमा खाली पिँजडा भएको मान्छे एउटा हात पसारेर उडेको जस्तो लाग्ने अतियथार्थवादी शैलीको आवरणले धेरै बेर सोच मग्न बनायो। ‘आजाद कैदी’ शब्दलाई चित्रमा रूपान्तरण गर्दा यो भन्दा सटिक बनाउन सायदै सकिएला।

‘म्यान इज बर्न फ्रि एन्ड एभ्रिह्वेयर ही इज इन चेन्स- रूसो

दार्शनिक रूसोले भनेजस्तै मानिस निरपेक्ष स्वतन्त्र कहिल्यै पनि हुँदैन। स्वतन्त्र भनिने मानिस पनि विचार, धर्म, संस्कृति, सम्बन्धहरूले वा यीमध्ये केहीद्वारा निर्देशित हुन्छ। यी नभए आफ्नै अहम्, रहर, त्रास आदिको परिधिमा जकडिएको हुन्छ। अझ भन्दा ढुकढुकी बिना मानिस बाँच्न सक्दैन। यसर्थ मानिस आजाद भएर पनि कैदी हुन्छ। कैदी भएर पनि आजाद हुन्छ। गजलकारले यही कुरा आफ्ना शब्दहरूमा व्यक्त गरेका छन्। आजाद कैदीलाई गजलकार स्वयं दुई पक्षमा बाँडिएर आफ्नो अस्तित्वको खोजी गर्ने द्वन्दबाट निस्किएको शब्दामृत मान्छन्।

यस गजल संग्रहका अत्यधिक गजलहरू जदीद (नवीन) शैलीका छन्। जुन रिवायती (शास्त्रीय) छन् ती पनि नवीन शास्त्रीय छन्। एकातिर जदीद शैलीले गर्दा गजल आजाद भएको छ भने अर्को तिर बहरको परिपालनाले यसलाई कैदी पनि बनाएको छ। १२३ वटा गजल समेटिएको यस गजल संग्रहमा ८ शेरका १२ गजल, ७ शेरका ५४ गजल, ६ शेरका ४७ गजल र ५ शेरका १० गजल छन्। प्रचलित रूपमा गजल संग्रहहरूमा ५ शेरका बिजोर शेर भएका गजल अत्यधिक राखिन्छन्। पाँच शेर र बिजोर शेर राख्ने अघोषित नियम छ। तर यस संग्रहमा ५९ गजल जोर शेर भएका र ११३ गजल ६ शेर भन्दा बढीका छन्।

१२३ वटा गजलमध्ये तीनवटा गजलमा मात्र छुट्टै रदिफ छैनन्। ती गजलमा पनि विभक्ति योजित भएका छन्। लगभग २२ वटा गजलमा लामा रदिफ छन्। जसलाई वाक्यात्मक रदिफ भनिन्छ। बहरको प्रयोगमा पनि व्यापक विविधता पाइन्छ। १२३ वटा गजलमध्ये धेरै गजल शास्त्रीय बहरमा छन्। १९ वटा मुजारे अखरव, ११ वटा मुतकारिव मुसम्मन सालिम, ७ वटा हजज मुसम्मन सालिम लगायत अन्य गजलहरूमा सालिम, मुरक्कव, मुजाहिफ धेरै प्रकारका बहरहरू प्रयोग भएका छन्।

बहर ए मीरमा मात्र ४ वटा गजल छन्। यसले पनि गजलकारको बहरमा बलियो पकड र आत्मविश्वास छ भन्ने दर्शाउँछ। लामा, मझौला, छोटा हरेक प्रकारका रदिफको प्रयोगमा सफल छन्। काफिया र रदीफको तालमेल साँच्चै बलियो र सार्थक छ। काफिया भर्ती शब्द बनेका छैन्नन्। १२३ गजलमध्ये ९४ वटा गजलमा व्यञ्जन काफियाहरू प्रयोग गरिएका छन् भने २९ वटामा स्वर काफियाहरू प्रयोग गरिएका छन्।

