रुकुमपूर्व- रुकुमपूर्व भूमे गाउँपालिका–१ पञ्चासेमा अटो दुर्घटना हुँदा एकै घरका दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
शनिबार साँझ पौने ६ बजेको समयमा रा १ ह ६७९७ नम्बरको अटो लुगुमबाट ब्राहताल जाँदै गर्दा पञ्चासेस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकरप्रसाद यादवले जानकारी दिए।
मृत्यु हुनेमा भूमे–१ का ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया फिसोल्टी भन्ने सबिता घर्ती भएको डीएसपी यादवले बताउनुभयो । मृत्यु हुने जेठानी–देउरानी हुन्। घटनास्थलबाट उद्धार गरी रुकुमपूर्व अस्पतालमा ल्याइ चेकजाँच गर्दा चिकित्सकले उनीहरूको मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ । दुबैको शव पोस्टमार्टमका लागि रुकुमपूर्व अस्पताल रुकुमकोटमा राखिएको छ।
भूमे–१ का २६ वर्षीया प्रतिक्षा बुढा, बुढाका छोरा ११ महिनाको सुभम बुढा, २५ वर्षीया ब्युटी पुन, पुनका छोरी २ वर्षीया समृद्धि पुन र ३ वर्षीया सक्षम घर्ती घाइते भएका छन्। घाइते पाँच जनाको रुकुमपूर्व अस्पतालबाट उपचार पश्चात् डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।