वृत्तान्त, साम्भ्रान्त, क्लान्त बिस्मृत, पर्यावृत पिञ्चमृत जस्ता वजनदार तत्सम शब्द देखि काबिल, मन्जिल, हासिल जस्ता आगन्तुक शब्दहरूलाई काफियाका रूपमा बाक्लो प्रयोग गरिएको भेटिन्छ। तर बाहुल्य व्युत्पन्न शब्दह कै छन्। काफिया र रदिफको छनोट र लम्बाइमा मात्र होइन प्रयोगमा पनि गजलकार निकै सचेत देखिन्छन् र सफल भएका छन्। शेरहरू स्वकेन्द्रित, रोनाधोना वा भावनाको व्यपारमा आधारित छैनन्। धेरै कम गजलमा मात्र लैंगिक भेद भेटिन्छन्। यो अत्यान्तै सबल पक्ष हो। लगभग शेरहरू सर्वकालिक छन्। शेरका भावहरू बहुअर्थी छन्। वैचारिक छन्।अर्थालंकार, बिम्ब र प्रतीकको प्रयोगले समृद्ध बनेका शेरहरूमा सघन काव्य तत्त्व पाइन्छ। लाक्षणिकता र व्यञ्जनात्मकता गजलमा अपरिहार्य तत्त्व हुन्। यो धर्म यो संग्रहले पूरा गरेको छ। संग्रहमा राखिएको अनुक्रमका कारण गजल खोज्न सहज बनाएको छ।
उदाहरणका लागि यस्तो लामो रदिफ भएका २२ वटा गजल छन्। यो गजलकारको साधनाको द्योतक हो।

प्रकाश पाउँदा पनि यो मन छियाछिया भयो
टुकी समाउँदा पनि यो मन छियाछिया भयो
मोक्षका खातिर घर भित्रै बनाएँ मन्दिर
साच्चिकै ईश्वर कसैको वसमा हुँदैन।

प्रस्तुत शेरमा साँच्चिकै ईश्वर कसैको वसमा हुँदैन भन्ने थाहा हुँदाहुँदै बिरालो बाँधे कर्मकाण्डी संस्कारबाट उम्किन नसेको विरोधाभासपूर्ण तस्बिर बनाएको छ। शेरले व्यक्ति, समाज, देश सबैको भोगाइ समेटेको छ। बुझाइ र गराइ बीचको भिन्नता शेर बनेर आएको छ। कतिपय कुराहरू ठिक होइन भन्ने जान्दाजान्दै पनि हामीले गरिरहेका हुन्छौँ। हाम्रा कतिपय संस्कार खराब छन् तर बाबुबाजेले गर्दै आएको भनेर गर्दैछौँ वा झन् बढी र भड्किलो बनाएर मनाउँछौँ। रक्सीले नोक्सानी गर्छ भन्ने थाहा पाएर पनि जातले पाएको भनेर पिउँछौँ।

घोचिरहनेछ फूलले आँखा
जिन्दगानी यसै कहाँ हुन्छ

जिन्दगीको कटु सत्य एवं मानवीय अस्तित्वको औचित्यलाई यस शेरमार्फत गजलकारले सुन्दर ढंगले चित्रण गरेका छन्। व्यञ्जनात्मक शेर भएकाले हरेक पाठकले आफ्नै अर्थाभास गर्न सक्छ। सोझै भन्दा हामीले जीवन पाएर संसार देख्न र अनुभव गर्न पाएका छौँ। तर यही जिन्दगी गुजार्न अन्तसम्मै अनेक हण्डर खानुपर्छ। बाबुआमाको नजरबाट हेर्ने हो भने छोराछोरी फूल जस्ता हुन्छन्। तर सन्तानप्रतिको मोह, जिम्मेवारी, चिन्ता जीवनभर रहन्छ। फूललाई प्रतीक रूपमा लिएर विरोधाभास अलंकारको सुन्दर प्रयोग भन्न सकिन्छ।

झुसिलकिराको सफर के थियो नियाल्दै छु
वयस्क बन्न सरल छैन सोचिए जस्तै

प्रस्तुत शेरले गजलकारको प्रकृतिका परिघटनालाई प्रतीक एवं बिम्ब बनाएर शेर बुन्ने शिल्प क्षमतालाई इंगित गर्दछ। झुसिलकिरा अन्ततोगत्वा पुतली बन्छ। यसमा पुतलीलाई पृष्ठभूमिमा राखिएको छ। यसले मानिसले बाल्यकालबाट वयस्क अवस्थामा जाँदा हुने शारीरिक संघर्षको प्रतिनिधित्व गर्छ भने अर्कोतर्फ चेतनाले मार्ने फड्कोलाई अप्रत्यक्ष रूपमा दर्शाउँछ। केही प्राप्त गर्न गर्नुपर्ने कडा संघर्ष जीवनको शाश्वत नियम हो। यसबाट कोही बच्न सक्दैन भन्ने सन्देश दिएको छ।

सुस्तरी यादका भूकम्प निद हर्छन्
यसरी प्रेमी सयौँ पल मर्दिने गर्छन्

भूकम्पलाई अलंकारका रूपमा प्रयोग गरिएको यस शेरमा प्रेमी हुनु निकै चुनौतीपूर्ण हुन्छ र कसरी यादले हरेक पल कयौँ मृत्यु मार्न सक्छ भनेर प्रेम प्रतिकूल भए हुन सक्ने परिणामलाई प्रस्ट्याउने प्रयास गरिएको छ। यस शेरमा रूपक, अतिशयोक्ति, व्यञ्जनजस्ता अलंकारको सम्मिश्रण पाइन्छ।

बुख्याचाहरूको भिड बने फेरि आन्दोलित
कतै एउटा ठूलो प्रलय चाहिएको छ

बुख्याचाको भिड प्रलय ल्याउन आन्दोलित बनेको भन्ने जुन परिकल्पना गरिएको छ, यसले समकालिन परिवेशबारे अकल्पनीय परिस्थितितर्फ संकेत गरेको छ। प्रस्तुत शेरमा रूपक अलंकार र व्यंग्यको बेजोड मिलन छ।

आफ्नै मिजास भुल्ने तिमीले निधो गर्‍यौ।
भिरमा समेत फुल्ने तिमीले निधो गर्‍यो

चित्र थापाका शेरहरू व्यञ्जनात्मक हुने गर्छन् भन्ने कुरा पहिले नै चर्चा गरिसकियो। यो शेर एउटा थप उदाहरण हो। यसमा एउटा प्रेमी वा प्रेमिकाको दृष्टिकोणबाट हेर्दा कुनै अव्यक्त कारणले बाचा कसम तोडेको भावका रूपमा व्याख्या गर्न सक्छन्। अन्य अर्थमा परिवारको बोझले वा जागिरको दबाबले वा ठूला नेताको दबाबमा कसैले अप्रिय निर्णय लिएको रूपमा लिन सक्छन्। शेरमा गजबको रवानी र सुक्तिमयता छ। दावा र दलिललाई अलंकारले थप सौन्दर्य प्रदान गरेको छ।

कसको नकाब भित्र लुकेको रहेछु म?
ऐना अगाडि पर्न डराएँ पटकपटक

यस शेरले वयान गर्न खोजेको परिस्थितिमा हरेक मानिसले गुज्रनु पर्छ। आफैँलाई ढाँटेर जिन्दगी बिताउँदा कतै पहिचान खुल्छ कि वा सत्य उजागर हुन्छ कि भन्ने त्रासमा मानिसहरू बाँचेका हुन्छन्। यस्तो अनुभव हरेकलाई जीवनको मोडको सामना गर्नुपर्छ। यसमा बहुअलंकार, कल्पनाशिलताको बेजोड समिश्रण छ।

फुटको एक हिस्सा साथ लैजाऊ
सिसामा चित्र खण्डित देखिएको छ।

तखल्लुसको निकै कम प्रयोग गरिएका छन्। तर जहाँ प्रयोग गरिएका छन् त्यहाँ श्लेष भएर आएका छन्। पुस्तकको नामलाई पनि धेरै ठाउँमा कलात्मक प्रयोग गरिएको छ।

गजलकार चित्र थापाका गजल मनभन्दा मस्तिष्कलाई बढी प्रभाव पार्ने खालका छन्। पढ्दै गर्दा भाव गहनताका कारण शब्दले व्यक्त गर्न सक्ने अनेक सम्भावनाबारे सोच केन्द्रित हुने हुनाले अडिँदै अगाडि बढ्नुपर्ने हुन्छ। उनका गजलमा नेपाली गजल अभ्यासमा तासिरयुक्त शेर लेख्ने प्रचलनको गहिरो छाप भेटिन्छ। यद्यपि आफ्नो पृथक शैली निर्माणमा सफल छन्।

भाव, बिम्ब, प्रतीक, दर्शनले शेरलाई गहन त बनाउँछ तर यसले शेरलाई बोधगम्यतामा कमजोर बनाउने खतरा हुन्छ। औसत र त्यो भन्दा तलको पाठकको ध्यान तान्न कठिन हुन्छ। महाकवि देवकोटाले मुनामदनबाहेक आफ्ना सबै रचना जलाई दिनु भन्नु एको थियो भन्ने प्रसंग हामीले पढेका हौँ। यस अर्थमा कठिन शब्दमा कठिन रचना गर्ने, कठिन शब्दमा सरल रचना गर्ने, सरल शब्दमा सरल रचना गर्ने वा सरल शब्दमा कठिन रचना गर्ने भन्नेबारे गजलकारले ध्यान दिनुपर्ने देखिन्छ।

जल गेय विधा हुनाले सकेसम्म सरल हुनुपर्ने र कोमल हुनुपर्ने कुरा मनन गर्नुपर्ने देखिन्छ। मेहफिलमा सुनाउने भन्दा पुस्तकमा पढ्ने रचना हुनाले कहिले कसो मेहफिलमा गजल सुनाउनका लागि गजल छनोट गर्न कठिनाइ पर्न सक्छ। यति सामर्थ्यवान् गजलकारले यसमा थोरै ध्यान दिए निश्चित रूपमा सकारात्मक नतिजा प्राप्त गर्न सक्नेछ। केही गजल सुललित पनि छन्।

पदसंगतिमा थोरै ध्यान दिनुपर्ने देखिन्छ। कतै कतै शेर विषय भन्दा काफिया केन्द्रित भएका छन्। नयाँ काफिया प्रयोग गर्ने क्रममा शेर क्लिष्ट बन्न पुगेका छन्। शेरको भाव भन्दा काफिया भारी भएको छ। कतै कतै शेरका मिसराहरूका बिचमा तालमेल बारे पनि विचार पुर्याउनुपर्ने महसुस भयो। शेरमा उक्तिवैचित्र्यतालाई खाँद्ने क्रममा जोड कमजोर हुन गएको छ। हुन त उर्दू आगन्तुक शब्दहरू हाम्रो भाषामा चलेका छन् र शब्दले भाषालाई समृद्ध पार्छ, कतिपय पाठकबाट गुनासो आउन सक्ने सम्भावना देख्छु। यो अरू शायरको पनि चुनौती हो।

समग्रमा आजाद कैदी नाम जस्तै विभावनात्मक बनेको छ। गजलकार चित्र थापा लामो रेशका घोडा हुन्। गजल अदपको विधा भएकोले रचनाको सफलता सर्जकको शिरमा चढ्यो भने सिर्जनात्मक क्षमतामा असर पर्ने हुनाले यसतर्फ ध्यान दिएमा भविष्यमा अझ उम्दा रचना पस्किएर नेपाली वाङमयलाई समृद्ध बनाउन सक्नेछ। हार्दिक शुभकामनासहित।

पुस्तकको नाम : आजाद कैदी
विधा : गजल
लेखक : चित्र थापा
प्रकाशित : साउन २०८२
प्रकाशक : समीर मिडिया एन्ड प्रकाशन प्रालि
सहकार्य : काव्यप्रेमी समूह
पृष्ठ संख्या : १४२
आवरण : दिपेश सिग्देल
ले आउट : विनोद विम्बित

प्रकाशित: १३ मंसिर २०८२ १०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast